अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका–३ फिस्लिङको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आइतबार एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–५ घर भएका २८ वर्षीय राम कँडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनी नेपाली सेनाको बर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत रहेका थिए।
कार्यालयका अनुसार चौकी भवनको बरण्डाबाट भाग्ने क्रममा हामफाल्दा उनी गम्भीर घाइते भएका थिए। घाइते कँडेलको उपचारका क्रममा आइतबार बिहान भरतपुर अस्पतालमा मृत्यु भएको हो।
कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार घटनाको अनुसन्धानका लागि दुई जना प्रहरीलाई नियन्त्रणमा लिइएको छ। कँडेल बिहान ७ः३० बजे बरण्डाबाट हामफालेका थिए।
घर बिदामा आएको समयमा मादक पदार्थ सेवन गरी प्रहरीसँग भनाभन परेपछि उनलाई आजै बिहान प्रहरीले पक्राउ गरेको थियो। इच्छाकामना मेला भरेर बिहान सबेरै फर्कने क्रममा महिलाहरुमाथि दुव्र्यवहार गर्न खोजेपछि सम्झाएका प्रहरीसँग भनाभन भएपछि उनलाई नियन्त्रणमा लिइएको थियो। चौकीका एक प्रहरी शौच गर्न गएका समयमा अर्का प्रहरीलाई धकेलेर उनी हामफालेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया