ad ad

समाज


इण्डोयुरोलोजी सम्बन्धी विश्व सम्मेलनमा डा. खड्गीद्वारा कार्यपत्र प्रस्तुत

इण्डोयुरोलोजी सम्बन्धी विश्व सम्मेलनमा डा. खड्गीद्वारा कार्यपत्र प्रस्तुत

नेपालखबर
कात्तिक १८, २०७६ सोमबार १२:३१,

इमिरेट्स युरोलोजिकल सोसाइटीद्वारा युनाइटेड अरब इमिरेट्सको अबु धावीमा आयोजित इण्डोयुरोलोजिष्टहरूको ३७ औं विश्व सम्मेलनमा बरिष्ठ मूत्र प्रणाली रोग विशेषज्ञ डा.सञ्जय खड्गीले कार्यपत्र प्रस्तुत गरेका छन्।

यहि कात्तिक १२ देखि १६ सम्म भएको सम्मेलनमा डा. खड्गीले आमन्त्रित अन्तर्राष्ट्रिय अतिथि वक्ताका रूपमा आफ्नो चिकित्सकीय कार्यपत्र प्रस्तुत गरेका हुन्। नेपाली युरोलोजिष्ट (मूत्र प्रणाली रोग विशेषज्ञ/शल्यचिकत्सक) हरूमध्ये उक्त विधाको विश्व सम्मेलनमा आमन्त्रित भई स्रोत व्यक्तिका रुपमा कार्यपत्र प्रस्तुत गर्ने उनी नेपाली चिकित्सा इतिहासमै पहिलो चिकित्सक हुन्।

डा. खड्गी मूत्र प्रणाली रोग उपचारमा उत्कष्ट प्रविधि मिनी पि.सि.एन.एल.मा तालिमप्राप्त भई उक्त प्रविधिमा विशेष विशेषज्ञता राख्ने पहिलो नेपाली इण्डोयुरोलोजिष्ट पनि हुन्।

उक्त सम्मेलन सानो प्वाल पारेर वा थोरै चिरफार गरेर दूरविनका माध्यमबाट गरिने मूत्रप्रणालीको पत्थरीको उपचारमा समर्पित विश्वभरका मूत्रप्रणाली रोग विशेषज्ञ (इण्डोयुरोजोजिष्ट) हरुको प्रमुख भेला हो, जसले तत्सम्बन्धित वर्तमान हस्तीहरुलाई एकत्रित पार्दै रोगको उपचारमा भए/गरिएका नवीनतम् प्रयोग एवम् प्रविधिवारे सूचना आदान–प्रदान गर्ने, अनुभव साटासाट गर्ने र भविष्यको कार्यदिशा तय गर्ने गर्दछ। उक्त विश्व सम्मेलनमा मूलतः इण्डोयुरोलोजिक, ल्यापारोस्कोपिक, रोबोटिक (रोबोटको सहायताले गरिने शल्यक्रिया) र उपचारमा विकसित अन्य नवीनतम् प्रविधिलगायत उपचारमा अपनाइने चिकित्सा व्यवस्थापनबारे वृहत् छलफल गरिएको थियो।

मूत्र प्रणालीका पत्थरी लगायत तत्सम्बन्धी अन्य रोगको उपचारमा संलग्न नेपालका मूत्रप्रणाली रोग विशेषज्ञहरु मध्येका एक प्रमुख विशेषज्ञ डा. खड्गीलाई नेपालमा मिनी पि.सी.एन.एल प्रविधिका माध्यमबाट उनले हालसम्म गर्दै आएका मूत्र प्रणालीको पत्थरी रोगको सफलतम् उपचारबारे इण्डोयुरोलोजिष्टहरुको अन्तर्राष्ट्रिय सम्मेलनलाई जानकारी गराउन आमन्त्रित अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा निम्त्याइएको थियो। मूत्र प्रणाली रोग विशेषज्ञहरु मध्ये उनलाई यो सम्मान नेपाली चिकित्सा इतिहास मै पहिलोपटक प्राप्त भएको हो।

सम्पन्न उक्त ३७ औं विश्व सम्मेलनमा विश्वभर कार्यरत मूत्ररोग विशेषज्ञहरु, रेजिडेण्टहरु विशेषज्ञता हासिल गर्दै गरेका चिकित्सकहरू र रोग उपचार/व्यवस्थापन एवम् तिनको अनुसन्धानमा संलग्न अन्य चिकित्साकर्मी सहित १,००० भन्दा बढी सहभागी थिए। सम्मेलनमा इण्डोयुरोलोजी विधामा विकसित उच्च प्रविधि र तरीका एक आपसमा बाँड्न विश्वभरबाट विशेषज्ञहरु निम्त्याउने गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .