ad ad

समाज


३० वर्ष झोला बोकेका महावीर पुन कसरी लागे अनुसन्धानमा?

३० वर्ष झोला बोकेका महावीर पुन कसरी लागे अनुसन्धानमा?

नेपालखबर
असोज १, २०७९ शनिबार १७:३६, काठमाडौँ

‘मलाई पैसा बोकेर हिँड्न डर लाग्छ, झोला बोकेर हिँड्न रहर लाग्छ,’ हालै एक कार्यक्रममा नगद रु एक करोडको पुरस्कार ग्रहणपछि चर्चित वैज्ञानिक एवं अनुसन्धानकर्ता महावीर पुनले भने। मानिसहरु परिवर्तन चाहन्छन्। परिवर्तनको कुरा गर्छन् तर, असल हिरो ती हुन् जो अगाडि बढ्छन् र आफैँ परिवर्तन् हुन्छन्। तिनै उदाहरण हुन् वैज्ञानिक, आविष्कारक र सामाजिक अभियन्ताका रुपमा चिनिने महावीर पुन जसले वैज्ञानिक आविष्कार गरेर नेपालको पहिचानलाई विश्वभर पुर्याए।

विरलै भेटिन्छन् यस्ता मान्छे जो पैसादेखि डराउँछन्। यो त्यही समाज हो जहाँ पैसा कमाउन र सम्पत्ति जोड्न मानिले हदैसम्म गर्छन्। तर पैसाको पछि नलाग्ने, देशको उन्नति र युवाको भविष्यमा चिन्तित पुन पनि यही समाजमा भेटिन्छन्।

प्रसिद्ध म्यागासेसेलगायत दर्जनौँ पुरस्कार प्राप्त गरेका पुनलाई पुरस्कार र मान पदवीप्रति कत्ति पनि मोह छैन। उनी भन्छन्, ‘पुरस्कार पाउँदा सुरुमा सबै खुसी हुन्छन्। पुरस्कार, पदक र सम्मान हौसला प्रदानका लागि हुन्। मलाई अवार्ड दिन चाहनेलाई भन्ने गरेको छु, पुरस्कार मलाई नदिनुस् भनेर घोषणा गरेको छु, ती पुरस्कार युवालाई दिनुस् जसबाट  अनुसन्धान र आविष्कार गर्न प्रेरणा मिलोेस्। मेरो नाम जोडिएर आएको पुरस्कार लिन्नँ।’

महावीर पुन सतकर्मको परिचय पनि हो। समर्पणभाव र जनताका साथ कार्यसिद्धिमा लाग्यो भने स्रोत र सहयोग आफैँ जुट्छ भन्ने उदाहरण हो पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्र। साना–साना अनुसन्धान र कार्यबाट देश तथा विदेशका विशिष्ट परिचय बनाएका छन् पुनले।

‘म अनुसन्धान आविष्कारक हैन। गोठालेका रुपमा काम गरिरहेको छु। आविष्कार भनेको आउने युवा वैज्ञानिकको सीप उपयोग गर्ने फोरमका रुपमा स्थापित गरिरहेको छु,’ उनले भने।

विसं २०११ माघ ९ गते म्याग्दीको नागी गाउँमा जन्मिएका पुनले गाउँमै प्रारम्भिक शिक्षा हासिल गरे। संयोगले अमेरिकामा स्नातक अध्ययनको छात्रवृत्ति पाए। 

जसले पुनको जीवनलाई बदलिदियो। अमेरिकाको नेब्रास्का राज्यमा रहेको नेब्रास्का विश्वविद्यालयबाट शिक्षामा स्नातकोत्तर उपाधि प्राप्त गरेपछि पुन नेपालको शैक्षिक तथा आर्थिक विकासका लागि नमूना शिक्षा प्रदान गर्ने स्कुल स्थापना गर्ने साहस र महत्वकाङ्क्षी लक्ष्य लिएर गाउँ फर्किए।

पुन संसारभरका नेपालीमाझ एक नेपाली शिक्षक, युवा वैज्ञानिक, आविष्कारक तथा सामाजिक अभियन्ता भनेर चिनिन्छन् उनले म्याग्दीका दुर्गम गाउँमा कम्प्युटर पुर्याए। अनि वायरलेस प्रविधिमार्फत गाउँ–घर र त्यहाँका विभिन्न विद्यालयमा इन्टरनेट पुर्याए।

आविष्कार केन्द्र किन?
पुनले आविष्कार केन्द्र कुनै स्वार्थका लागि नखोलेको बताए। 

‘यो मैले मेरा लागि खोलेको हैन, मलाई केही पनि चाहिँदैन,’ उनले भने, ‘म फरक किसिमको स्वतन्त्र मान्छे हुँ। ३० वर्ष भयो स्वतन्त्र मान्छे बनेको। यो अवधिसम्म म कुनै जागिर नखाएको मान्छे। कुनै व्यवसाय गर्न जानिनँ। जागिर चाहिँ मन नपर्ने भएर नखाएको। व्यापार व्यवसाय गर्न कुनै आइडिया पनि छैन। पुँजी छैन। त्यही भएर म चाहिँ एउटा झोला बोकेर हिँड्ने मान्छे भएको हो। र त्यो झोला बोकेर हिँडेको ३० वर्ष भयो।’

पुनले ३० वर्ष झोला बोकेर हिँडेको र २० वर्ष गाउँमा बिताएको कथा सुनाए। 

‘मैले २० वर्ष गाउँ घुम्दा गहिरोसँग प्राप्त गरेको ज्ञान भनेको नेपाल गरिब रहेछ भन्ने थाहा पाएँ। नेपालमा युवाहरु रोजगारीका लागि बाध्य भएर विदेशमा जाने चलन छ। यदि नेपाल समृद्ध भइदिएको भए आज ५०/६० लाख नेपाली विदेसिनुपर्ने थिएन,’ उनले भने।

बीस वर्षको अवधिमा पुनलाई रोजगारी सिर्जना गर्नुपर्छ भन्ने बुद्धि आयो। तर, कसरी? अमेरिका, जापान, कोरिया, मलेसिया, खाडी मुलुकमा रोजगारी कसरी गरिरहेको छ। रोजगारी सिर्जनाका लागि उद्यमीहरुको सिर्जना गरिनुपर्छ।

‘हामी नेपालीहरु अलमलिएका छौँ, रोजगारी सरकारले सिर्जना गर्ने हो भनेर सरकारलाई गाली गर्छौं, रोजगारीको सिर्जना वास्तवमा उद्यमीले गर्ने हो। उद्यमी नभएकाले रोजगारी भएन। अमेरिकामा आठ वर्ष बसेको मान्छे आफैँलाई थाहा थिएन रोजगारी कसरी बनाउने। गाउँमा २० वर्ष बसेपछि बल्ल ज्ञान भयो। उद्यमी बन्नलाई अनुसन्धान र आविष्कार गर्नुपर्छ। त्यही सोचका कारण आविष्कार केन्द्रको जन्म भयो,’ पुनले भने।

उद्यमी बन्नका लागि सबैभन्दा पहिलो कुरा अनुसन्धान चाहिन्छ। त्यो जुनसुकै क्षेत्रमा किन नहोस्। उद्यमी बन्नका लागि अनुसन्धान गनैपर्छ। अनुसन्धान कति आवश्यक रहेछ भन्ने कुरा थाहा पाउन पुनलाई २० वर्ष लाग्यो। अहिले १० वर्षदेखि पुनले जानेको कुरा सिकाउँदै छन्। त्यही सिकाउने ठाउँ हो आविष्कार केन्द्र। 

उनले भने, ‘केन्द्रमा आएर कसैले कुनै आइडिया सिक्न चाहन्छ, भने बेस्सरी काम गर पैसाको चिन्ता नगर भनेको छु। तर, यो कुनै मिडियाबाजी गर्न भनेको हैन। बाध्य भएर भनेको हो। म जस्तो पैसा नभएको मान्छेले भनेको कस्ले पत्याउँछ होला र तर पनि हिम्मत हारेको छैन मेहनत गरिरहेको छु।’

पुनको अनुभवमा अनुसन्धान जोखिमपूर्ण काम हो। धेरै लगानी र हन्डर खाएर मात्रै सफलता पाइन्छ। आविष्कार केन्द्रलाई निम्नवर्गका व्यक्तिले भरोसाको केन्द्रका रुपमा हेरेको र उनीहरुको निरन्तर सहयोगबाट हालसम्म १५ करोड रुपैयाँ सहयोग जुटिसकेको पुनले जानकारी दिए।
  
आविष्कार केन्द्रमा के भइरहेको छ?
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा अवस्थित राष्ट्रिय आविष्कार केन्द्रमा साना–साना अनुसन्धान र आविष्कारका काम भइरहेका छन्। पुनका अनुसार सबै क्षेत्रमा काम भइरहेको छ। कृषि, स्वास्थ्य, शिक्षा तथा इन्जिनियरिङ क्षेत्रमा भेरै काम भइरहेको छ, रकेट, ड्रोन बनाउनेदेखि इलेक्ट्रोनिक ग्याजेट, सफ्टवेयर हार्डवेर निर्माणको काम पनि भइरहेको छ। 

उनले भने, ‘अहिले हामी सिक्दैछौँ। अहिले आविष्कार केन्द्र निम्न माध्यमिक अवस्थामा छ। हामीलाई पीएचडी गर्न धेरै वर्ष लाग्छ। किनभने यो काम जानेर पैसा भएर गरेको पनि हैन।’

सन् २०१२ मा दर्ता भएको आविष्कार केन्द्रले सन् २०१७ सम्म केन्द्रको खातामा एक रुपैयाँ पनि थिएन। आविष्कार कसरी गर्ने भन्ने पनि थाहा थिएन। 

सन् २०१८ देखि सुरु भएको अनुसन्धानको काम छोटो अवधिमा पनि राम्रै उपलब्धि भएको छ। यसलाई अझै माथि लैजाने पुनको सोच छ। अनुसन्धानलाई प्राथमिकता नदिए देशको अर्थतन्त्रलाई उकास्न नसकिने पुनको भनाइ छ। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .