बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाहविरुद्धको मुद्दामा जिल्ला अदालत तनहुँमा थुनछेक बहस भइरहेको छ।
प्रमुख जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासमा बुधबार बहस सुरु भएको हो।
बहस नसकिएकाले आज बिहीबार पनि जारी रहनेछ। बहस सकिएपछि अदालतले पललाई धरौटीमा रिहा गर्ने कि पुर्पक्षका लागि थुनामा पठाउनेबारे निर्णय सुनाउने छ।
यसैबीच पल शाह प्रकरणमा जोडिएका गायक कमल खत्रीसँग पनि प्रहरीले बयान लिएको छ।
तनहुँमा नाबालिक गायिकालाई बलात्कार गरिएको भनिएको रात गायक खत्री पलसँगै सुतेका थिए। तर आफू पहिले सुतेको र पल राति कतिबेला आफूसँग आएर सुते भन्ने थाहा नभएको उनले बयानमा बताएका छन्।
यस्तो छ कमल खत्रीको बयान :
म विगतदेखि कलाकारिता (गायन) क्षेत्रमा रहेको र पीडित तथा प्रतिवादी पनि कलाकारिता क्षेत्रमा काम गर्ने हुँदा चिनजान भएको हो। मैले रचना गरी संगीत दिई म आफैंले गाएको फिका फिका बोल गितको म्युजिक भिडिओको मोडल भूमिकामा रहेका प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाह समेतको सुटिङ टोली काठमाडौंबाट मिति २०७८/०१/१३ गते पोखरा गई सुटिङ गरी बाँकी भागको सुटिङ गर्न प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडा बस्ने प्रदीप थापासँग फोन सम्पर्क गरी दुलेगौडामा सुटिङ गर्ने भनी हामी सुटिङ टोली पोखराबाट दुलेगौडा आउने तरखरमा रहँदा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले फोनमा कुरा गर्दै गरेको आफ्नो मोबाइल मलाई दिई पीडितसँग कुरा गर्नु भनेकाले र पीडितले भोलिबाट कास्कीमा लकडाउन हुने भयो, म पनि तपाईंरूसँगै काठमाडौं जान्छु भनेकीले पीडितसहितको सुटिङ टोली साँझ मिति २०७८/०१/१४ गते साँझ पीडित नाबालिका, प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाह, जुरी ठाकुर र मसमेत चार जना प्रदीप थापाको घरमा बास बस्ने क्रममा घरधनी प्रदीप थापाले पीडित नाबालिकालाई छुट्टै कोठामा, प्रतिवादी र मलाई एउटा कोठामा तथा जुरी ठाकुरलाई हलमा सुत्ने व्यवस्था गरी दिएकोले सबै जना सँगै खाना खाई म, राति अन्दाजी साढे ११ बजेतिर कोठामा गई सुतेको थिएँ। प्रतिवादी राति कति बेला आएर मसँगै सुते मैले थाहा पाइनँ।
Shares

प्रतिक्रिया