समाज


बुधबार फेरि नेपाल प्रवेश गर्दै पश्चिमी वायु

बुधबार फेरि नेपाल प्रवेश गर्दै पश्चिमी वायु

नेपालखबर
मंसिर २३, २०७६ सोमबार ३:१२,

केही दिन सामान्य रहेको नेपालको मौसम बुधबारबाट बदली हुने अनुमान मौसमविद्ले गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार बुधबार राति पश्चिम वायु नेपाल भित्रिने सम्भावना छ।

नेपालको पश्चिमी क्षेत्रबाट प्रवेश गर्ने पश्चिमी वायुले सबभभन्दा पहिले सुदूरपश्चिम क्षेत्रमा असर गर्ने उनले बताए।

‘पश्चिम वायु भित्रिएपछि देशका सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना छ,’ सोमबार बिहान नेपालखबरसँग कुरा गर्दै मौसमविद् श्रेष्ठले भने, ‘र, बिस्तारै पूर्व सर्ने पश्चिमी वायुले त्यसपछि क्रमशः काठमाडौंलगायत मध्य र पूर्वी क्षेत्रको मौसम पनि बदली गराउनेछ।’

उनका अनुसार पश्चिमी क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुनेबाहेक अन्य स्थानमा भने यस वायुले मौसम बदली मात्र गराउने सम्भावना छ भने वर्षा गराउने सम्भावना हालको अनुमानले देखाएको छैन।

‘अहिलेको अनुमान यस्तै देखिन्छ,’ उनले भने, ‘तर पछि पुनः हामी यसको अपडेट गराउनेछौं।’

मौसम पूर्वानुमान महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्छ।

यस्तो छ आजको मौसम 
आज (सोमबार) देशका मध्य र पूर्वी पहाडी भेगमा आंशिक बदली हुनेछ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै राति देशका पहाडी भेगमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले नेपालमा उल्लेखनीय कुनै मौसमी प्रणाली नभएको मौसमविद् समीर श्रेष्ठले बताए।

काठमाडौंको तापक्रम
आज (सोमबार) काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो बिहान पौन ९ बजे लिइएको मापन हो।

मौसमविद् समीर श्रेष्ठका अनुसार हिजो (आइतबार) काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै कम ४.४ डिग्री सेल्सियस थियो।

तराईमा कुहिरो
जाडो याम लागेसँगै तराई क्षेत्रमा बिहान बिहान हुस्सु/कुहिरो देखिन थालेको छ।

आज बिहान पनि तराईका विभिन्न स्थानमा हुस्सु/कुहिरो देखिएको तर त्याे घाम लागेसँगै बिस्तारै हट्दै जाने माैसमविद् श्रेष्ठले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad