ad ad

समाज


राैतहट अदालतमा आलमको थुनछेक बहस सुरु हुँदै

राैतहट अदालतमा आलमको थुनछेक बहस सुरु हुँदै

नेपालखबर
कात्तिक २१, २०७६ बिहिबार ८:२४,

नेपाली कांग्रेसका नेता तथा सांसद अफताव आलमविरुद्धको मुद्दामा रौतहट जिल्ला अदालतमा बयान सकिएको छ। आलमसँग आजै मुद्दाका वादीतर्फबाट सरकारी वकिलहरुले बहस सुरू गर्ने जिल्ला अदालत रौतहटका स्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिएका छन्।

थुनछेक बहसका लागि वकिलहरुले वकालत नामा लेखाइरहेका छन्। वकालतनामा लेखाउनेमा मुद्दाको जाहेरवालाबाट अधिवक्ताहरु पुष्पराज पौडेल, आशिकराम कार्कीलगायतका छन्। यसमा वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौला पनि रहेका छन्। त्यस्तै आरोपी आलमका तर्फबाट २८/२९ जना अधिवक्ताहरु रहेका छन्। आलमका तर्फबाट अधिवक्ताहरु शेरबहादुर केसी, योगेन्द्र बहादुर अधिकारी, वरिष्ठ अधिवक्ता अनिरुद्ध महतो, आलमका वकिल अफताव आलमलगायत रहेका छन्। अफताव आलम आरोपी आलमका नजिकका सहयोगी समेत हुन्।

त्यस्तै सरकारी पक्षबाट महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता सूर्यराज दाहाल, उपन्यायाधिवक्ता अर्जुनप्रसाद कोइरालाले बहसमा सहभागिता जनाउनेछन्। त्यस्तै पर्साका जिल्ला न्यायाधिवक्ता रुद्रप्रसाद पन्थी, रौतहट जिल्ला सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता खडेन्द्रराज कटुवाल, सहायक जिल्ला न्यायाधिवक्ता रामप्रसाद पन्थीले पनि बहस गर्नेछन्। अफताव आलमविरुद्ध बम विस्फोटका घाइतेलाई जिउँदै इँट्टाभट्टामा पोलेर प्रमाण नष्ट गरेको आरोप छ।

आलम हाल रौतहट जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन्। घटनालगत्तै किटानी जाहेरी परे पनि कानुनी सजायका भागीदार नभएका ११ जनालाई प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदनमा प्रतिवादी बनाएको छ। घटनालगत्तै परेको जाहेरकीका आधारमा पाँच जना र छ जना नयाँ प्रतिवादी कायम भएका छन्। प्रहरीले घटनाका मुख्य अभियुक्त मोहम्मद अफताव आलमसहित मोहम्मद महताब आलम (फरार), मोहम्मद मोविन आलम (फरार), शेख भदई (फरार) र शेख सेराज भनिने शेष सर (फरार)लाई घटनालगत्तै परेको किटानी जाहेरीका आधारमा प्रतिवादी कायम गरेको छ। यीबाहेक घटना अनुसन्धानमा प्रत्यक्ष संलग्न देखिएका शेख जुमईन भन्ने शेख मलकार, गौरीशंकर साह, बद्री सहनी, मुक्ति साह, शेख फजलेह र सगिर आलमलाई नयाँ अभियुक्त कायम गरेको हो।

याे पनि पढ्नुहाेस्ः जिउँदै मान्छे पोल्ने भट्टामालिक पनि मुख्य अभियुक्त


 

यस्तो थियो आलमले गराएको हत्याकाण्ड
२०६४ साल चैत्र २७ गते बुधबार साँझ साढे ६ बजे रौतहटको राजपुर फरहदवा गाविस वडा नम्बर ४ स्थित शेख सदिकको छोरा मोहम्मद आफताब आलमको काकाको घरमा बम विष्फोटन भएको थियो। अर्को दिन हुने संविधानसभा निर्वाचनलाई लक्षित गरी भारतीय कारिगर सहितले बम बनाँउदा अचानक विस्फोट भएको थियो।

सो विस्फोटमा जाहेरीवाला नारायणसिंह राजपुतको छोरा वर्ष २२ को पिन्टु भन्ने त्रिलोक प्रताप सिंह तथा रुक्साना खातुनको छोरा वर्ष २२ का वसी अख्तर र अन्य व्यक्तिहरूको समेत मृत्यु भएको थियो ।
विस्फोटमा घाइते भएकाहरुलाई आलमको समूहले उपचारको साटो बद्री साहनीले सञ्चालन गर्ने इँटाभट्टामा हालेर जलाएका थिए। घटनामा कति जनाको हत्या गरियो हालसम्म खुलेको छैन्। स्थानीय प्रत्यक्षदर्शीका अनुसार कम्तीमा २० भन्दा बढी व्यक्तिको निर्ममतापूर्वक हत्या गरिएको थियो।

संविधानसभा निर्वाचनमा उम्मेदवार रहेका आलमले चुनाव जित्न र अन्य पार्टीका कार्यकर्ताहरूलाई तर्साउन बम बनाउँदै गर्दा विस्फोट भएको थियो । विस्फोटनबाट शेख इद्रिसको घरको छानो भत्केको थियो। घटना खुल्ने डरले सोही रात विस्फोटमा भत्किएको घरको छानो र पर्खाल समेत लगाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .