ad ad

खेल


कीर्तिमानी स्ट्राइकर सावित्राको लक्ष्य : देशका लागि स्वर्ण, आफ्नो ५० गोल

कीर्तिमानी स्ट्राइकर सावित्राको लक्ष्य : देशका लागि स्वर्ण, आफ्नो ५० गोल

लक्ष्मी जि.सी
मंसिर २०, २०७६ शुक्रबार ५:३३,

महिला राष्ट्रिय टोलीकी उत्कृष्ट स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ नेपालका लागि महिला र पुरुष दुवैतर्फ सर्वाधिक अन्तर्रराष्ट्रिय गोल गर्ने खेलाडी बनेकी छन्।

१३औं दक्षिण एसियाली खेलकुद सागमा बिहीबार माल्दिभ्सविरुद्ध गोल गर्दै साम्बा नेपालकी सर्वाधिक गोलकर्ता बनेकी हुन्। उनले माल्दिभ्सविरुद्ध १८औं मिनेटमा गोल गर्दै अनु लामा (३५ गोल) लाई पछि पारेकी हुन्। पुरुषतर्फ नेपालका लागि सर्वाधिक १३ गोल हरि खड्का र निराजन रायमाझीले गरेका छन्।

सावित्राको त्यो ३६ औं अन्तर्राष्ट्रिय गोल थियो। नयाँ रेकर्ड कायममा मात्र सीमित नरहेर उनले सोही खेलमैं ३७औं र ३८औं अन्तर्रा्ष्ट्रिय गोल पनि गरिन्। उनले २२औं मिनेटमा दोस्रो र इन्जुरी समयमा तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरेकी हुन्। यसै सन्दर्भमा नेपालखबरले सावित्रा भण्डारी अर्थात साम्बासँग गरेको संक्षिप्त कुराकानीः

खेलको पहिलो गोलसँगै नेपालको सर्वाधिक अन्तराष्ट्रिय गोल गर्ने खेलाडी बन्नु भयो, कस्तो लागि रहेको छ?
खुसी लागेको छ। खेल पनि जितियो त्यसले गर्दा खुसी छु। अस्ति कै खेलमा हुनुपर्ने थियो तर राम्रो खेल्न सकिन। त्यो आजको खेलमा आएर मात्र सम्भव भयो।

पहिलो खेलमा यहाँले सोचेको जस्तो प्रदर्शन गर्न नसक्नु भएको हो ?
हो, त्यो म आफैले मैदानमा महशुस गरिरहेको थिएँ। सायद पहिलो दिन भएर पनि होला। म्याच बल पनि अघिल्लो दिन मात्र आइपुगेको थियो। खेल्न अलिक गाह्रै भयो।

तपाईंको एउटा सपना त पुरा भयो, अब नेपालका लागि कतिसम्म गोल गर्ने लक्ष्य छ?
अहिले गोल संख्याभन्दा पनि देशको लागि गोल्ड मेडल जित्ने मुख्य लक्ष्य हो। गोल्ड मेडल ल्याउन सके मेरो किर्तिमानले पनि सार्थकता पाउने थियो। तर गोल सँख्या कै कुरा गर्ने हो भने यही सागमा त कति गोल गर्छु भन्न सक्दिन तर ५० गोल गर्ने लक्ष्य लिएको छु। हेरौं कति सक्छु।

घरमा भन्नुभयो?
धेरै कुरा त हुन पाएन। आमासँग कुरा गरेको थिएँ, बुबासँग अहिलेसम्म कुरा हुन पाको छैन। घरमा सबैजना धेरै खुसी हुनुभएको छ।

देशकै लागि सर्वाधिक गोल गर्दा जुन खुसी तपाईमा देखिनुपर्ने हो, त्यो देखिएन नि?
पक्कै पनि, मेरो लागि स्वर्ण नै ठुलो सपना हो अहिले। देशको लागि स्वर्ण जित्न सके मेरो खुसी दोब्बर हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .