ad ad

समाज


उपत्यकाको फोहोर दुई दिन नउठ्ने

उपत्यकाको फोहोर दुई दिन नउठ्ने

रासस
असार १४, २०७९ मंगलबार १५:१४, काठमाडौँ

सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ ।

नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनजानका लागि समस्या भएकाले आज र भोलि फोहोर लाने काम रोकिएको हो । सिसडोलदेखि दुई किलोमिटर पर बञ्चरेडाँडासम्म जान यसअघि थुपारिएको फोहोरको डङ्गुर पार गर्नुपर्ने बाध्यता छ ।  

वर्षाको समय सुरु भएसँगै फोहोर कुहिन थालेको छ । कुहिएको फोहोर माथिबाट आवतजावत गर्दा दुर्घटना हुने खतरा भएकाले कामपा वातावरण विभागले उपत्यकाबाट फोहोर लाने काम बन्द नै गरेर उक्त स्थानमा सफा गर्न लागेको जनाएको छ । कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार केही दिनदेखि नियमित परेको वर्षाका कारण समस्या आएको छ । निरन्तर परेको पानीले काठमाडौँदेखि अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म पुग्ने सडकमा समस्या आउँदा नियमित रूपमा सबै फोहोरका गाडी जान सकेका छैनन् ।   

सामान्य अवस्थामा प्रतिदिन ३०० सम्म फोहोरका गाडी बञ्चरेडाँडा पुग्ने गरेका थिए । बर्षाका कारण बाटो अवरोध हुँदा अहिले मुस्किलले १०० गाडीले मात्र फोहोर व्यवस्थापन हँदै आएको छ । हरेक वर्ष वर्षात्को समयमा नियमित पानी पर्न थालेपछि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य समस्या बन्दै आएको छ ।  

गत फागुनदेखि जेठ सम्ममा सिसडोल बञ्चरेडाँडाका स्थानीय र जनप्रतिनिधिले विभिन्न माग राख्दै अवरोध गर्दा काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहोर ४६ दिनसम्म व्यवस्थापन हुन नसक्दा उपत्यकामा दुर्गन्ध नै फैलिएको थियो । सिसडोल बञ्चरेडाँडा स्थानीयवासीको समस्यालाई समाधान गर्न केही दिनअघि स्थानीय र जनप्रतिनिधिसँग कामपाले १८ बुँदे सहमति गरी फोहोर व्यवस्थापनको काम नियमित गर्ने वातावरण बनेपनि बाटोको कारण सहज भने भएको छैन ।  

यसैबीच कामपाले आगामी साउन १ गतेदेखि स्रोतबाटै फोहोरको वर्गीकरण नगरे जरिवाना लाग्ने भन्दै सूचना जारी गरिसकेको छ । विभागका अनुसार फोहोर सङ्कलनका क्रममा पृथकीकरण नगरेको पाइए हरेक पटक रु पाँच सय जरिवाना गरिनेछ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .