देशमा फेरि पश्चिमी वायुको प्रभाव परेको छ। जसका कारण आज (शनिबार) देशभर मौसम बदली भएको मौसमविद्ले जानकारी दिएका छन्।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार यस वर्षको हिउँद लागेयता नेपालमा पश्चिमी वायुले तेस्रोपटक न्यूनचापीय प्रणाली ल्याएको हो। याे हिजाे शुक्रबार भित्रिएकाे हाे।
यसको प्रभावले विशेषगरी सुदूरपश्चिम र पश्चिमका उच्च हिमाली भेगमा हिमपात तथा पहाडी भेगका केही स्थानमा हल्का वर्षासमेत गराउने उनले बताए। साथै पूर्वी पहाडी क्षेत्रका एक/दुई स्थानमा पनि वर्षाको सम्भावना त छ तर त्याे सम्भावना न्यून रहेको वरिष्ठ मौसमविद् पौडेलले जानकारी दिए।
मौसम पूर्वानुमान महाशाखाले चाहिँ आज (शनिबार) बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै यसाे भनेको छ : देशको उच्च पहाडी/हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात/वर्षा हुने सम्भावना देखिएको र तापक्रममा गिरावट आई चिसो बढ्ने हुनाले चिसोबाट बच्ने उपाय अपनाउन हुन सबैमा अनुरोध छ।
‘हिउँदभर पश्चिमी वायु चलिरहेकै हुन्छ तर त्यसले ल्याउने न्यूनचापीय प्रणालीले मौसम बदली गराउने हो,’ वरिष्ठ मौसमविद् पौडेलले नेपालखबरसँग भने, ‘अहिले आएको न्यूनचापीय प्रणाली तेस्रोपटक हो।’
उनका अनुसार यो प्रणाली खासै शक्तिशाली छैन र यो भोलि (आइतबार)देखि कमजोर भएर जानेछ।
पश्चिमी वायुको न्यूनचापीय प्रणालीको प्रभावले तराईमा लाग्ने कुहिरो/हुस्सु केही कम गराउने उनको भनाइ छ। साथै यसले तराईको न्यूनतम तापक्रम कम गराउने भएकाले बिहान हुने कठ्यांग्रिँदो जाडोलाई पनि केही कम गराउने उनको भनाइ छ।
‘तर पनि तराईमा राम्रोसँग घाम नलाग्ने भएकाले दिउँसो जाडो कम हुँदैन,’ उनले भने।
साथै आज पहाडी भेगमा पनि आंशिक बदली हुने भएकाले राम्रोसँग घाम नलाग्ने मौसमविद्ले बताएका छन्।
आज काठमाडौं उपत्यकामा बिहान घाम लागेको छ। तर दिउँसो भने यहाँको मौसम पनि आंशिक बदली हुने वरिष्ठ मौसमविद् पौडेलको अनुमान छ। ‘तर पानी पर्ने सम्भावना भने छैन,’ उनले भने।
Shares

प्रतिक्रिया