पर्वतको कुश्मा नगरपालिका-४ जिरो किमीकी एक सुत्केरी महिलाको दुवै मिर्गौला फेल भएको छ।
यही कात्तिक १७ गते गण्डकी अस्पताल पोखरामा शल्यक्रियामार्फत बच्चा जन्माएकी स्थानीय २३ वर्षीया विशाका परियारका दुवै मिर्गौला फेल भएको हो। शल्यक्रिया गरेर बच्चा निकालेको १८ घण्टासम्म पनि पिसाब नभएपछि मिर्गौलामा खराबी भएको आशङ्कामा परीक्षण गर्दा दुवै मिर्गौलाले काम नगरेको पाइएको विशाकाकी जेठानी सविता परियारले बताइन्।
गत कात्तिक ६ गते विशाकाको जिल्ला अस्पताल पर्वतमा गर्भ परीक्षण गर्दा बच्चा जन्माउने मिति कटिसकेकाले धौलागिरि अञ्चल अस्पताल बागलुङमा ‘रिफर’ गरिएको थियो।
त्यो अवस्थामा चिकित्सकले बच्चा जन्माउनका लागि दिएको मिति कटिसकेको थियो । यही कारण बागलुङ अस्पतालले शल्यक्रियामार्फत बच्चा निकाल्न सुझाव दिँदै पोखरा रिफर ग¥यो।
कात्तिक १७ गते गण्डकी अस्पतालमा शल्यक्रिया गरेर विशाकाको पेटबाट छोरी निकालियो। तर शल्यक्रिया गरेको २४ घण्टासम्म पिसाब भएन।
उनको शरीर र पेट पूरै फुल्दै गएपछि मिर्गौलामा खराबी भएको हुनसक्ने अनुमान गर्दै भिडियो एक्स–रे गरेर हेर्दा दुवै मिर्गौला फेल भएको देखिएको थियो।
अहिले उनको अवस्था जटिल बन्दै गएको छ । उनको अहिले सोही अस्पताल सघन उपचार कक्ष (आइसियु) मा भर्ना गरेर उपचार भइरहेको छ।
आमाको दुवै मिर्गौला फेल भएपछि पोषिलो दूध चुस्नुपर्ने नवजात शिशुको बिचल्ली भएको छ। बच्चालाई सङ्क्रमण हुनबाट जोगाउनका लागि आमासँग राख्न नमिलेको विशाकाकी जेठानी सविताले बताइन्।
विशाका १३ दिनदेखि अस्पतालको आइसियुमा नै राखिएकी छन्। एक÷एक दिनको अन्तरमा उनका मिर्गौलाको डायलाइसिस गर्नुपरेको परिवारले जनाएको छ। उनको उपचारका लागि अहिलेसम्म एक लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको सविताले बताइन्।
चिकित्सकहरूले कम्तीमा पनि तीन हप्तासम्म डायलिसस गरिरहनुपर्ने बताएका छन् । सविताका अनुसार विशाकाको शरीर फुलेकाले नसाहरूमा राम्रोसँग रक्तसञ्चार भइरहेको छैन।
उनको शरीरमा रगत परिवर्तन गरेर मिर्गौलाको समस्या ठीक पार्नुपर्ने अवस्था रहेको डाक्टरले बताएका छन्। रक्तनलीको समस्याका कारण हातबाट दिइएको रगत सञ्चार नभएपछि घाँटीको नसामा प्वाल पारेर त्यहीँबाट रगत दिइएको छ।
डायलाइसिसबाट पनि मिर्गौलाको समस्या समाधान नभएमा उनका दुवै मिर्गौला फेर्नु एउटै मात्र विकल्प रहेको चिकित्सकहरुले बताएका छन्।
तर मिर्गौला दिनका लागि मान्छे पाउनै पनि समस्या रहेको सविताले बताइन्। शल्यक्रिया गरेर निकालिएकी पहिलो सन्तान छोरीको विशाकाले मुख देख्नसमेत पाएकी छैनन्।
आमाको दूध खान नपाएकै कारण छोरी रातभर रुने गरेकाले आफूले काखमा राखेर सुमसुम्याउँदै भुलाउने गरेको उनको भनाई छ। विशाकाका श्रीमान् विनय परियार कुस्मा बागलुङ चल्ने बसमा सहयोगीको काम गर्छन्।
अन्य आयआर्जनको बाटोसमेत नहुँदा मृत्यु कुर्नुबाहेक अरू विकल्प नभएको सविताको दुःखेसो छ। विशाकाका ससुरा पदम परियारसमेत अपाङ्ग छन्।
विशाकाकी जेठानी सविताले आमा र छोरी दुवैलाई बचाउनका लागि सहयोगको आग्रह गर्दै जिल्लाका विद्यालयदेखि हरेक ठाउँ चहारिरहनुभएको छ।
देउरानी र छोरी दुवैलाई बचाउनकै लागि आर्थिक सहयोग चाहिने भएपछि सविताले जिल्लाका विभिन्न ठाउँमा सहयोग माग्दै हिँड्न थालेकी छन्।

प्रतिक्रिया