हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको र पहाडी भेगका एक दुई स्थानमा आंशिक बदली (आकाशमा थोरै बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
यस्तै राति बागमती प्रदेश, मधेश प्रदेशलगायत लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भेगका थोरै स्थानमा आंशिक बदली तथा बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने बुलेटिनमा उल्लेख छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : तराई भूभागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।
दिनप्रतिदिन देशभर चिसो बढ्दै गएको महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिए।
उनका अनुसार आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७.० डिग्री सेल्सियस छ। देशका अन्य स्थानका तापक्रमको विवरण भने आइसकेको छैन।
Shares
प्रतिक्रिया