तनहुँको भानु नगरपालिका-१ जामुनेगैह्रास्थित जङ्गलमा राखिएको काठको खोर (पासो) मा एउटा नरभक्षी चितुवा परेको छ।
भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिकालाई आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि बनाइएको खोरमा चितुवा परेको हो।
आज बिहान खोर (पासो)मा परेको चितुवालाई स्थानीयले नियन्त्रणमा लिएका छन्।
चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषबाट विज्ञसहितको टोली खटिएको छ।
आज बिहान एउटा चितुवा खोरमा परेर नियन्त्रणमा आएको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए। “खोरमा परेर चितुवा नियन्त्रणमा आएको छ, नियन्त्रणमा आएको चितुवालाई कहाँ लैजाने भन्ने बारेमा छलफल भइरहेको छ”, उनले भने।
भानु १, २, ३ र ४ मा डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट छ बालबालिकाले ज्यान गुमाएका छन्। गत असोज १६ र यही कात्तिक ११ गते पनि काठको खोरमा परेर दुई चितुवा नियन्त्रणमा आएका थिए।
काठको खोरमा परेर चितुवा नियन्त्रणमा आए पनि बालबालिकामाथि चितुवाको आक्रमण रोकिएको छैन। भानुका जङ्गलमा थुप्रै सङ्ख्यामा चितुवा रहेका अनुमान गरिएको छ।
डिभिजन वन प्रमुख बरालका अनुसार चितुवा नियन्त्रणका लागि काठको खोर प्रभावकारी हुने देखिएपछि नौ खोर निर्माण गरी जङ्गलमा राखिएका छन्। चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका छ विज्ञ टोली पनि परिचालित भएका छन्।
कोषका विज्ञ डा.नरेश सुवेदीले भानुका जङ्गलमा भएका चितुवा नियन्त्रणका लागि एशियाका विभिन्न देशमा प्रयोग गरिएका प्रविधि परिचालन गरिनेछ।
पछिल्लो समय बैतडी, अर्घाखाँची र तनहुँमा चितुवा आक्रमणको समस्या बढ्दै गएको छ। बिज्ञका अनुसार बूढो र घाइते भएको खण्डमा चितुवा आक्रामक बन्छ।
जङ्गलमा आहाराको अभाव हुँदै गएपछि वैकल्पिक आहाराको खोजीमा चितुवाले मान्छेमाथि आक्रमण गर्ने गरेको अध्ययनबाट पुष्टि भएको सुवेदीले बताए।

प्रतिक्रिया