प्रहरी अधिकारीहरुले शुक्रबार बताएअनुसार पछिल्लो अनुसन्धानले उनीहरु सबैजना भियतनामी हुनसक्ने देखिएको बताएका हुन्।
उपप्रहरी प्रमुख टिम स्मिथले ३९ वटा शवको अनुसन्धानबाट यस्तो निश्कर्ष निकालिएको जानकारी दिए। यसअघि प्रहरीले शबहरु चिनियाँ भएको बताएको थियो। उनले अहिलेसम्म कुनै पनि मृतकको सनाखत भने भइनसकेको र पत्ता लगाउने प्रक्रियामै रहेको बताए।
स्मिथले आफूहरु भियतनामी सरकारको सम्पर्कमा रहेको र मृतकहरुकोे सनाखत पुष्टि गर्ने प्रमाणहरु संकलन भईरहेको जानकारी दिएका छन्।
गत अक्टोबर २३ मा ग्रेज एसिक्समा औद्योगिक क्षेत्रमा चिसो तापक्रम हुने व्यवस्था गरिएको कन्टेनरभित्र ती ३९ वटा शव फेला परेको थियो।
मृत्यु हुनेमा ३१ पुरुष र आठ महिला रहेका छन्। मृत्युको कारण पत्ता लगाउन शवपरीक्षण भइरहेको अधिकारीहरुले जनाएका छन्।
लन्डनस्थित भियतनामी दूतावासले शोकसन्तप्त परिवारप्रति सहानुभूति व्यक्त गर्दै मृतकको शव स्वदेश फिर्ता गर्नका लागि परिवारजनलाई सघाउन सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ।
सिन्ह्वाका अनुसार प्रारम्भिक विवरणहरूमा सो कन्टेनर बेल्जियमबाट आएको देखिएको छ। शवहरू फेला परेपछि उत्तरी आयरल्यान्डका चालक मोरिस रबिन्सनलाई पक्राउ गरिएको थियो।

प्रतिक्रिया