प्रहरी र भन्सार कार्यालयका कर्मचारी बिहीबार करिब साढे १० बजे नेपाल एयरलाईन्सबाट ओर्लिएका दुई विदेशी नागरिकका गतिविधि नियालिरहेका थिए। उनीहरु दुबैजना हङकङबाट काठमाडौं ओर्लिएका थिए।
दुबै चिनियाँ नागरिक जब धातु शून्य (मेटल फ्रि) का लागि वाक थु्र डोरबाट छिरे। त्यहाँको साइरन बज्न थाल्यो। भन्सारका कर्मचारीले आफुसँग भएका धातु बाहिर राखेर फेरि प्रवेश गर्न भन्यो। अर्को पटक पनि साईरन बज्न छोडेन।
भन्सार र प्रहरीले दुबैलाई छेउका जाँच कक्षमा ल्याए। सुरुमा उनीहरुको शरीरका अन्य भागमा जाँच गरियो। केही भेटिएन। अब भने प्रहरी कर्मचारीले उनीहरुका भित्री बस्त्र जाचे। त्यहाँ केही धातु जस्तो बस्तु थियो। उनीहरुलाई लुगा फुकाउन लगाएर हेर्दा विशेष प्रकारका कट्टुमा आठ किलो सुन लुकाएको फेला पर्यो।
विमानस्थल प्रहरीका अनुसार उनीहरुले लगाएको भित्री बस्त्रमा विशेष किसिमले पकेट बनाइएको थियो। उनीहरुको नेपाल भ्रमण नै सुन तस्करीका लागि थियो।
काठमाडौंमा ८ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन्।
हङकङबाट काठमाडौं आएका चेन छिन्जुवङ र चेन किघुवाङ ८ किलो सुनसहित पक्राउ परेका हुन्।
दुवै चिनियाँ नागरिकलाई महानगरीय प्रहरी वृत्त गौशालामा लगिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया