बाँकेको सीमावर्ती ग्रामीण क्षेत्रमा भारतले बनाएको अग्लो सडकका कारण नरैनापुरमा सयौं नेपालीका घर डुबानमा परेका छन्।
गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहका अनुसार दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेका हुन्।
बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहावपुर्वा, रोशनपूर्वालगायतका गाउँका अधिकांश घर डुबानमा परेका छन्। सय भन्दा बढी घर डुबेको र झन्डै एक दर्जन घर भत्किएको अध्यक्ष शाहले जानकारी दिए।
निर्माणाधीन हुलाकी राजमार्गमा पनि पानीले क्षति पु¥याएको छ। पुल, कल्भर्ट बनाइएका ठाउँमा पानीले बाटोको दुवैतिर कटान गरेको स्थानीयले बताएका छन्।
गाउँपालिकाको वडा नम्बर १ कट्कुइँयास्थित वडा कार्यालयमा समेत पानी पसेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए। घरहरूमा पानी पसेपछि गाउँपालिका अध्यक्ष शाह नेतृत्वको टोली उद्धारमा खटिएको छ।
अविरल वर्षापछि खहरे खोलामा आएको बाढी र आकाशे पानी घरहरूमा पसेको इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।
बाँकेमा आइतबार १६० दशमलव ८ मिलिमिटर वर्षा भएको हावापानी फिल्ड कार्यालय राँझाका निमित्त फिल्ड इञ्चार्ज पहलबहादुर विश्वकर्माले जानकारी दिए।
वर्षाले नेपालगञ्जको मुख्यबजार क्षेत्र घरबारीटोल, गणेशपुर क्षेत्र, बसपार्कलगायतका बजार क्षेत्र डुबानमा परेका छन्।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार डुबानबाट जनधनको क्षति नभए पनि जनजीवन प्रभावित भएको छ। (राससकाे सहयाेगमा)

प्रतिक्रिया