ad ad

समाज


‘सीता-रामको प्रतीक बन्दा भगवान नै बनेको अनुभूति’

‘सीता-रामको प्रतीक बन्दा भगवान नै बनेको अनुभूति’

शैलेन्द्र महतो
मंसिर २०, २०७६ शुक्रबार ५:१६,

जनकपुरमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीमा धुमधामसँग मनाइने सीताराम विवाहपञ्चमीलाई मनमोहक बनाउने अनेकौं दृश्यहरु छन्। बालबालिका तथा किशोर किशोरीहरु राम र सीताको प्रतिकका रुपमा सजिन्छन् र यो मिथिला नगरीमा त्रेता युगको झझल्को फर्काउँछन्।

तेजस्वी र आकर्षक अनुहारमा राम र सीताको स्वरुपमा सजिने बालबालिका तथा युवा युवतीलाई भगवान नै मानेर पूजापाठ गर्नेदेखि उनीहरूसँग फोटो र सेल्फि खिच्न मान्छेहरुको घुइँचो लाग्छ।

विवाहपञ्चमीमा भगवान राम र सीताको डोलाफेर गरी स्वयम्वर र विवाह गर्ने प्रचलन छ। यही बेला सात दिनसम्म हरेक विधीमा प्रतिकात्मक रुपमा बालबालिकालाई राम र सीताको स्वरुप बनाई रामजानकी लिला गर्ने गरिन्छ।

राम र सीताको डोलासँगै झाँकी किर्तन निस्कन्छन्, जसले शोभायात्रा, स्वयम्वर र विवाहको रौनकता बढाएको हुन्छ।

kumarisita2

दिदी सीता, बहिनी राम
सर्लाही सोल्टी बजारका एकै आमाबुबाका दुई छोरी रेनु र सुस्माले विवाहपञ्चमीको रौनकता बढाउन राम र सीताको प्रतिकात्मक भूमिकामा खेल्दै आएका छन्। ओम शान्ति संस्था मार्फत पाँच वर्षदेखि निरन्तर विवाहपञ्चमी महोत्सवका दिन दिदी २२ वर्षीया रेनु सीताको भूमिकामा हुन्छिन् भने १९ वर्षीया बहिनी सुस्मा रामको भूमिकामा।

सर्लाही सोल्टी बजारका बलराम बस्नेतका छोरी रेनु र सुस्मा अहिले काठमाडौं बसेर अध्ययन गर्दैछन्। विवाहपञ्चमीको दिन उनीहरू जानकी मन्दिरदेखि निस्कने सीताको डोला पछाडि शोभा यात्रामा भगवान राम र सीताको भूमिकामा देखिन्छन्।

विहान ६ बजेदेखि दिउँसो ३ बजे अर्थात ६ घण्टासम्म सीताको भूमिका निर्वाह गर्ने रेनुको अनुभव रमाइलो छ। ‘सीता’ बनेको बेला भोक तिर्खा नलाग्ने र त्यतिञ्जेलसम्म आफु साँच्चिकै ‘भगवान’ नै भएको महसुस हुने गरेको रेनुले सुनाइन्।

kumarisita15

‘हामी दिदीबहिनी पाँचवर्षदेखि राम र सीताको भूमिका निर्वाह गर्दै आएका छौँं, अगामी वर्षमा पनि गर्छौं’, सीताको भूमिका गर्दै आएकी रेनुले नेपालखबरसँग भनिन्, ‘निकै खुसी लाग्छ, आफु साँच्चै भगवान नै भएको अनुभूति हुन्छ। अहिलेसम्म कुनै अपठ्यारो महसुस भएको छैन।’

राम र सीता बनेको बेला आफुहरुलाई मानिसहरूले पूजापाठ गर्दा खुशी लाग्ने बताउँदै रेनुले भनिन्, ‘त्यतिबेला लाग्छ, भगवानले हामीलाई शक्ति देउन्, सबैको दुःख दुर गर्न पाउँ, सबै खुसी रहुन्।’

बहिनी सुस्मालाई राम नै बन्न मन लाग्ने र आफुलाई पहिलादेखि नै सीताको भूमिका ठीक लागेकोले त्यही अनुसार दिदीबहिनी राम सीता बन्ने गरेको रेनुको भनाइ छ।

kumarisita7

पहिले गाह्रो, अहिले रमाइलो
विवाहपञ्चमी महोत्सवमा ७ दिनसम्म राम र सीता बन्न महोत्तरीका बालक प्रकाश र आकाशलाई भने छैन। जानकी मन्दिरका सबै विधि व्यवहारमा सीता र रामको स्वरुपमा सजिने १५ वर्षीय प्रकाश कुमार झा र १४ वर्षीय आकाश झा महोत्तरीको सोनामा तराही गाउँका हुन्।

दुई वर्षदेखि प्रकाश रामको स्वरुप बन्ने गर्छन् भने आकाश सीताको स्वरुपमा देखिन रुचाउँछन्। प्रकाश गाउँकै विद्यालयको कक्षा ८ र आकाश कक्षा ७ मा पढ्दैछन्।

जानकी मन्दिरमा नगरदर्शनदेखि रामकलेवासम्मको विधिमा हुने रामजानकी लिलामा आउने श्रद्धालु भक्तजनहरु यी दुवैलाई ढोग्ने गर्दछन्। ढोगेपछि दुवैले आशिर्वाद दिन्छन्। कतिपयले भगवान सम्झेर पैसा समेत चढाउने गर्छन्।

kumarisita6

तर श्रद्धालुका लागि ‘भगवान’ बन्ने प्रकाशका लागि भगवानको भूमिका गर्न सहज भने छैन। रामजानकी लिला एवं झाँकीमा दर्शकका अगाडि हिन्दीमा बोल्ने, अभिनय गर्ने, तर्क वितर्क समेत गर्नुपर्ने भएकाले सुरु सुरुमा भगवानको भूमिका खेल्न निकै असहज भएको प्रकाश सम्झिन्छन्।

‘भगवान बन्दा खुसी र रमाइलो लाग्छ’, रामको भूमिका निर्वाह गर्ने प्रकाश भन्छन्, ‘सुरुमा धेरै असहज महसुस हुन्थ्यो तर, अब सजिलो हुँदै गएको छ।’

सुरुमा निकै परिश्रम गर्नु परेपनि अहिले रमाइलो लाग्न थालेको अनुभव छ सीताको भूमिका गर्ने आकाशलाई। उनी भन्छन्, ‘आफुभन्दा ठुल्ठूला मानिस, नेता आशिर्वाद लिन आउँदा निकै रमाइलो लाग्छ।’

प्रकाश र आकाश रामलीला मंडली सञ्चालक श्रृंगारी महेन्द्र सरण व्यासको देखरेखमा भगवान बन्ने गर्छन्। दुवैलाई राम र सीताको रुपमा सुसज्जित गरी भगवान बनाउने र लिला गराउने महेन्द्रशरण यसका लागि निरन्तरको अभ्यास र परिश्रमको आवश्यक्ता पर्ने बताउँछन्।

kumarisita3

राष्ट्रपति र मुख्यमन्त्रीलाई आशिवार्द 
विवाहपञ्चमी मात्र होइन, अन्य दिनमा पनि जनकपुरको प्रसिद्ध नाट्य संस्था मिथिला नाट्यकला परिषद (मिनाप) ले प्रदर्शन गर्ने गिती नाटक जानकी लिलामा भगवान सीतारामको अभिनय गर्ने कलाकारको अनुभूति केही फरक छ।

जनकपुरकी पूजा ठाकुर जानकी लिला नाटकमा सीता अर्थात जानकीको भूमिका गर्छिन् भने जकपुरकै मुकेश ठाकुर रामको भूमिकामा हुन्छन्। यी दुवैसँग राष्ट्रपति विद्यादेवी भण्डारी, भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायतका विशिष्ट व्यक्तित्वहरुले फुलमालाले पूजा गरेर आशिर्वाद थापिसकेका छन्।

kumarisita9

मंसिर १३ गते भारतको अयोध्याबाट आएका साधुसन्त जन्तीलाई स्वागत गर्न जनकपुर आएकी राष्ट्रपति भण्डारीले बाह्रविघामा भएको जानकी लिला नाटक मञ्चनको क्रममा सीता बनेकी पूजा र राम बनेका मुकेशलाई फुलमाला तथा टीका लगाइदिएर आशिर्वाद लिएकी थिइन्। यस्तै करिब २ महिना अघि भारतको अयोध्यामा जानकी लिला नाटक मञ्चन गर्न जाँदा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सीतारामको अभिनय गरेका पूजा र मुकेशबाट आशिर्वाद थापेका थिए।

त्यसैले सीताको अभिनय गर्दा जीवनमा अपरा खुशी पाएको महशुस गरेकी छन्।

kumarisita5

‘म निकै भाग्यशाली छु की माता सीताको अभिनय गर्दा मलाई राष्ट्रपति विद्यादेवी भण्डारी र मुख्यमन्त्री योगी आदित्यनाथ जस्ता विशिष्ट व्यक्तित्वहरुले आरती र तिलक लगाउनु भयो’, पूजा भन्छिन्, ‘मैले जीवनका यी पलहरुमा पाएको अपार खुशी अविस्मरणीय रहने छ।’

जानकी मन्दिरका सह–महन्त रामरोशन दास भगवान रामसीताको भूमिका निर्वाह गर्नु गर्वको कुरा हुने बताउँछन्। तर निकै गम्भीरता र धैर्यता हुनुपर्ने भएकाले राम र सीताको भूमिका निर्वाह गर्ने काम सहज नरहेको उनको भनाइ छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .