समाज


सुन्धाराको मूलधारा नै नष्ट, महानगर प्रमुख बालेन्द्रको आपत्ति

सुन्धाराको मूलधारा नै नष्ट, महानगर प्रमुख बालेन्द्रको आपत्ति

फाइल तस्बिर


नेपालखबर
मंसिर २६, २०७९ सोमबार १४:४९, काठमाडौँ

धरहरा पुनःनिर्माणको क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले आपत्ति जनाएका छन्। 

काठमाडौँको न्यूरोडस्थित सङ्कटा क्लबमा सोमबार बिहान आयोजित पत्रकार भेटघाटमा प्रमुख साहले नेपालको मौलिक कला, संस्कृतिको नमूना ऐतिहासिक सुन्धाराको संरचना पुनःनिर्माणका नाममा भत्काउन नहुने बताए। 

उनले त्यसलाई संरक्षण गरिनुपर्ने आवश्यकतामा जोड दिएका छन्। 

साहले सुन्धारामा निर्माण भइरहेका संरचनाको विरोध गर्नुका साथै सम्पूर्ण निर्माण कार्य रोक्न सम्बन्धित ठेकेदारलाई अनुरोध गरेका छन्। 

रमण कन्ट्रक्सन कम्पनीले सुनधाराको ठीक पछाडि ठूलो खाडल बनाइ त्यहाँ एक लाख लिटर पानी अट्ने विशाल ट्याङ्की निर्माण गर्ने क्रममा ऐतिहासिक संरचनाको मुख्य वस्तु (काठको लामो पाइप) नष्ट भएको भन्दै आइतबार स्थानीय बासिन्दा, क्लबका प्रतिनिधि तथा वडा नं.२२ का अध्यक्षले विरोध गरेका थिए। 

उक्त विरोधपछि प्रमुख बालेन साहसमेतको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा सयौँ वर्ष पुरानो ऐतिहासिक संरचना भत्काउनेबारे महानगरलाई कुनै जानकारी नभएको उल्लेख गरियो। त्यहाँ भएका कार्य महानगरपालिकासँग कुनै छलफल नै नगरी अगाडि बढाइएको पनि साहले बताए। 

प्रमुख साहले सुन्धाराको मुख्य धारा भएको ठाउँमा खन्ने विषयमा आफूसँग कुनै सरसल्लाह नभएको बताउँदै त्यसबारे आफूले कुनै आदेश नदिएको प्रष्ट पारे। 

त्यसक्रममा प्रमुख साह, वडाध्यक्ष तथा स्थानीयवासीको टोली गएर सुनधारास्थित ट्याङ्की निर्माण भइरहेको स्थलमा अवलोकन गरी सम्पूर्ण निर्माणकार्य तत्काललाई रोक्न निर्देशन दिइएको छ । 

रमण कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीले आफूले सम्बन्धित निकायको आदेशअनुसार नै ट्याङ्की निर्माण लगायत कार्य अघि बढाएको जानकारी दिए। 

हाललाई निर्माण कार्य रोक्न कामदारलाई निर्देशन दिइएको उनले बताए। वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जन र सङ्कटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर लगायतले हस्ताक्षर गरेको वक्तव्यमा सुन्धाराको अस्तित्व नै मेटिने अवस्थामा पुगेको जनाइएको छ। 

ऐतिहासिक सुन्धाराको बाहिरी आकृति करिब दुई सय वर्षअघि भीमसेन थापाको पालामा बनेको भनिएको थियो। तर पानीको मूल भने चार–पाँच सय वर्षभन्दा पुरानो भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad