आज (आइतबार) पनि काठमाडौं उपत्यकालगायत लगभग देशभर मौसम बदली भएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज दिनभर मौसम खुल्ने सम्भावना छैन।आज दिनभर आकाशमा बादल रहने उनकाे अनुमान छ।
साथै पश्चिका थोरै स्थान तथा मध्य र पूर्वी पहाडमा हल्का वर्षाको समेत सम्भावना रहेको उनले बताइन्। ‘उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको समेत सम्भावना छ,’ मौसमविद् बासीले नेपालखबरसँग भनिन्।
मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : केही उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले उच्च पहाडीसहित हिमाली भूभागका स्थानहरुमा सतर्कता अपनाउनु हुन अनुरोध गरिन्छ।
‘हिजो (शनिबार)भन्दा आज (आइतबार) पश्चिमी वायु केही बलियो भएको छ,’ मौसमविद् बासीले भनिन्, ‘भोलि (सोमबार)बाट यसको प्रभाव कम हुने देखिन्छ।’
यसअघि मौसमविद्ले आजदेखि पश्चिमी वायुको प्रभाव बिस्तारै कमजोर हुँदै जाने अनुमान गरेका थिए।
काठमाडौं उपत्यकाको पनि आज दिनभर मौसम नखुल्ने मौसमविद् बासीको अनुमान छ। ‘पानी पर्ने सम्भावना भने ज्यादै न्यून छ,’ उनले भनिन्।
आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम भने बढेको छ। बिहान लिइएको मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस पुगको हो। ‘राति आकाशमा बादल भयो भने बिहान न्यूनतम तापक्रम बढ्छ,’ मौसमविद् बासीले भनिन्, ‘तर अधिकतम तापक्रम घट्नेछ।’

प्रतिक्रिया