समाज


नवलपुरमा पनि नाबालिगले बयान फेरिन् : पल शाह अभिभावक, रिसोर्ट मालिककी छोरीसँग सुतेकी थिएँ

नवलपुरमा पनि नाबालिगले बयान फेरिन् : पल शाह अभिभावक, रिसोर्ट मालिककी छोरीसँग सुतेकी थिएँ

फाइल तस्बिर


नेपालखबर
बैशाख ७, २०७९ बुधबार १८:७, काठमाडौँ

अभिनेता पल शाहविरुद्ध बलात्कार आरोपसहित मुद्दा अघि बढाएकी नाबालिग गायिकाले नवलपरासी पूर्वमा पनि बयान फेरेकी छन्। 

बुधबार नवलपुर अदालतमा बकपत्रका क्रममा उनले आफूमाथि करणी नै नभएको बयान दिँदै होस्टाइल भएकी हुन्। 

२०७७ चैत ७ गते गैँडाकोटको एक रिसोर्टमा ती गायिकामाथि शाहले जबरजस्ती करणी गरेको भन्दै गत फागुन १५ गते जाहेरी दर्ता भएको थियो। 

तर, आफ्ना बुवामार्फत दर्ता गरिएको त्यस जाहेरीमा लगाइएको आरोप झुटो भएको उनले अदालतमा बयान दिएकी हुन्। 

‘म रिसोर्ट सञ्चालककी छोरीसँग सुतेकी थिएँ। पलले मलाई करणी गरेका होइनन्। उनी त मेरा अविभावक हुन्’, बुधबार अदालतमा बकपत्रका क्रममा उनले भनिन्, ‘त्यो रात मेरो कोठामा पल शाह आएका होइनन्। करणी गरेका पनि छैनन्। सबै झुटो हो। हाम्रोबीचमा नराम्रो सम्बन्ध छैन।’

नाबालिगले पल शाहले त्यस रात रक्सी पिए नपिएको पनि आफूलाई थाहा नभएको बताएकी छन्। नवलपुर अदालतमा बुधबार नाबालिगको मात्रै बकपत्र सकिएको छ। 

नाबालिगको बकपत्र गराउँदा पल शाहलाई पनि अदालतमा उपस्थित गराइएको थियो। कारागार कार्यालय तनहुँमा रहेका शाहलाई बुधबार बिहान पूर्वी नवलपरासी लगिएको थियो।

बाँकी साक्षी र जाहेरवालाको बयान भोलिबाट हुने अदालत स्रोतले जानकारी दिएको छ। यसअघि तनहुँ जिल्ला अदालतमा पनि उनले बयान फेरेकी थिइन्। 

त्यहाँ पनि आफूमाथि करणी नभएको उनको पछिल्लो बयान छ। जाहेरवाला पीडितका बुबाले पनि पल शाह निर्दोष रहेको बताउँदै आफूले दबाबमा परेर जाहेरी दिएको बयान दिएका छन्। 

पल शाहविरुद्ध तनहुँ र गैँडाकोटमा बलात्कारको आरोपमा मुद्दा दर्ता छ। यसअघि थुनछेक आदेशमा भने पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न दुवै जिल्लाका अदालतले आदेश दिएका छन्।

पलविरुद्ध २०७८ वैशाख १४ गते तनहुँमा नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा फागुन ११ गते ती बाबुले जाहेरी दर्ता गराएका थिए। 

त्यसपछि गत फागुन १५ गते आफैं तनहुँ प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका शाहविरुद्ध अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .