ल्हाक्पा शेर्पा सबैभन्दा बढी सगरमाथा आरोहण गर्ने महिला हुन्। उनी नौ पटक सगरमाथा चुचुरोमा पुगिसकेकी छन् र सन् २०२० मा १० औँ आरोहणको तयारी गरिरहेका छिन्। तर, न उनलाई कसैले प्रायोजन गरेको छ, न उनको ट्रेनर नै छ। उनी अमेरिकामा भाँडा माझेर आरोहणको तयारी गरिरहेकी छन्।
संखुवासभामा जन्मेकी ल्हाक्पाले सन् २००० मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेकी थिइन्। सगरमाथा शिखरमा पुगेर जीवितै फर्किन सफल उनी पहिलो महिला आरोही हुन्। सन् २००६ मा उनले सबैभन्दा बढी सगरमाथा आरोहण गर्ने महिलाको कीर्तिमान हासिल गरेकी थिइन्। गत वर्ष मात्र उनले नवौँ पटक आरोहण सम्पन्न गरेकी थिइन्।
हाल उनी अमेरिकाको कनेक्टिकट राज्यस्थित वेस्ट हार्टफोर्डमा बस्छिन्। तीन सन्तानकी आमा उनी एकल महिला हुन्।
हाल उनी न्यूनतम ज्यालामा भाँडा माझेर १० औँ सगरमाथा आरोहणको तयारी गरिरहेको द गार्जियनले जनाएको छ। सगरमाथा आरोहणका लागि जाँदा घरभाडा तिर्नै नसक्ने अवस्था उनको रहेको पनि उक्त पत्रिकाले जनाएको छ। फर्केपछि उनी जे पाइन्छ, त्यही काम गर्छिन्। हालसम्म उनी हाउसकिपर, क्यासियरजस्ता काम गरेर गुजारा चलाउँदै आएकी छन्।
‘म तिनलाई सगरमाथाबारे कहिल्यै सुनाउँदिनँ,’ उनी भन्छिन्।
उनले आरोहणमा ५० वर्ष पुरानो अक्सिजन मास्क र च्यातिएको झोला प्रयोग गर्ने गरेकी छन्।
सन् २००० मा सगरमाथामै भेटिएका एक अमेरिकीसँग उनले विवाह गरिन् र २००२ मा उतै बसाइँ सरिन्। तर, उनको वैवाहिक जीवन राम्रो रहेन। अनगिन्ती पटक उनी पतिबाट हिंसाको शिकार भइन्। सन् २००४ मा उनका पतिले उनलाई सगरमाथा आधारशिविरमै कुटपिट गरेका थिए। लामो कानुनी लडाइँपछि उनको २०१५ मा सम्बन्धविच्छेद भयो।
यसबीचमा उनी सरकारी हाल सन्तानको सम्पूर्ण हेरचाह उनले नै गर्दै आएकी छन्। यी सबैका बाबजूद सगरमाथा आरोहणको उनको भोक मरेको छैन।
‘मलाई त हिमालमै लुकेर बस्न मन छ नि । तर, यहाँ अनुहार देखाउनु परेको छ,’ उनी भन्छिन्।
‘मेरो लागि सगरमाथा आरोहण भाँडा माझ्ने कामबाट छुटकारा पाउने उपाय हो,’ उनी थप्छिन् ‘यो छोरीहरुको जीवन सुधार्ने माध्यम पनि हो।’

प्रतिक्रिया