ad ad

समाज


प्रहरीमा दुई एआईजी खाली, बढुवाका लागि धानुकको अवकाश कुर्दै सरकार

प्रहरीमा दुई एआईजी खाली, बढुवाका लागि धानुकको अवकाश कुर्दै सरकार

फाइल तस्बिर


उजिर कार्की
कात्तिक ३, २०७९ बिहिबार १४:२४, काठमाडौँ

सरकारले नयाँ दरबन्दी सिर्जना गरेर सशस्त्र प्रहरीमा वंशीराज दाहाललाई अतिरिक्त महानिरीक्षक (एआईजी) बनायो। 

दाहाललाई एआईजी बनाउनकै लागि दरबन्दी पनि थपियो। एआईजी बनेका दाहालले बुधबार दर्ज्यानी चिह्न लगाइसकेका छन्। 

तर नेपाल प्रहरीमा भने चार महिनादेखि एआईजीको दरबन्दी रिक्त हुँदा पनि बढुवा गरिएको छैन। 

नेपाल प्रहरीमा साउन २० गतेदेखि नै एआईजीको दरबन्दी खाली भएको हो। अहिले रिक्त एआईजी संख्या दुई पुगिसकेको छ। 

एआईजी अरुणकुमार बिसी पनि कात्तिक १५ देखि अवकाशमा जाँदैछन्। त्यसअघि साउन २० गते विश्वराज पोखरेल र भदौ २३ गते मुकुन्दराज आचार्य अवकाश भएका थिए। 

एआईजी रिक्त भएसँगै दाबेदार डीआईजीहरुले छिटो बढुवा गर्न लबिङ गर्दै आएका छन्। तर सरकार भने एकसाथ चार एआईजी बढुवा गर्ने तयारीमा छ,

आगामी चैतदेखि प्रहरी नेतृत्व सुम्पिने गरी एआईजी बढुवा गर्न लागिएको हो। मंसिर ४ को निर्वाचनअघि नै एआईजी बढुवा गर्ने तयारीमा सरकार रहेको गृहसचिव विनोदप्रकाश सिंहले बताए।

एक एआईजीका प्रतिस्पर्धीले भने प्रधानमन्त्री शेरबहादुर देउवा पहिल्यै बढुवा गर्न सकारात्मक भएपनि गृहमन्त्री र आइजीपीकै सल्लाहमा रोकिएको बताए।

‘प्रधानमन्त्री दुईवटा पद रिक्त हुँदै बढुवा गर्न सकारात्मक हुनुहुन्थ्यो,’ उनले भने, ‘तर भावी आईजीपीको प्रतिस्पर्धा कायम राख्न गृहसचिव सिंहकै सल्लाहमा यो रोकिएको बुझिएको छ।’

धानुकको अवकाश कुर्दै 
नेपाल प्रहरीकै अर्का एआईजी पनि अवकाशनजिक छन्। उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी रवीन्द्र बहादुर धानुक पनि चुनावअघि नै अवकाश हुँदैछन्। त्यहीकारण सरकारले एकसाथ चार डीआईजीलाई बढुवा तयारी गरेको हो। 

कात्तिक २५ गतेदेखि धानुक अनिवार्य अवकाशमा जाँदैछन्। आईजीपी धीरजप्रताप सिंहकै ब्याची भए पनि चारै एआईजी उमेरहदका कारण अनिवार्य अवकाशमा गएका हुन्।

धानुकसहित अवकाश हुने ४ एआईजी।

एआईजीको उमेर हद ५६ वर्षे हुन्छ। चार वर्षे कार्यअवधि, ५६ वर्षे उमेर हद र ३० वर्षे सेवाअवधिमध्ये जुन पहिले आउँछ, त्यहीअनुसार अनिवार्य अवकाश हुने नियमावलीमा व्यवस्था छ।

धानुक अवकाशकमा गएसँगै सरकारले अघिल्लो वरीयतामा रहेका चार डीआईजीलाई एआईजीमा बढुवा गर्नेछ। तर डीआईजीको वरीयतामासमेत हेरफेर गर्ने सरकारको तयारी छ।

को–को बन्दै एआईजी?
कात्तिक २५ अघि नै सिफारिस गर्ने गरी सरकारले तयारी अगाडि बढाएको छ। गृहसचिव सिंहले सरकारले रिक्त दरबन्दीमा बढुवका लागि छिट्टै प्रक्रिया अगाडि बढाउने बताए। 

हाल डीआईजीहरु वसन्त कुँवर, टेकप्रसाद राई, अशोक सिंह र दीपक थापा डीआईजी वरीयतामा अगाडि छन्। सरकारले उनीहरुलाई एकसाथ एआईजी बनाउनकै लागि रिक्त तीन पदमा बढुवा नगरेको हो। 

मंसिर ४ को निर्वाचनपछि सत्ता समीकरण फेरिन सक्ने भएकाले सरकारले त्यसअघि नै एआईजी बढुवा तयारी गरेको छ। 

त्यसका लागि सरकारले निर्वाचन आयोगसँग अनुमति लिनुपर्छ। आयोगको अनुमतिमा सरकारले निर्वाचनकै बीचमा पनि सरुवा-बढुवा गर्न सक्छ। 

डीआईजी हुँदा तेस्रो नम्बरमा फड्को मारेका अशोक सिंहलाई पहिलो नम्बरमा बढुवा गर्ने सम्भावना बलियो छ। 

यस्तै, वसन्त कुँवर पनि पहिलो नम्बरमै कायम रहने जोडमा छन्। टेकप्रसाद राई र दीपक थापालाई क्रमशः तेस्रो र चौथो नम्बरमा बढुवा गर्ने तयारी छ। पाँचौँ वरीयतामा श्यामलाल ज्ञवाली छन्। 

हाल नेपाल प्रहरीमा जनपदतर्फ ८ एआईजीको दरबन्दी छ। अवकाश हुन लागेका एआईजी धानुकसँगै सहकुलबहादुर थापा, दिवेश लोहनी, उत्तमराज सुवेदी र पूजा सिंह कार्यरत छन्। 

तीमध्ये चार एआईजी आईजीपी सिंहसँगै आगामी चैतमा अवकाश हुनेछन्। अब बन्ने चार एआईजी मध्येबाटै भावी आईजीपी बनाउने सम्भावना छ। 

आगामी चैतमा आईजीपी नबने पनि दीपक थापा भने त्यसपछिको आईजीपी बन्ने छन्। तीन डीआईजीभन्दा उनीपछि प्रहरीमा भर्ना भएका हुन्। उमेर हदका कारण पनि उनको अवकाश सम्भावना छैन। 

उनका ब्याची पछाडि रहेकाले पनि थापाको आईजीपी बन्ने सम्भावना बलियो छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .