ad ad

राजनीति


‘अन्य मुलुकको दासका रुपमा सेनामा भर्ना हुने कुरा नेपाललाई मान्य हुँदैन’

‘अन्य मुलुकको दासका रुपमा सेनामा भर्ना हुने कुरा नेपाललाई मान्य हुँदैन’

नेपालखबर
कात्तिक १८, २०७६ सोमबार १२:४,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल ब्रिटिस सेनामा नेपाली नागरिकलाई भर्ना लिने कामको बिपक्षमा उभिएका छन्।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले कुनै पनि मुलुकको दासको रुपमा सेनामा भर्ना हुने कुरा नेपाललाई मान्य नहुने चेतावनी पनि दिए।

गोर्खा भूतपूर्व सैनिकहरुको राष्ट्रिय गोष्ठीलाई सोमबार काठमाडौंमा उद्घाटन गर्दै नेता नेपालले भूतपूर्व गोर्खा सैनिकहरुले विगतमा भोग्दै आएका विभेदको अन्त्य हुने गरी ब्रिटिस सरकारसँग वार्तामा बस्न पनि नेपाल सरकारको ध्यानाकर्षण गराए।

संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य समेत रहेका नेता नेपालले भूतपूर्व गोर्खा सैनिकहरुले ब्रिटिस सरकारबाट भोग्दै आएका विभेदकारी नीतिको अन्त्य गर्न सम्बन्धित सबै पक्षले एकताबद्ध भएर मुकाविला गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए।

कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् नेकपाकै अर्का वरिष्ठ नेता झलनाथ खनालले भूतपूर्व गोर्खा सैनिकहरुमाथि हुँदै आएको विभेद अन्त्य हुने गरी ब्रिटिस सरकारसँग निर्णायक वार्ता गर्न सरकारसँग माग गरे। उनले मुलुकको शान्ति र समृद्धिको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै अब सरकारले कुनै पनि नागरिकलाई सम्मानजनक ढंगले राष्ट्र भित्रै रोजगारीको अवसर सृजना गर्नुपर्ने पनि बताए।

कार्यक्रममा बोल्दै मन्त्रिपरिषदका तत्कालीन अध्यक्ष खिलराज रेग्मीले मानव अधिकार र कानुनी दुवै दृष्टिले भूतपूर्व गोर्खा सैनिकहरुमाथि गरिएको विभेदपूर्ण व्यवहार अन्त्य हुने गरी ब्रिटिस सरकारसँग वार्ता गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए। नेपालले ब्रिटिस सरकारसँग कूटनीतिक पहल गरी भूतपूर्व गोर्खा सैनिकहरुको समस्या समाधान गर्नुपर्ने उनको भनाई थियो।

कार्यक्रममा भूतपूर्व गोर्खा सैनिकका नेताहरुले पेन्सन दिने कुरामा समेत ब्रिटिस सरकारले आफूहरुमाथि विभेद गर्ने गरेको उल्लेख गर्दै ती समस्या समाधानका लागि पहल गरी दिन नेपाल सरकार र यहाँका राजनीतिक पार्टीहरुको गम्भीर ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .