समाज


विदेशबाट फर्केका बने पशु प्राविधिक

विदेशबाट फर्केका बने पशु प्राविधिक

नेपालखबर
कात्तिक ७, २०७९ सोमबार १४:२२, तुलसीपुर

तीन वर्ष मलेसियामा औद्योगिक मजदुरका रुपमा काम गरेका दाङ दङ्गीशरण गाउँपालिका–२ सरुवाडाँडाका देविराम चौधरी यतिबेला गाउँमा पशु प्राविधिकका रुपमा कार्यरत छन्।

पशुपंक्षीमा लागेका रोगको पहिचान गर्नेदेखि त्यसको उपचारसम्मको काममा चौधरीको दैनिकी बित्ने गरेको छ। 

‘मैले पशुसम्बन्धी लागेका रोग पत्ता लगाउने र त्योअनुसार उपचार गर्नसक्ने भएको छु’, उनले भने, ‘गाउँमा कसैका पशुपंक्षी बिरामी परेमा घरमै पुगेर उपचार गर्दै आएको छु।’

त्यस्तै बबई गाउँपालिका– ६ निवासी डम्बरकुमारी बुढाथोकी पनि विदेशबाट फर्किएपछि हाल पशु प्राविधिकका रुपमा गाउँमा सेवा दिइरहेकी छन्। २०६४ मा विदेश गएकी बुढाथोकी घरेलु कामदारका रुपमा ३२ महिना काम गरिन्। 

‘घरेलु कामदारका रुपमा विदेशमा काम गर्नु निकै कठिन समय थियो’, उनले भनिन्, ‘अहिले गाउँमै सेवा गर्न पाउँदा खुसी लागेको छ, यही कामबाट सम्मान पनि पाएकी छु।’

मलेसियामा लामो समय बिताएर फर्किएका बबई गाउँपालिका– ७ का मोहनबहादुर भण्डारी पनि अहिले पशु प्राविधिककै रुपमा गाउँमा सेवारत छन्।

उनीहरु जस्तै विदेशबाट फर्कनेलाई स्वरोजगार बनाउने उद्देश्यले ‘सामूदायिक पशु सेवा सहायक’ तालिम सञ्चालन गरेपछि हाल धेरै जना गाउँमै स्वरोजगार बनेका छन्। 

दाङका सात वटा स्थानीय तह तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकासहित दङ्गीशरण, बबई, शान्तिनगर, राप्ती र गढवा गाउँपालिकामा तालिम सञ्चालन गरिएको थियो। तालिम एक महिनासम्म सञ्चालन गरिएको थियो।

तालिमबाट शान्तिनगर गाउँपालिकामा ३० जना र अन्य छ पालिकामा २०÷२० जना गरी एकसय ५० जनालाई दक्ष सामूदायिक पशु सेवा सहायक बनाइएको छ। 

दाङको तुलसीपुरस्थित राप्ती स्वर्गद्वारी रतननाथ प्राविधिक शिक्षालयको आयोजनामा उक्त तालिम प्रदान गरिएको हो।

सोही तालिममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको संयोजन एवं ब्रिटिस काउन्सिलद्वारा व्यवस्थित दक्षता परियोजनाको सहयोग र युरोपेली युनियनको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad