ad ad

समाज


नेपाल प्रहरीमा २ एआईजी खाली, बिसी र धानुक पनि चुनावअघि नै अवकाशमा

नेपाल प्रहरीमा २ एआईजी खाली, बिसी र धानुक पनि चुनावअघि नै अवकाशमा

उजिर कार्की
भदौ २३, २०७९ बिहिबार १४:७, काठमाडौँ

नेपाल प्रहरीमा आगामी निर्वाचनपहिले नै चार जना अतिरिक्त महानिरीक्षकको पद रिक्त हुने भएको छ। बिहीबार मुकुन्द आचार्य अवकाशमा गएका छन्। यससँगै हाल दुई जना एआईजी रिक्त भएको हो। 

नेपाल प्रहरीको जनपदतर्फ ८ जना एआईजीको दरबन्दी छ। त्यसमध्ये आधा अवकाश हुनेछन्। त्यसपछि एआईजीहरु सहकुलबहादुर थापा, पूजा सिंह, उत्तमराज सुवेदी र दिवेश लोहनी मात्रै कार्यरत रहनेछन्। उनीहरु आईजीपी धिरजप्रताप सिंहसँगै आगामी चैतमा निवृत्त हुनेछन्। 

यसअघि यही ब्याचका एआईजी विश्वराज पोखरेल अवकाशमा गएका थिए। साउन २० गते उमेर हदका कारण पोखरेल अवकाशमा गएसँगै नेपाल प्रहरीको प्रदेश समन्वय विभाग नेतृत्वविहीन छ। निर्वाचन नजिकिँदै जाँदा प्रदेशहरुबीच समन्वय गर्ने नेतृत्व नै खाली भए पनि सरकारले एकल एआईजी बढुवा गरेको छैन। 

आईजीपी हुन नसकेपछि पोखरेलले त्यसअघि नै राजीनामा दिएका थिए। तर उनको राजीनामा स्वीकृत भएन र नियमित प्रक्रियाबाटै उनी अवकाश भए। सरकारले धिरजप्रताप सिंहलाई आईजीपी बनाएपछि पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनको रिट असार ३१ गते खारेज भएको थियो। 

बिहीबार अर्का एआईजी मुकुन्द आचार्य पनि उमेर हदकै कारण अनिवार्य अवकाश भएका हुन्। उनको अवकाशसँगै नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान नेतृत्वविहीन भएको छ। 

यस्तै एक महिनापछि अर्का एआईजी अरुणकुमार बिसी पनि अवकाशमा जाने छन्। हाल उनी प्रशासन विभागमा कार्यरत छन्। बिसी पनि उमेर हदकै कारण असोज २४ गते अनिवार्य अवकाशमा जानेछन्। 

त्यसको एक महिनापछि काठमाडौं उपत्यका प्रहरी कार्यालय पनि नेतृत्वविहीन हुँदैछ। त्यहाँ कार्यरत रवीन्द्रबहादुर धानुक कात्तिक २५ गते अवकाशमा जाने छन्। धानुक पनि उमेर हदकै कारण ३० वर्षे सेवाअवधि पुरा नगरी विदा हुने भएका हुन्। 

यी चारै जना एआईजी २०४९ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। प्रहरी सेवामा रहने अवधि आगामी चैतसम्म भए पनि आफ्नै उमेरका कारण पहिल्यै अवकाश हुनु परेको हो। 

एआईजीको उमेर हद ५६ हो। प्रहरीमा ३० वर्षे सेवा अवधि, एआईजी र डीआईजीको ४ वर्षे कार्यकाल र ५६ वर्षे उमेर हदका कारण अवकाश हुने व्यवस्था छ। यसमध्ये जुन पहिला पुरा हुन्छ, त्यसैका आधारमा अवकाश पाउने व्यवस्था छ।

रिक्त एआईजीमा कसले मार्ला बाजी?
नेपाल प्रहरीमा चार जना एआईजीको दरबन्दी रिक्त भएपछि मात्रै बढुवा गर्ने सरकारको तयारी छ। अब बढुवा हुने एआईजीहरु मध्येबाटै आगामी चैतमा प्रहरी महानिरीक्षक बन्ने भएकाले एकसाथ चार जनालाई बढुवा गर्ने सरकारको तयारी रहेको गृह मन्त्रालय श्रोतले बताएको छ। 

तर डीआईजीको अघिल्लो वरीयतामा रहेकाहरु तत्काल एआईजीमा बढुवा हुन लबिइङ गरिरहेका छन्। निर्वाचनपछि सरकार आफू अनुकूलकै नरहनसक्ने भएकाले आफ्नो सिट बेलैमा सुरक्षित गरेर नेतृत्वमा पुग्ने सम्भावना बलियो बनाउन उनीहरु लागिरहेका हुन्। 

बढुवाका लागि डीआईजीहरु वसन्त कुँवर, टेकप्रसाद राई, अशोक सिंह र दीपक थापा वरीयतामा क्रमशः अगाडि छन्। टेकप्रसाद राई एसएसपीकै वरीयतामा यथावत रहँदै डीआईजी हुँदा वसन्त कुँवर र अशोक सिंहले फड्को मारेका थिए। 

यस्तै दीपक थापा पछि एसएसपीबाटै अगाडि आएका हुन्। उनी आगामी चैतमा आईजीपी नभए पनि त्यसपछिको आईजीपी हुने सम्भावना रहन्छ। अन्य तीन जना डीआईजीभन्दा थापा पछि भर्ना भएका थिए। 

थापापछिको वरीयतामा डीआईजी श्यामलाल ज्ञवाली छन्। ज्ञवाली र डीआईजी किरण बज्राचार्य पनि यसैपटक एआईजी हुने जोडबलमा छन्। 

यसअघि पहिल्यै एआईजी भएर पनि विश्वराज पोखरेल र सहकुल थापा आईजीपी हुन सकेका थिएनन्। निर्वाचनपछि सरकार परिवर्तन हुने र गठबन्धन बदलिएमा अहिले वरीयतामा अगाडी रहे पनि पछि छुट्ने सम्भावना हुने भएकाले डीआईजीहरु एआईजी सुरक्षित गर्न चाहन्छन्। 

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नै गत चैतमा एआईजी बढुवा गरेर धिरजप्रताप सिंहलाई वैशाखमा आईजीपी बनाएको थियो। त्यही नियति दोहोरिने डर डीआईजीहरुलाई छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .