ad ad

समाज


सेयर कारोबारी बने बैंक लुटेरा, ठूलो दुर्घटना टर्‍योः प्रहरी

सेयर कारोबारी बने बैंक लुटेरा, ठूलो दुर्घटना टर्‍योः प्रहरी

दीपक खरेल
मंसिर ११, २०७६ बुधबार १२:२४,

काठमाडौं प्रहरीको हिरासतमा रहेका ६ युवा सोमबार अपरान्हसम्म विद्यार्थी र सेयर कारोबारी थिए। तर सोमबार साँझदेखि उनीहरुको परिचय फेरिएको छ, त्यो हो– बैंक लुटेरा गिरोह।

उनीहरुका साथबाट ठूलो मात्रामा बरामद बैंकका कागजपत्र, चेकबुक, नागरिकताको प्रतिलिपी र विभिन्न व्यक्तिको फोटोले यो समूह लुटपाटको ठूलो योजनामा रहेको प्रस्ट्याउँछ। तर, उनीहरु पहिलो ‘टार्गेट’ मै पक्राउ परे।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले यो समूह हुण्डी कारोबार, रकम लेनदेन र सेयर कारोबारमा संलग्न रहेको बताउँछन्। यो समूह समयमै पक्राउ परेकाले बैंकिङ क्षेत्रमा ठूलो दुर्घटना टरेको उनको भनाइ छ।

‘यो समूह लुटपाटको ठूलो योजनामा रहेको देखिन्छ,’ एसएसपी सुवेदीले नेपालखबरसँग भने, ‘तर, समयमै पक्राउ परे। हाल खुलेका घटनाबाहेक अन्य बैंकबाट समेत रकम निकालेको हुनसक्छ, हामी अनुसन्धान गरिरहेका छौं।’

प्रहरीका अनुसार पक्राउ परेका हाल कालीमाटी बस्दै आएका काभ्रेपलाञ्चोक पाँचखालका सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, बाग्लुङ गलकोटका हाल बुद्धनगर बस्ने सुमन पौडेल र सिन्धुपाल्चोकका हाल सुविधानगर बस्ने गोविन्द घिमिरेले विभिन्न बैंकमा खाता खोली अरुको हस्ताक्षर नक्कल गरी लाखौँ रुपैयाँ निकाल्ने गरेका थिए।

प्रहरीका अनुसार सुविधाजनक घरमा बस्ने, नयाँ मोटरसाइकल र मोबाइल किन्ने तथा सेयर कारोबार गर्ने यो समूह मोजमस्तीका लागि लुटेरा बनेको थियो। प्रहरीले पक्राउ परेका ६ जनाकै डेरामा खानतलासी गरी बरामद कागजपत्र अध्ययन गरिरहेको छ।

परिसरका अनुसन्धान शाखा प्रमुख डीएसपी होविन्द्र बोगटीका अनुसार यो समूहका नाइके अन्जन बरालले आइतबार जनता बैंकको ग्वार्को शाखाबाट ग्राहक गोपाल राजबाहक नामको चेक बुक लिएका थिए। उनका अनुसार सामान्य लेखपढ गर्न जानेका निर्माण व्यवसायी राजबाहकको खाताबाट रकम निकालेपछि यही समूहले फोन गरी मोबाइल स्विच अफ गर्न समेत भनेको थियो।

राजबाहकको हस्ताक्षर र उनले एसएमएस बैंकिङ सेवा लिएको जानकारी यो समूहले कसरी पायो त? प्रहरी अधिकारीहरु यसमा बैंकका कर्मचारीको संलग्नता रहेको बताउँछन्।

डीएसपी बोगटीले जनता, एनाआईसी र मुक्ति विकास बैंकका कर्मचारी समेत अनुसन्धानको दायरामा रहेको बताए।

अभियुक्तहरुले बैंकमा खाता रहेका व्यक्तिको चेकमा रहेको हस्ताक्षर चोरी, सोही व्यक्तिको नाममा चेक हराएको निवेदन समेत दिएर नयाँ चेक बुक लिने गरेको अनुसन्धानमा खुलेको थियो।

‘हामीले ठूलो परिमाणमा कागजपत्र बरामद गरेका छौं। यो ठूलो गिरोह हो, थप अनुसन्धान भइरहेको छ,’ महानगरीय प्रहरी परिसर टेकुमा पक्राउ परेकाहरुलाई सार्वजनिक गर्दै उनले भने, ‘१८ वटा बैंक शंकाको घेरामा छन्। बैंकको मिलमतो नभई यो घटना सम्भव छैन।’

धेरै व्यक्तिको नाममा रहेका खाताको सयौँ थान सक्कली चेक बनाउन सफल देखिएकाले ती खाताबाट भिसा कार्ड बनाई प्रयोगमा समेत देखिएको उनले जानकारी दिए। यसमा सम्बन्धित बैंकका कर्मचारीहरुमाथि गहन अनुसन्धान हुने बोगटीले बताए।

72921771 501277580597586 920394461987471360 n

मंसिर ८ को राति जनता बैंकका खातावाल राजबाहकले आफ्नो खाताबाट पटक पटक गरी १९ लाख नौ हजार रुपैयाँ निकालेको मोबाइल मेसेज आएको तर आफूले चेक कसैलाई नदिएको सूचना प्रहरीलाई दिए। त्यसपछि प्रहरीको विशेष टोलीले सम्बन्धित बैंक तथा राष्ट्र बैंकका उच्च पदाधिकारीहरुसँग छलफल गरी पीडितको खाता तत्काल चेक गर्दा नक्कली चेकबाट पैसा निकालिएको फेला परेको प्रहरीले जनाएको छ।

खोजतलासका क्रममा मंसिर ९ मा पीडितको खाताबाट पैसा निकाल्न पुनः चेक लिएर पैसा झिक्न जनता बैंक न्युरोड शाखा पुगेका एक व्यक्ति पक्राउ परेका थिए।

सोही दिन अन्य व्यक्ति पनि पक्राउ परेका थिए। उनीहरुको साथबाट १८ लाख ५० हजार नगद, २ सय ९० वटा नागरिकताको फोटोकपी, विभिन्न व्यक्तिको नाम र रकम उल्लेख भएको रजिस्टार २६ थान, दुईवटा हस्ताक्षर नमूना भएको डायरी, अन्य व्यक्तिको नाममा खाता खोल्न फोटो टाँसेको तीन सय थान फारम र एक सय ९५ जनाको बैंक स्टेटमेन्ट पनि बरामद भएको छ।

त्यस्तै, जनता बैंकबाट विभिन्न व्यक्तिको नाममा जारी भएको नकाटिएको अवस्थाको १६ वटा चेकबुक, काटिएको अवस्थाको ४१ वटा चेकबुक, ज्योति विकास बैंकबाट अन्जन बरालको नाममा जारी भएको एउटा चेकबुक, एभरेस्ट बैंकबाट विभिन्न व्यक्तिको नकाटिएको २० थान चेकबुक, काटिएको ३ थान चेकबुक समेत बरामद भएको छ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा राखी बैंकिङ कसुर सम्बन्धी सात दिने म्याद पाटन उच्च अदालतबाट लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .