समाज


सुन्दरी प्रतियोगिताकी किशोरी बलात्कार प्रकरण : मनोज पाण्डे पुर्पक्षका लागि थुनामा

सुन्दरी प्रतियोगिताकी किशोरी बलात्कार प्रकरण : मनोज पाण्डे पुर्पक्षका लागि थुनामा

नेपालखबर
असार ६, २०७९ सोमबार १७:१६, काठमाडौँ

काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपी मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

पाण्डेलाई मानव बेचबिखनको मुद्दामा डिल्लीबजार कारागार चलान गरिएको छ।

यस्तै, बाल यौन दुर्व्यवहारको मुद्दामा एक लाख रुपैयाँ धरौटी माग गरेको छ।

सुन्दरी प्रतियोगिताको आडमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै  एक किशोरीले भिडिओ सार्वजनिक गरेपछि उनी पक्राउ परेका थिए।

उनले गत जेठ पहिलो साता आफूमाथि सात वर्षअघि भएको यौन हिंसाबारे टिकटक र इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी थिइन्। 

किशोरीको उजुरीपछि पक्राउ परेका मनोज पाण्डेविरुद्ध दुईवटा अभियोगमा मुद्दा दर्ता गरिएको थियो।

सरकारी वकिलको कार्यालयका प्रमुख गंगाप्रसाद पौडेलका अनुसार पाण्डेविरुद्ध यौन दुर्व्यवहार र मानव बेचविखन दुईवटा अभियोगमा मुद्दा दर्ता गरिएको थियो। 

यौन दुर्व्यवहारमा तीन वर्ष र मानव बेचविखनमा १५ वर्षसम्म कैद सजाय माग गरिएको थियो।  जसमा अदालतले बाल यौन दुर्व्यवहारको मुद्दामा एक लाख रुपैयाँ धरौटी माग गरेकाे छ।

पाण्डेविरुद्ध त्यो अपरिचित व्यक्तिसँग पनि जबरजस्ती करणी गराई वेश्यावृत्ति गर्न बाध्य पारेको अभियोग थियो। तर ती व्यक्ति को थिए भन्ने आफूले नचिनेको किशोरीले पनि बताएकी थिइन्। 

पाण्डेले सौन्दर्य प्रतियोगिता भएको केही समयपछि ती किशोरी आफ्नो अफिसमा आएर मलाई शोषण भयो भनेको बयानमा बताए थिए। तर ती किशोरी माथि आफू र अन्य कसैले पनि यौन शोषण नगरेको दाबी पाण्डेले गरेका थिए। 

२०७१ सालमा भएको यो घटना जेठमा सार्वजनिक भएको थियो। घटना निक्कै पहिलेको हुँदा प्रहरीले अन्य प्रमाण जुटाउन सकेको थिएन। प्रमाणका रुपमा किशोरीले टिकटकमार्फत सार्वजनिक गरेका भिडियो संलग्न सिडी पेश गरिएको थियो। 

मनोजको कार्यालयमा फेला पारेको ल्यापटप परीक्षणका लागि प्रहरी प्रधान कार्यालय नक्सालमा पठाइएको थियो।  

यस्तै, घटनामा जोडिएका केही व्यक्तिसँग पनि प्रहरीले बयान लिएको थियो। अन्य व्यक्तिको बयानबाट पनि त्यतिबेला घटना भएको पुष्टि भएको छ। 

किशोरीले यसबारे तीनजना व्यक्तिलाई पहिल्यै जानकारी गराएको बताएकी थिइन्। प्रहरीले उनीहरुसँग पनि बयान लिएको थियो।

पूर्व मिस नेपाल माल्भिका सुब्बाले सौन्दर्य प्रतियोगिता भएको ३ महिनापछि किशोरीले आफूलाई फोन गरेर मनोजबारे कुरा गर्नुछ भनेको बताएकी छन्।

बयानमा उनले भनेकी थिइन्, ‘तत्काल म पारिवारिक अवस्था तथा मानसिक तनावमा रहेकाले अहिले म तपाईँसँग कुरा गर्न असक्षम भएकाले पछि कुरा गरौंला भनेको थिएँ। त्यसपछि कुनै कुरा भएको थिएन। घटना सार्वजनिक भइसकेपछि मैले सामाजिक सञ्जालमार्फत पनि आफ्नो धारणा बताइसकेको छु।’

यस्तै, सौन्दर्य प्रतियोगिताका फोटोग्राफर श्रीधर पौडेलको बयानले पनि त्यतिबेला घटना भएको पुष्टि गरेको थियो।

प्रतियोगिता भएको केही महिनापछि आफूलाई मोडल ग्लोबल भिषा कन्सल्टेन्सीबाट फोन गरी कन्सल्टेन्सीमा लफडा भएको जानकारी गराएपछि आफू पुग्दा किशोरी रुँदै, कराउँदै बसिरहेको देखेको पौडेलले बयानमा बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .