ad ad

समाज


धरौटीमा रिहा भएका अपूर्व क्षितिजको बयान : दर्शक हँसाउनेबाहेक अर्को उद्देश्य थिएन

विरोध भएपछि भिडिओ हटाइसकेको स्पष्टीकरण
धरौटीमा रिहा भएका अपूर्व क्षितिजको बयान : दर्शक हँसाउनेबाहेक अर्को उद्देश्य थिएन

फाइल तस्बिर


उजिर कार्की
कात्तिक ३, २०७९ बिहिबार १९:५९, काठमाडौँ

२४ दिनदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका कलाकार अपुर्व क्षितिज रिहा भएका छन्। जिल्ला अदालत काठमाडौंले उनलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। 

कमेडी क्याफे नामक कार्यक्रममा कमेडी गर्ने नाममा नेवार समुदायको परम्परा, भाषा, संस्कृति, रीतिरिवाज, रहनसहनको अपमान व्यवहार गरेको, नेवार समुदायलाई होच्याएको र घृणा गरेको भन्दै १०१ जनाले उनीविरुद्ध जाहेरी दिएका थिए। 

उनले भदौ १० गते युट्युबमा उक्त भिडिओ अपलोड गरेका थिए। भिडिओ अपलोड गरेलगत्तै नेवार समुदायले त्यसमाथि आपत्ति जनाएका थिए। 

विरोध भएपछि अपूर्वले उक्त भिडिओ युट्युबबाट हटाएका थिए। तर भिडिओ हटाए पनि उनीमाथि प्रहरीले कारबाही अगाडि बढाएको थियो।  

जाहेरीपछि भदौ १२ गते नयाँ बानेश्वरबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो। अपुर्वमाथि प्रहरीले तीन वटा कसुरमा अनुसन्धान गरेको थियो। 

प्रहरी प्रतिवेदनको आधारमा तीनै कसुरमा सजाय माग दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। 

अदालतले उनीसँग अढाई लाख रुपैयाँ धरौटी माग गरेको छ। 

बयान : हँसाउन खोजेको थिएँ
अपूर्व क्षितिजले भने आफूले हँसाउने उद्देश्यले उक्त भिडिओमा कमेडी गरेको बयान दिएका छन्। 

यस अगाडि पनि विभिन्न स्थानमा कमेडी कार्यक्रम गर्दै आएका उनले गत असार ३१ गते काठमाडौं महानगरपालिका ९ बत्तिसपुतली स्थित ग्यासिया सेन्टरमा टिकट बुकिङ गरी स्ट्याण्डअप कमेडी सञ्चालन गरेका थिए। 

उक्त कार्यक्रममा उनले नेवार समुदायबारे प्रस्तुति गरेका थिए। ‘उक्त पर्फमेन्सलाई भ्यूका लागि मैले अपूर्व क्षितिज सिंह मेरो नामको आइडीबाट भदौ ०० गते 'नेवारको परम्परा' शीर्षकमा युट्युबमा भिडिओ अपलोड गरेकोमा उक्त भिडियोबारे लिएर सामाजिक सञ्जालमा विरोध भएकोले भदौ ११ गते युट्युबबाट हटाएको हुँ’, उनले बयानका क्रममा भनेका छन्। 

कार्यक्रमको भिडिओमार्फत नेवार समुदायहरुको भाषा, धर्म, संस्कृति परम्परा, प्रथा, रितिस्थिति, रहन सहनसमेतको विषयलाई लिएर अपमानजनक व्यवहार, जातीय सद्भाव तथा सम्प्रदाय खलबल्याई जातिय द्वेष, रिस, आवेग तथा उत्तेजना फैलाउने काम नगरेको दाबी उनको छ।

‘हँसाउने उद्देश्यका साथ मैले......भन्ने जस्ता शब्दहरु प्रयोग गरेको थिएँ। मैले नेवार समुदायहरुको भाषा, धर्म संस्कृति, परम्परा, रितिस्थिती, रहन सहन समेतको विषयलाई लिएर अमानवीय व्यवहार जातीय सद्भाव तथा सम्प्रदाय खल्वल्याई जातीय द्वेष, रिस, आवेग तथा उत्तेजना फैलाउने उद्देश्यले उक्त शब्द प्रयोग गरेको होइन, मैले मनोरन्जनका लागि मात्रै ती शब्द बोलेको हुँ’, अपूर्वले बयानमा भनेका छन्। 

तीन कसुरमा सजाय माग 
अपूर्वमाथि अदालतमा तीन कसुरमा सजाय माग गरिएको छ। सार्वजनिक शान्तिविरुद्ध, जातीय भेदभाव तथा छुवाछुत सम्बन्धि र सामाजिक रितिस्थितमा कलल सम्बन्धि कसुरमा सजाय माग गरिएको छ। 

मुलुकी अपराधसंहिता, २०७४ को दफा १६६ उपलफा (१) बमोजिमको कसुर अपराध गरेको हुँदा त्यही संहिताको उपदफा (२) बमोजिम उनलाई सजाय हुनु पर्ने अभियोग पत्रमा माग छ। 

मुलुकी अपराधसंहिता, २०७४ को दफा ६५ मा सार्वजनिक शान्ति खलल पार्न नहुने उल्लेख छ। यदि यस्तो असुर गरेमा त्यस्तो व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। 

यदि त्यस्तो कसुर कुनै देवस्थल वा पूजा वा प्रार्थना गर्ने ठाउँ वा धार्मिक, सांस्कृतिक चाड वा समारोह भइरहेको ठाउँमा गरे थप एक वर्ष कैद हुने कानूनी व्यवस्था छ। 

जातीय भेदभाव तथा छुवाछुत सम्बन्धि कसुरमा पनि एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। 

यस्तै सोही संहिताको दफा १६६ मा जातिपातिको आधारमा छुवाछुत वा अन्य भेलभावपूर्ण कसुर गर्न नहुने उल्लेख छ। यसविपरित कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। 

अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने कसुरमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। यस्तै जाहेरवालालाई कानुनबमोजिम क्षतिपूर्ति भराइदिन समेत माग गरिएको छ। 

यीनै कसुरमा १२ गते पक्राउ परेका अपूर्व कोरोना संक्रमण भएपछि गत भदौ २३ गते हाजिर जमानीमा छुटेका थिए। 

कोरोना नेगेटिभ भएपछि असोज ३१ गते निवेदनसहित उनी प्रहरी कार्यालयमा उपस्थित भएका थिए।

उनले युट्युबमा पोष्ट गरेको भिडिओ पनि प्रहरीले अदालतमा पेश गरेको छ। अब उनीमाथिको सजाय फैसलामा टुंगो लाग्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .