ad ad

समाज


जनप्रतिनिधि नै भन्छन् : सामुदायिक विद्यालयले छुट्टै सत्ता चलाए, सुधार्न सकिएन

जनप्रतिनिधि नै भन्छन् : सामुदायिक विद्यालयले छुट्टै सत्ता चलाए, सुधार्न सकिएन

फाइल तस्बिर


सुमन पुरी
असार ४, २०७९ शनिबार ८:३, विराटनगर

विराटनगर महानगरपालिका वडा नम्बर २ मा तीन वटा सामुदायिक विद्यालय छन्। तीमध्ये जनता नमुना र विराट महेन्द्र रात्रीमा माध्यमिक तहको पढाइ हुन्छ। शंकरपुरमा भने प्राथमिक तहको पढाइ हुन्छ।

यी तीन वटै विद्यालयमा भौतिक पूर्वाधारको कुनै कमी छैन। भवन, कक्षा कोठा, खेल मैदान, कम्प्युटर आदि यी तीनै विद्यालयमा पर्याप्त छन्। 

तीन वटै विद्यालयमा शिक्षकको पनि कमी छैन। तर तीन वटै विद्यालयमा विद्यार्थी भने न्यून छन्।  

जनता नमुनामा ६० जना विद्यार्थी रहेकोमा अहिले बढेर २ सय हाराहारी पुगेका छन्। महेन्द्र रात्रीमा १२० जना छन् भने शंकरपुरमा ६० जना विद्यार्थी छन्।  

सो वडाका अध्यक्ष हुन् कुमार पोखरेल। उनी दोहोरिएर वडा अध्यक्ष भएका हुन्। निर्वाचनका बेला उनले सामुदायिक विद्यालय बनाउने प्रतिबद्धता जनाए। तर उनलाई ५ वर्षमा विद्यालय बनाउन त के व्यवस्थापन समितिको बैठक राख्नै सकस पर्यो। 

‘जनता नमुना माध्यमिक विद्यालयमा समस्यै समस्या थियो। समस्या समाधान गर्न  व्यवस्थापन समितिको बैठक राख्न खोजेँ तर बैठक राख्न नै तीन वर्ष लाग्यो,’ उनले भने।

उनका अनुसार विद्यालयका प्रधानाध्यापकले व्यवस्थापन समितिको बैठक नै डाकेनन्। वडाअध्यक्ष पदेन सदस्य भए पनि प्रधानाध्यापकले बैठक नराख्दा तीन वर्षसम्म व्यवस्थापन समितिको बैठक बसेन।  

विद्यालयमा पठनपाठन नहुने र विवाद भएपछि महानगरले शिक्षक सरुवा गर्न पहल गर्यो तर अदालतले महानगरलाई हरायो शिक्षकलाई जितायो। अहिले पनि जनता नमुनाका शिक्षकले हालेको मुद्दा महानगरले खेपिरहेको छ। 

वडाअध्यक्ष पोखरेल भन्छन्, ‘महेन्द्र रात्रिमा सरकारले दिएको कम्युटर त प्रयोगमा ल्याऊ भनेर शिक्षकलाई भनेको वर्षौँ भयो प्रयोगमा ल्याइएको छैन। विद्यार्थीले त के शिक्षकले समेत कम्प्युटर खोल्दैनन्।’  

जीतेन्द्रकुमार साह विराटनगर वडा नम्बर  १८ का नवनिर्वाचित वडाअध्यक्ष हुन्। उनी स्वतन्त्र स्वतन्त्र हुन्। निर्वाचनका बेला उनले पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने प्रतिबद्धता जनाए। 

उनको वडामा ५ वटा आधारभूत विद्यालय छन्। मधेशी र पछाडि पारिएको समुदायको बाहुल्यता रहेको सो वडामा उनले विद्यालयलाई निजी स्कुलसरह बनाउने बचन मतदातालाई दिए।

निर्वाचन जितेपछि उनले विद्यालयका सबै विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिलाई बोलाए। तर तीन वटाका मात्रै उनीसँग छलफलका लागि आए। २ वटा विद्यालयका आउँदै आएनन्। 

विद्यालयमा विद्यार्थीको संख्या न्यून छ। अहिले भौतिक पूर्वाधार लथालिङ्ग छ। जनता आधारभूत विद्यालय, जनता विद्यालय र राम आधारभूत विद्यालयमा झ्यालढोका नै चोरी भएका छन्। तर, त्यसलाई समाधान गर्न शिक्षक र व्यवस्थापन समितिले अवरोध गरेको साहले बताए।

‘राजनीतिका कारण व्यवस्थापन समितिको असहयोग छ। व्यवस्थापन समिति र शिक्षकले समस्या सिर्जना गरेका छन्,’ उनले भने, ‘निर्वाचनका बेला भनेजस्तो विद्यालय सुधार गर्न सहज रहेनछ।’

पूर्वाधार माग्न आउँछन्, बैठकमा आउँदैनन् 
विराटनगर महानगरपालिका वडा नम्बर ८का वडाअध्यक्ष राम पोखरेल निर्वाचित भएको लामो समय भएको छैन। तर उनले तीन वर्ष प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयमा काम गरे। 

पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरेको स्वकीय भएर काम गरेका पोखरेललाई वडाध्यक्ष भएँ भने विद्यालय राम्रो बनाउँछु भन्ने लागेको थियो। 

प्रदेश सरकारले आवश्यक भौतिक पूर्वाधार पठाएको थियो। उनको वडामा रहेका विद्यालयमा शिक्षकहरु पनि पर्याप्त थिए। ज्ञानशिक्षा, महेन्द्र मावि भौतिक पूर्वाधारमा राम्रो छ। ती विद्यालयको नाममा रहेको जग्गा पनि भाडामा लागेको छ। 

भौतिक पूर्वाधार राम्रो भए पनि ज्ञानकुञ्जमा विद्यार्थी कम छन्। निर्वाचित भएपछि उनले विद्यार्थी भर्ना अभियान सुरु गर्न भने। तर, विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिले टेरेनन्। 

‘शिक्षक र व्यवस्थापन समितिलाई विद्यालय बनाउन मन नलागेको देखियो। पटकपटक सँगै जाऊँ भनियो तर मानेनन्। तर भवन र बजेटका लागि भने माग हुने गरेको छ। भौतिक पूर्वाधारका लागि दबाब छ तर गुणस्तरका लागि दबाब दिँदा भने उनीहरु सुन्दैनन्,’ उनले भने।

विद्यालयको आफ्नै ‘सत्ता’ 
विराटनगर महानगरपालिकाका ७६ वटा सामुदायिक विद्यालय छन्। तीमध्ये ६ वटा जति विद्यालयमा विद्यार्थीको चाप अत्याधिक छ। तर अरु विद्यालयमा भने समस्या नै समस्या छ। समस्या समाधान गर्नका लागि वडा अध्यक्षहरुले पहल थाले पनि विद्यालयमा रहेको समानान्तर सत्ताले सुधार नभएको वडाध्यक्षहरु बताउँछन्। 

स्थानीय तह अन्तर्गत माध्यमिक विद्यालय आएको भनिए पनि शिक्षक सरुवा गर्न अधिकार नहुँदा समस्या भएको वडाध्यक्षहरुले बताए। 

विराटनगर महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष हिरालाल कामतले विद्यालयमा समानान्तर सत्ता रहेको बताए। विद्यालयको सत्ता अर्कै छ। न हामीले भनेको मान्छन्, न उनीहरु आफैँ विद्यालय सुधारमा लाग्छन्। 

प्रधानाध्यापक र व्यवस्थापन समितिका बीचमा मिलेमतो हुने गरेको र सोही मिलेमतोका आधारमा विद्यालयमा सुधार आउन नसकेको बताए।

उनी वडाअध्यक्ष हुनुभन्दा अगाडि तीन कार्यकाल एउटा विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष थिए। उनले विद्यालयको भौतिक पूर्वाधार त सुधारे तर सिकाइ उपलब्धी भने सुधार गर्न सकेनन्। 

उनी भन्छन्, ‘काम नगर्ने शिक्षकलाई सरुवा गर्ने अधिकार नहुँदा समस्या छ। मिलेमतोमा शिक्षक सरुवा हुने गरेको छ। यसमा महानगरको भूमिका नै छैन।  उनले विद्यालय शिक्षा सुधार गर्ने हो भने अधिकार वडालाई दिनु पर्छ। विद्यालय व्यवस्थापन समितिले विद्यालय सुधारको कुरा गर्नेबित्तिकै कामै नगर्ने चलन छ।’

वडाध्यक्ष राम पोखरेल शिक्षकको सरुवालगायतको अधिकार स्थानीय तह मातहतमा नआएसम्म विद्यालय राम्रो हुन समय लाग्ने बताउँछन्। 

अहिले फर्जी विद्यार्थी देखाएर अनुकूलको शिक्षक राख्ने गरिएको छ। कोही शिक्षक परिवर्तन गर्ने खालको आयो भने रातारात हटाउन समितिहरु लाग्ने गरेका छन् विद्यालय शिक्षाको सुधार गर्ने हो भने यो काम वडाको अधिकार क्षेत्र भत्र आउनु पर्छ,’ उनले भने। 

विराटनगनर महानगरपालिका वडा ३ का अध्यक्ष वासु बस्नेत शिक्षकहरुले जनप्रतिनिधिले भनेको नमान्ने बताए। उनका अनुसार शिक्षक, व्यवस्थापन समितिमा हुने राजनीतिका कारण विद्यालयको सुधार हुन सकेको छैन।

वडा नम्बर ११ मा २ वटा सामुदायिक विद्यालय छन्। त्यही वडाका अध्यक्ष हुन् तिर्थेन्द्र न्यौपाने। उनी पनि यस पटक दोहोरिएका अध्यक्ष हुन्।

सरकारले माध्यमिक तहको शिक्षा स्थानीय तह अन्तर्गत राखेपछि विद्यालयको सुधार गर्ने जिम्मा जनप्रतिनिधिकोमा आयो तर तिर्थेन्द्रले चाहेर पनि विद्यालय सुधार गर्न सकेनन्। उनले आफू आएपछि पहिलाकोे तुलनामा जनपथ माध्यामिक विद्यालयमा सुधारको काम भएको बताए। तर उत्कृष्ट विद्यालय बनाउन नसकेको उनको गुनासो छ। किन त? 

‘शिक्षकहरु राजनीतिमा लागेका छन्। उनीहरुलाई काममा लगाउन सकिएको छैन,’ उनले भने। 

राजनीतिमा लागेको दुई जना शिक्षकलाई पार्टीबाट राजीनामा दिन लगाएको उनले बताए। आफू निकटकै पार्टीका सदस्य भएका कारण उनले दुई जनाको राजीनामा गराए तर अरु पार्टीमा लागेका शिक्षकलाई उनले राजीनामा गराउन सकेनन्।

‘३५० जना विद्यार्थी रहेको विद्यालयमा १८ जना शिक्षक छन् तर विद्यार्थीको सिकाई उपलब्धी राम्रो छैन,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .