ad ad

समाज


देशभर वर्षा, दाङमा एक घण्टामै ६० मिलिमिटर पानी पर्‍यो

देशभर वर्षा, दाङमा एक घण्टामै ६० मिलिमिटर पानी पर्‍यो

फाइल तस्बिर


नेपालखबर
असोज १, २०७९ शनिबार ७:४६, काठमाडौँ

अहिले (शनिबार बिहान ७:३० बजे) देशभर विभिन्न स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार यतिबेला लुम्बिनी, कर्णालीका केही स्थान, प्रदेश १, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा वर्षा भइरहेको छ। 

‘विशेषगरी पश्चिम तराईमा बढी वर्षा भइरहेको छ’, मौसमविद् अधिकारीले भने, ‘दाङमा आज बिहान निकै ठूलो वर्षा भएको छ।’

उनका अनुसार दाङमा एक घण्टामा ६० मिलिमिटरभन्दा बढी वर्षा भएको हो। ‘२४ घण्टामा ५०/६० मिलिमिटर वर्षा हुनुलाई त भारी वर्षा भनिन्छ, एक घण्टामै ६० मिलमिटर वर्षा हुनु भनेको धेरै ठूलो हो।’

मौसम पूर्वानुमान महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

यस्तै राति पनि देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।  

जसमा भनिएको छ : देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै लुम्बिनी, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले यसबाट पहाडी तथा भिरालो जमिनमा  भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम, सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना छ। साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना
देशभरसँगै अहिले काठमाडौं उपत्यकाको मौसम पनि सामान्यतया बदली रहेको मौसमविद्ले बताएका छन्। 

मौसमविद् सञ्जीव अधिकारीका अनुसार केही बेरमा काठमाडौं उपत्यकामा पनि वर्षा हुने सम्भावना छ। ‘यहाँ हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ, भारी वर्षाको चाहिँ सम्भावना छैन’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .