प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्हबाट सम्मानित गरिएको छ।
भारतीय राष्ट्रपति रामनाथ कोविन्दले बुधबार दिउँसो दिल्लीस्थित राष्ट्रपतिको कार्यालयमा शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथी पदवीबाट सम्मानित गरेका हुन्।
शर्मा भारतको चार दिवसीय औपचारिक भ्रमणका लागि मंगलबार नयाँ दिल्ली गएका थिए।
उनले मंगलबार भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवाणेसँग भेटवार्ता गरेका थिए।
प्रधानसेनापतिको नियुक्ति भएपछिको उनको यो पहिलो विदेश भ्रमण हो।
भ्रमणका क्रममा महारथी शर्माले विभिन्न भारतीय उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गरेका छन्।
उनले मंगलबार भारतीय रक्षा सचिव अजयकुमार, भारतीय चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, भारतीय सेनाध्यक्ष जनरल नरवणे र भारतीय वायु सेनाध्यक्ष एयर चिफ मार्शल भिआर चौधरीसँग भेटेका थिए।
प्रधानसेनापतिको भ्रमण दल श्रीमती सुनिता शर्मासहित नौ सदस्यीय छ। महारथी शर्मा यही कात्तिक २६ गते स्वदेश फर्किने कार्यक्रम छ।
नेपाल र भारतका सेना प्रमुखलाई दुवै देशले मानार्थ महारथीको पदवीबाट सम्मानित गर्ने परम्परा रहेको छ।


Shares

प्रतिक्रिया