समाज


जनगणना गर्नेलाई तिंकर र छाङरु जान भारतीय पक्षले दिएन

जनगणना गर्नेलाई तिंकर र छाङरु जान भारतीय पक्षले दिएन

फाइल तस्बिर


गोकुल जोशी
कात्तिक ३०, २०७८ मंगलबार १८:१५, महेन्द्रनगर

भारतीय पक्षको अवरोधले दार्चुलाको व्याँस गाउँपालिका–१ स्थित तिंकर र छाङरुमा जनगणना सुरु हुन सकेको छैन। 

२५ कात्तिकदेखि देशभर जनगणना गर्न थालिएको थियो। मुलुकभर जनगणना भइरहँदा भारतीय अतिक्रमित ‘कालापानी क्षेत्र’ अन्तर्गत पर्ने दार्चुलाको व्याँस गाउँपालिका–१ तिंकर र छाङरुमा भने अझैसम्म जनगणनाका लागि गणक पुग्न सकेका छैनन्। 

भारतीय प्रशासनले तिंकर र छाङरुमा गणक जानका लागि अनुमति नदिँदा त्यहाँ जनगणना सुरु हुन नसकेको जनगणना कार्यालय (दार्चुला)का प्रमुख पदमराज पाण्डेले बताए।

‘नेपाली भूमिबाट छाङरु र तिंकर पुग्ने बाटो छैन। त्यहाँ भारतको बाटो प्रयोग गरेर जानु पर्छ’ उनले नेपालखबरसँग भने, ‘भारतीय पक्षले अनुमति नदिएकाले त्यस क्षेत्रमा गणक नै पठाउन सकिएको छैन।’

२५ कात्तिकमा जनगणना कार्यालयले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई भारतीय प्रशासनसँग तिंकर र छाङरुमा गणक पठाउन अनुमतिका लागि पत्राचार गर्न आग्रह गरेको थियो। 

त्यसपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनगणनाका लागि गणक भारतीय बाटो भएर जाने भएकाले सहजीकरण गरिदिन धार्चुला प्रशासनलाई पत्राचार गरेको थियो। तर भारतीय प्रशासनले भने बाटो बिग्रिएको भन्दै गणकलाई तिंकर र छाङरु जाने अनुमति दिएको थिएन।

‘बाटो बिग्रिएकाले सुरुमा भारतीय प्रशासनले अनुमति दिन मानेन। बाटो खुलेपछि अनुमति दिन्छौँ भनेका थिए,’ कार्यालय प्रमुख पाण्डेले भने, ‘तर, अहिलेसम्म केही जवाफ आएको छैन।’

अन्य मानिसलाई ओहोरदोहोरका लागि अनुमति दिने गरेको भए पनि जनगणनामा अवरोध सृजना गर्न भारतीय पक्षले गणकलाई अनुमति नदिएको व्याँस गाउँपालिका–२ का एक स्थानीयले बताए। 

‘अन्य मानिसहरु अनुमति पाएर ओहोरदोहोर गरिरहेका छन्,’ ती स्थानीयले भने, ‘बाटो बिग्रिएको बहाना झिकेर जनगणना हुन नदिन भारतीय प्रशासनले अनुमति नदिएको हो।’

भारतीय अतिक्रमित लिपुलेक, लिम्पियाधुरा समेटेर नक्सा जारी गरे पछि भारतीय पक्षले पछिल्लो समय सीमा क्षेत्रमा चेकजाँच तथा आवतजावतमा कडाइ गर्नुका साथै बाक्लो संख्यामा सुरक्षाकर्मी खटाएको उनी बताउँछन्। 

व्याँस गाउँपालिका–१ छाङरु, तिंकर बाहेक दार्चुलाका ९ वटा स्थानीय तहका सम्पूर्ण वडामा जनगणना भइरहेको जनगणना कार्यालय दार्चुलाका प्रमुख पाण्डे बताउँछन्। उनका अनुसार ९ वटा स्थानीय तहमा जनगणनाका लागि १ सय ८३ जना गणक खटाइएका छन्।

‘तिंकर र छाङरुका लागि एक जना गणक पठाउने तयारी थियो। तर, भारतले अनुमति नदिँदा त्यो सम्भव हुन सकेको छैन,’ उनले भने, ‘अन्य स्थानीय तहमा जनगणना भइरहेको छ।’ 
उनका अनुसार तिंकर र छाङरुमा पहिलो चरणको सुपरिवेक्षण मात्रै हुन सकेको छ। 

व्याँस गाउँपालिका–१ स्थित कुटी, नाभी र गुञ्जी भारतीय अतिक्रमणमा छन्। ती गाउँसँगै जोडिएका तिंकर र छाङरुमा नेपालको प्रशासनिक अधिकार कायमै छ। तर, ती बस्तीसम्म पुग्न नेपाली भूमिमा बाटो नहुँदा त्यहाँका स्थानीय बासिन्दामा सरकारको पहुँच पुग्न सकेको छैन। 

तिंकर र छाङरुमा एक सय २३ परिवारको बसोबास छ। भारतले बाटोको अनुमति दिएमा एक जना गणक र एक जना अर्का जनगणनाका कर्मचारीलाई त्यहाँ खटाइने छ।

भारतीय प्रशासनसँग अनुमतिका लागि पत्राचार गरेको दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले बताइन्। उनका अनुसार भारतीय प्रशासनलाई दुई पटक पत्राचार गरिएको छ।

‘भारतीय बाटो प्रयोग गर्दा हामीले त्यहाँको प्रशासनसँग अनुमति माग्नु पर्छ। २५ गते गणकका लागि र मंगलबार (आज) एक जना कर्मचारीलाई अनुमति मागेका थियौँ,’ उनले नेपालखबरसँग भनिन्, ‘जोलजिबी मेलाका कारण एचडिएमसँग समन्वय हुन सकेको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad