वर्षा गराउने मौसमी प्रणाली मनसुन देशैभर फैलिसकेको मौसमविद्ले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यही असार ५ गते (जुन २० तारिख) पूर्वी भेगबाट नेपालमा प्रवेश गरेको मनसुन क्रमशः मध्य भूभाग हुँदै सुदूरपश्चिमसम्मै फैलिएको हो।
आज (सोमबार) देशैभर आंशिकदेखि सामान्यसम्म मौसम बदली रही पूर्व र पश्चिमका केही स्थान र मध्यका थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार अहिले बिहान सुदूरपश्चिको तराई क्षेत्रमा भने पूर्ण बदली छ। त्यहाँ केहीबेरमै मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।
पूर्व र मध्य क्षेत्रमा भने दिउँसोदेखि मौसम बदली भई पानी पर्ने सम्भावना छ। मध्य क्षेत्रका केही स्थानमध्ये काठमाडौं उपत्यकामा पनि आज दिउँसो र राति वर्षाको सम्भावना रहेको उनले बताए।
‘हल्कादेखि मध्यमसम्म वर्षा हुने देखिन्छ,’ नेपालखबरसँग कुरा गर्दै मौसमविद् श्रेष्ठले भने, ‘आज त्यस्तो भारी वर्षाको सम्भावना भने छैन, हिजोको तुलनामा आज वर्षाको अनुपात केही कम हुने देखिन्छ।’
भारी वर्षा नभए पनि सुदूरपश्चिमको तराई क्षेत्रमा भने मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको उनले बताए। यस्तै देशभर हावाहुरी र चट्याङको सम्भावना नरहे पनि सुदूरपश्चिमको तराई क्षेत्रमा भने यसको पनि सम्भावना देखिएको उनले जानकारी दिए।
देशभर मनसुन सक्रिय भइसकेको भए पनि आगामी तीन दिनसम्मको अनुमानमा लगातार झरी हुने सम्भावना नरहेको मौसमविद् श्रेष्ठले बताए।
‘हामी तीन दिनसम्मको अनुमान गर्न सक्छौं,’ उनले भने, ‘यो अवधिमा त्यस्तो लगातार वर्षाको सम्भावना देखिन्न, रोकिँदै पर्दै गर्ने देखिन्छ।’
माैसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा सामान्यतया मनसुन जुन १० तारिखमा प्रवेश गर्छ। यस आधारमा यस वर्षको मनसुन १० दिन ढिला सुरु भएकाे हाे।
नेपालमा साधारणतया: जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ। उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८०% वर्षा हुने गर्छ।
यसरी SASCOF-14 मा आकलन गरिएअनुसार यस वर्षको मनसुनी वर्षा नेपालको प्रदेश १ , प्रदेश २ , प्रदेश ३ र प्रदेश ५ को केही पश्चिमी भू-भागमा औसत भन्दा कम वर्षा हुने अनुमान गरिएको छ भने बाँकी प्रदेशहरू गण्डकी, कर्णाली र सुदुर पश्चिममा औसत वर्षा हुने अनुमान महाशाखाकाे छ।

प्रतिक्रिया