ad ad

समाज


माछापुच्छ्रे गाउँपालिकाले तोक्यो सार्वजनिक बसको भाडा

माछापुच्छ्रे गाउँपालिकाले तोक्यो सार्वजनिक बसको भाडा

नेपालखबर
कात्तिक २३, २०७८ मंगलबार १०:३३, काठमाडौँ

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिका क्षेत्रमा सञ्चालन हुने सार्वजनिक बसको भाडादर तोकेको छ। 

बसको भाडा र सञ्चालन तालिकाको सम्बन्धमा पटक–पटक जनगुनासो आएपछि भाडादर निर्धारण गरिएको गाउँपालिका कार्यालयले जनाएको छ। पृथ्वी राजमार्ग बस सञ्चालन कम्पनी प्रालिसहित सरोकारवाला निकायका पदाधिकारीकोे छलफलबाट भाडादर कायम गरिएको गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर शाहीले जानकारी दिए।

पोखराको हरिचोकबाट गाउँपालिकाको खोराकोमुख लुम्रे मार्गमा सञ्चालन हुने बसको अधिकतम भाडा ११० कायम गरिएको छ। सोही मार्गअन्तर्गत पर्ने अन्य स्थानको भाडा पनि समायोजन गरिनेछ।यातायात व्यवस्था विभागले गत असार २९ गतेदेखि लागू हुने गरी अन्तरप्रदेश मार्गमा २८ प्रतिशतसम्म भाडा वृद्धि गरेपछि गाउँपालिकाभित्र सञ्चालन हुने बसले पनि भाडा वृद्धि गरेका थिए। 

गण्डकी प्रदेशको प्रदेश सवारी तथा यातायात ऐनबमोजिम समितिले भाडा समायोजन नगरेसम्मका लागि अहिले तोकिएको भाडादर लागू हुने गाउँपालिकाले जनाएको छ।

यसैगरी पोखराबाट टुसे ग्राउण्ड मार्गमा पृथ्वी राजमार्ग बस कम्पनीबाट सञ्चालन हुने बसको भाडादर १ सय रुपैयाँ कायम गरिएको छ। उक्त मार्गको अन्य स्थानको भाडासमेत समायोजन गरिएको शाहीले बताए। ‘भाडादर कायम नहुँदा बसका कर्मचारी र यात्रुबीच विवाद हुने गरेको थियो। अहिले गाउँपालिकाभित्रका मुख्य मार्गको अधिकतम भाडा तोकेका छौँ’, प्रवक्ता शाहीले भने, ‘छलफलका आधारमा पुनः यसलाई परिमार्जित गर्दै सबै वडाको भाडा तय गरिने छ।’

यसैगरी आगामी मङ्सिर १ देखि विभिन्न विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्ष्य गरी बिहान ५ः०० बजेदेखि गाउँपालिकाबाट बस सञ्चालन गरिने भएको छ। 

विभिन्न विद्यार्थी सङ्गठनले गाउँपालिकाबाट बिहानको समयमा बस सञ्चालन नहुँदा विद्यार्थीले पोखरामा कोठाभाडामा लिएर बस्नुपर्ने अवस्था आएकाले घरबाटै क्याम्पस जानका लागि बसको व्यवस्था गर्न माग गर्दै आएका छन्। 

गाउँपालिकाबाट पोखराका विभिन्न विद्यालय र विश्वविद्यालयमा बिहानी तथा दिवासत्रका विद्यार्थीलाई मध्यनजर गरी मङ्सिर १ गतेदेखि वडा नं १ को टुसे ग्राउण्डबाट घाचोक हुँदै पोखरा, वडा नं ५ को हाइड्रोबाट रिभान, लाहाचोक हुँदै पोखरा र वडा नं ८ को लुम्रे र अन्य वडाबाट विद्यार्थी सङ्ख्याका आधारमा बिहान ५ः०० बजेदेखि पोखरासम्म बस सञ्चालन हुने प्रवक्ता शाहीले जानकारी दिए। 

गाउँपालिकाभित्र सञ्चालन हुने सार्वजनिक बसले सरकारले तोकेको ४५ प्रतिशत विद्यार्थी छुट परिचयपत्रका आधारमा उपलब्ध गराउन बस कम्पनी सहमत भएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .