समाज


इन्सपेक्टर कल्पना र लिलालाई अख्तियार पठाइयो, भ्रष्टाचार मुद्दामा पनि अनुसन्धान सुरु

इन्सपेक्टर कल्पना र लिलालाई अख्तियार पठाइयो, भ्रष्टाचार मुद्दामा पनि अनुसन्धान सुरु

नेपालखबर
साउन १०, २०८३ आइतबार १९:४५, काठमाडौँ

एपीएफ स्कुल कीर्तिपुरकी लेखा अधिकृत सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र ट्राभल्स सञ्चालक लिलाबहादुर लामा तामाङमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु भएको छ।

यसअघि जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर उनीहरूमाथि ठगी र आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान भइरहेको थियो।

तर सार्वजनिक सम्पत्तिको हानि नोक्सानी पुर्‍याउन नहुने सम्बन्धी कसुर पनि देखिएकाले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार अनुसन्धान अगाडि बढाउन अख्तियारमा पठाइएको काठमाडौँ परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।

दुवैजनालाई असार २० गते पक्राउ गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। जिल्ला अदालत काठमाडौँबाट म्याद थप गर्दै प्रहरीले अनुसन्धान अगाडि बढाएकोमा भ्रष्टाचार निवारण ऐनअन्तर्गतको कसुर देखिएसँगै शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय र काठमाडौँ प्रहरीले अख्तियार पठाएको थियो।

आइतबार अख्तियारले विशेष अदालतमा उपस्थित गराएर १० दिनको म्याद लिएको छ। यसअघि उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीले चार पटक म्याद थप गरिसकेको थियो।

‘हामीले बयान लगायतका कार्य सकेका छौँ। अन्य अनुसन्धान जारी नै छ। भोलि केही देखिए हामी ल्याएर अनुसन्धान गर्छौँ। तर अहिले अख्तियारमा पठाइएको छ। त्यहाँबाट पनि अनुसन्धान अगाडि बढेको छ,’ एसपी भट्टराईले बताए।

विद्यालयको लेखापाल रहेकी गुरुङले ११ करोड हिनामिना गरेको आरोप छ। यसअघि सशस्त्र प्रहरीले गरेको आन्तरिक छानबिनमा अनियमितता देखिएको र संगठनबाहिरका व्यक्तिको समेत संलग्नता देखिएपछि थप कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको थियो।

कल्पनाले २०८२ मंसिरदेखि नै संगठनलाई गमराहमा राखेर रकम हिनामिना गरेको आरोप छ। उनले ५ करोड जम्मा गरिएको दाबी गर्दै बैंक भौचर केन्द्रमा पठाए पनि रकम भने जम्मा नगरेको खुलेको थियो।

त्यसअघि पनि उनले २ करोड जम्मा गरेको भन्दै पत्राचार गरेकी थिइन्। तर रकम जम्मा नगरेको पाइएपछि संगठनले थप ताकेता गरेको थियो।

अनुसन्धानका क्रममा एमडी टुर्स एण्ड ट्राभल्सका सञ्चालक लिलाबहादुरको दातामा रकम पठाएको पाइएको सशस्त्रले जनाएको छ। अब प्रहरी र अख्तियारले एकसाथ अनुसन्धान अगाडि बढाएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad