विभिन्न मिति तथा समयमा चोरी भएका २१ वटा सवारी साधन ट्राफिक प्रहरीले खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
बिहीबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रका बीच सवारी साधन धनीलाई हस्तान्तरण गरिएको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आयोजित कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले धनीलाई सवारी साधन हस्तान्तरण गरे।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७९।०८० को श्रावण महिना र भदौ महिनाको मध्य सम्ममा दुई पांग्रे सवारी साधन हराएको २२१ वटा निवेदन प्राप्त भएका थिए।
प्राप्त निवेदनको आधारमा चोरी भएका सवारी साधन खोजी गर्दा श्रावण र भदौ महिनाको मध्य सम्म १०१ वटा सवारी साधन फेला परेका थिए। फेला परेका मध्ये श्रावण महिनामा ७३ वटा र भदौ महिनाको मध्यसम्म १० वटा सवारी साधन धनीलाई जिम्मा लगाइसकिएको ट्राफिक प्रहरीले जनाएको छ।
यस्तै, आज पनि २१ वटा सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेसँगै यसै आर्थिक वर्षको भदौ १६ गतेसम्म १०४ वटा सवारी साधनलाई धनीको जिम्मा लगाइएको छ।
यस आर्थिक वर्षमा चोरीका ८ वटा दुई पांग्रे सवारी साधन सहित ९ जना मानिसलाई भने आवश्यक कारबाहीको लागि परिसर तथा वृतमा पठाइएको छ।
फेला परेका मध्ये धनी सम्पर्कमा नआएका ३ वटा सवारी साधन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमै रहेकाले दुई पांग्रे सवारी साधन हराएको निवेदन दिएका धनीलाई सम्पर्कमा आउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ।
Shares

प्रतिक्रिया