सामान आयातका लागि रसुवागढी जाने सबैखाले सवारी साधन मैलुङतर्फको राजमार्गमा केन्द्रित हुन थालेका छन्।
रसुवा ट्राफिक इन्चार्ज शिवप्रसाद भट्टराईका अनुसार वर्षा कम हुँदा गत भदौ ३१ गते पुनः सञ्चालनमा आएको बेत्रावती, मैलुङ, स्याप्रुबेसीतर्फको राजमार्ग क्रमशः सहज हुन थालेपछि धुन्चे हुँदै केरुङ जाने सबैखाले मालवाहक सवारी साधन बेत्रावतीदेखि मैलुङतर्फ रहेको नयाँ राजमार्गबाट आवतजावत गर्न थालेका हुन्।
दैनिकरूपमा सयौँ सवारी साधन गुड्ने नदी किनाराको राजमार्गमा सुरक्षा जाँचका लागि मैलुङमा सुरक्षा चौकी स्थापना भइसकेको छ।
गल्छी, त्रिशूली, बेत्रावती, मैलुङ, स्याफ्रुबेँसी सडक सुधार आयोजनाले धादिङको गल्छीदेखि नुवाकोटको शान्ति बजारसम्म सडक सुधार गर्ने काम धमाधम अगाडि बढाइरहेको र अधिकांश ठाउँका राजमार्ग फराकिलो पारिसकेकाले हिउँदयाममा सवारी साधन गुडाउन हुँदै गएको सवारी चालक रामचन्द्र पुडासैनीले बताए।
गल्छीदेखि त्रिशूली, बेत्रावती, धुञ्चे हुँदै स्याफ्रु, रसुवागढीसम्म पुग्न १०३ किलोमिटर दूरी पार गर्नुपर्ने हुन्छ। तर, बेत्रावतीबाट त्रिशूली र भोटेकोशीको किनार हुँदै रसुवागढी पुग्न २५ किमी दूरी कम छ।
यसले सवारी साधनमा खपत हुने इन्धनको कमी र अर्कोतर्फ बिना घुम्तीको सिधा राजमार्ग भएका कारण केरुङबाट सामान बोकिआएका मालवाहक सवारी साधन गुडाउन सहज भएको हो।
बेत्रावतीदेखि मैलुङ हुँदै रसुवागढीतर्फ मालवाहक सवारी साधन गुड्न थालेपछि धुञ्चेतर्फको पासाङल्हामु राजमार्गमा सुनसान बढ्दै गएको धुञ्चेका व्यवसायीले बताएका छन्।
टाटासुमो जीपलगायत नियमित यात्रुवाहक सवारी साधन र गोसाइँकुण्ड जाने पर्यटकीय सवारी साधनबाहेक अन्य सवारी साधन धुञ्चेतर्फ नआउँदा व्यापार–व्यवसायमा समेत मन्दी हुँदै गएको स्थानीय युवा राहुल झाले बताए।
गाउँगाउँमा स्थानीय तहले निर्माण गरेका ग्रामीण सडकसमेत वर्षायामपछि पुनः सञ्चालनमा आएका छन्। खाद्य सामग्री मोटरले गाउँका घरआँगनमा पु¥याउन थालेपछि बेत्रावती तथा कालिकास्थानको बजारमा समेत व्यापार–व्यवसायमा कमी आएको स्थानीयवासी पुरोहित टङ्कप्रसाद ढकालले जानकारी दिए।
रसुवामा २०४२ सालमा नुवाकोटको त्रिशूलीबाट सोमदाङसम्म १०५ किमी सडक निर्माण भएपछि सदरमुकाम मात्र केन्द्रित बस सेवा अहिले गाउँगाउँमा समेत केन्द्रित हुन थालेको छ।
दक्षिणी रसुवाको डाडागाउँ, ठूलोगाउँ, सिम्ले–भोर्ले, पारच्याङ, यार्सा, धारापानी, रुपसेपानी, भदौरे, कालिकास्थान, जीवजिवे, सरसिंउ, आरुखर्क, ठूलोभोर्ले, चित्ती, लोकिल, लाङबु, सिङबन्दी, थाङदोर, मनिगाउँ एवं उत्तरी रसुवाको ठूलोस्याफ्रु, बृद्धिम, थुमन, ग्रे गाउँसमेतका क्षेत्रमा ग्रामीण मार्ग निर्माण भई सवारी साधन गुड्न थालिसकेका छन्।
कतिपय स्थानमा नियमित बस सेवासमेत सञ्चालन भइसकेको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए।
नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्पु साङ्वो घलेका अनुसार उक्त गाउँपालिकामा ६८ किमी ग्रामीण सडक निर्माण भइसकेको छ।

प्रतिक्रिया