ad ad

राजनीति


डिल्लीबजार सदरखोरको ‘क सेल’मा महरा

डिल्लीबजार सदरखोरको ‘क सेल’मा महरा

नेपालखबर
कात्तिक १८, २०७६ सोमबार १२:३३,

संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेका प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महरालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएसँगै उनलाई सदरखोर डिल्लीबजार कारागारमा राखिएको छ।

सोमबार जिल्ला अदालत काठमाडौंका मुख्य न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा भएको थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको हो।

उनी केही बेर अघिमात्र अदालतबाट सदरखाेर डिल्लीबजार पुगेका थिए। महरालाई डिल्लीबजार कारागारको ‘क सेल’मा राखिएको छ। कारागारका जेलर अरूण पोखरेलले महरालाई कारागारको 'क सेल'मा राखिएको नेपालखबरलाई जानकारी दिए।

 अदालतले पक्ष र विपक्षको बहस सुनिसकेपछि महरालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। 

बलात्कार प्रयासको आरोप लागेपछि महरालाई गत असोज १९ गते जिल्ला अदालत काठमाडौंले पक्राउका लागि प्रहरीलाई अनुमति दिएको थियो। अनुमति पाएसँगै प्रहरीले उनलाई सोही दिन बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ गरेको थियो। पक्राउपछि महरा सिंहदरबार वृत्तमा प्रहरी हिरासतमा रहँदै आएका थिए।

याे पनि ः महरा डिल्लीबजार कारागार चलान


तर स्वास्थ्य अवस्था बिग्रिएपछि केही दिनयता महरा नर्भिक अस्पतालमा उपचाररत थिए। मंगलबार अस्पतालबाटै उनलाई सरकारी वकिलको कार्यालय लगेर थुनछेक बहस गरेपछि म्याद थपका लागि काठमाडौं जिल्ला अदालत पेस गरिएको थियो।

अदालतले उनलाई तीन दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै प्रहरीलाई थप अनुसन्धानको बाटो खुल्ला भएको थियो।

यसकारण सदरखोर पुगे निवर्तमान सभामुख महरा

महरामाथि संसद् सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोप लागेको छ। गत असोज १२ गते राति रोशनीकै कोठामा गएर बलात्कार प्रयास गरेको भन्दै शाहीले एक अनलाइनलाई भिडियो अन्तर्वार्ता दिएपछि घटना सार्वजनिक भएको थियो।

सोही राति शाहीले प्रहरीलाई समेत खबर गरेर घटनाबारे जानकारी गराएकी थिइन्। तत्कालै प्रहरी उनको कोठामा पुगेर वस्तुस्थिति नियालेर फर्किए पनि महरा पक्राउ परेका थिएनन्।

पछि शाहीले नै अर्को अनलाइनमा सपहिचान भिडियो अन्तर्वार्ता दिएकी थिइन्। उक्त अन्तर्वार्तामा उनले महरा आफ्नो बाबुसमान मान्छे भएकोले आफूलाई केही नगरेको दाबी गरेकी थिइन्। त्यसलगत्तै उनको पतिसँग ‘डिभोर्स’ भएको भनी उनका श्रीमान् चित्रजंग शाहीले दम्पतीको हस्ताक्षरसहितको विज्ञप्ति सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।

तर त्यसको केही दिनपछि पुनः शाही दम्पतीले महानगरीय प्रहरी प्रभाग बानेश्वरमा बलात्कार प्रयास गरेको भन्दै महराविरुद्ध उजुरी दिएको थियो। तर घटना भएको भोलिपल्ट भने शाहीले महराले आफूमाथि यौन दुराचार नै गरेको बताएकी थिइन्।

सोही उजुरीका आधारमा महरा प्रहरी हिरासत पुगेका हुन्। महरामाथि आरोप लागेपछि नेकपाका नेताहरुले उनलाई सभामुख पदबाट हट्न र अनुसन्धानमा सघाउन भनेका थिए। त्यसलगत्तै उनले उपसभामुख डा। शिवमाया तुम्बाहाम्फेलाई आफ्नो ‘शर्त’सहितको राजीनामा दिएका थिए।

तर उपसभामुखले उक्त राजीनामाको भाषा नमिलेको भन्दै अस्वीकार गरेपछि दोस्रोपटक भाषा मिलाएर महराले पदबाट राजीनमा दिएका थिए। प्रहरीले पक्राउ गरेपछि उनी सांसदबाट पनि निलम्बनमा परेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .