समाज


नेपाल भित्रियो मुटु अपरेसन गर्ने अत्याधुनिक उपकरण ‘कार्डियो भास्कुलर हाइब्रिड थिएटर’

नेपाल भित्रियो मुटु अपरेसन गर्ने अत्याधुनिक उपकरण ‘कार्डियो भास्कुलर हाइब्रिड थिएटर’

नेपालखबर
कात्तिक २४, २०७९ बिहिबार १७:५३, काठमाडौँ

नेपालमा कार्डियो भास्कुलर हाइब्रिड थिएटर र अत्याधुनिक कार्डियो सिटीस्क्यान सेवा सुरु भएको छ। 

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले दक्षिण एसियाका सीमित अस्पतालमा रहेका ती सेवा पहिलोपटक स्वदेशमा थालनी गरेको हो।

सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले भने, ‘कार्डियो भास्कुलर हाइब्रिड थिएटरबाट एक महिना अगाडिदेखि नै सुरु गरिसकेका छौँ। पाँच सय १२ ‘स्लाइस’को कार्डियो सिटीस्क्यान सेवाका लागि उपकरण जडान भइसकेको छ। सेवा छिट्टै सुरु हुन्छ।’

के हो त थिएटर? 

उनका अनुसार मुटुको शल्यक्रिया र क्याथल्याब उपचार एकसाथ गर्नसक्ने अत्याधुनिक उपकरणलाई ‘कार्डियो भास्कुलर हाइब्रिड थिएटर’ भन्ने गरिन्छ। छाती नखोलीकन सुईका माध्यमबाट मुटुको उपचार गरिने पछिल्लो प्रविधि नै ‘क्याथल्याब’ हो। 

प्रा डा श्रेष्ठले भने, ‘कार्डियो भास्कुलर हाइब्रिड थिएटरबाट एक महिनामा २५ बिरामीले सेवा पाइसक्नुभएको छ। भारतमा यो सेवा लिन भारु १० देखि १५ लाखसम्म पर्दछ। हामीले त्यति नै नेपाली पैसामा स्वदेशमा नै यो सेवा प्रदान गरेका छौँ। हाम्रो ध्येय मुटुका बिरामी भारतमा उपचारार्थ जान नपरोस् भन्ने हो।’ 

यस्तो छ कार्डियो सिटीस्क्यानको सेवा 

सेन्टरले भित्र्याएको पछिल्लो अत्याधुनिक कार्डियो सिटीस्क्यानले एक धड्कनमा चार सिटीस्क्यान गर्न मिल्ने जनाइएको छ। मुटुको रक्तनलीको सिटीस्क्यान गर्ने काम अत्यन्त जटिल मानिन्छ। नेपलामा पाँच सय १२ स्लाइसको कार्डियो सिटीस्क्यान सेवा सहिद गङ्गालाल हृदय रोग उपचार केन्द्र बाँसबारीमा मात्र रहेको जनाइएको छ। 

प्रा डा श्रेष्ठले भने, ‘मुटुको उपचार सेवा सस्तो, सुलभ र गुणस्तरीयरुपमा  स्वदेशभित्र उपलब्ध गराउन उच्च प्राथमिकताका साथ अनवतर रुपमा लागिरहेका छौँ।’

मुटु, फोक्सो र रक्तनली उपचारमा अब्बल सेन्टरले बिरामीले चाहेकै समयमा कार्डियो सिटीस्क्यान सेवा तत्काल उपलब्ध गराउने नीतिसमेत तय गरेको छ। यसका लागि उपकरणको प्रयोगका बारेमा आफ्ना प्राविधिक जनशक्तिलाई विशेष तालिम दिने उनले बताए। सेन्टरले गत वर्ष ७५ हजार बहिरङ्ग, एक हजार सातसय क्याथल्याब सहित मुटु, फोक्सो र रक्तनलीको दुई हजार ५०० सेवा प्रदान गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad