काठमाडौँको सानोभर्याङ्स्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक विद्यार्थी विगत दुई महिनादेखि बेपत्ता छन्।
दैलेखको गुराँस गाउँपालिका–२ बस्ने दानबहादुर शाहीका छोरा २४ वर्षीय राजेश शाही लामो समयदेखि बेपत्ता रहे पनि उक्त घटनाको खास कारण खुल्न सकेको छैन।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले शाही बेपत्ता भएको निवेदन परेलगत्तै खोजी सुरु गरिएको बताए।
तर अहिलेसम्म उनको अवस्था पत्ता लाग्न नसकेको जानकारी बस्नेतले दिएका छन्।
'कलेजबाट निस्केर गएको भन्ने छ, हामी खोज्दै छौँ, कारण पत्ता लागिसकेको छैन', बस्नेतले भने।
उनका परिवारले भने संस्थानको छात्रावासबाटै शाही हराएको जिकिर गर्दै सेनाले सत्यतथ्य जानकारी दिनुपर्ने माग गरेका छन्।
शाहीका फुपुका छोरा पदम मल्लले भदौ १७ गते कलेजबाटै बेपत्ता भएको जनाउँदै उनको अवस्था छिटो सार्वजनिक गर्न माग गरे।
भदौ १७ मा हराएका उनकाबारे २१ गतेमात्रै सेनाले परिवारलाई खबर गरेकाले त्यसप्रति आशङ्का उब्जिएको उनले बताएका छन्।
खबर पाउनेबितत्तिकै काठमाडौँ आएर नेपाली सेना र महानगरीय प्रहरी परिसरमा निवेदन दिए पनि अहिलेसम्म जानकारी आउन नसकेको मल्लले गुनासो गरेका छन्।
'आज ५९औँ दिन भयो हराएको अहिलेसम्म अवस्था के छ कसैलाई पत्तो छैन, भइरहेको अनुसन्धान प्रक्रिया पनि चित्तबुझ्दौ छैन', उनले भने, 'बाध्य भएर मिडियामा आउनुपरेको छ।'
मल्लले आफ्नो विद्यार्थीको निगरानी गर्नुपर्ने जिम्मेवारी रहेको संस्थानले ध्यान नदिँदा शाहीको अवस्था अज्ञात रहेको बताए।
'शाही असल विद्यार्थी हुन्, गलत भए पनि कानूनी उपचारको बाटो अलग्गै हुन्छ, हामीलाई मान्छे चाहियो, उनले भने।
शाहीका साथीहरुले तपाईँहरु छिटो आएर राजेशलाई निकाल्नुहोस्, हामीले देखेका छौँ भनेर खबर गरेको सुनाउँदै मल्लले अहिले विभिन्न बहाना उसैमथि नै नैतिक प्रश्न खडा गर्ने अवस्था देखिएको मल्लले बताए।
सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले संस्थानको गेटबाट निस्किएपछि शाही सम्पर्कविहीन भएको बताए। उनले शाहीको अवस्था अहिलेसम्म थाहा हुन नसकेको बताए।
उनले परिवार, प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा खोजी भइरहेको पनि जानकरी दिए।
'उनी गेटबाट निस्किएपछि सम्पर्कमा आएका छैनन्, कारण फेला पार्न सकिएको छैन', प्रवक्ता पौडेलले भनेका छन्।
दुई महिनादेखि फेला नपर्नुमा विडम्बना भएको बताउँदै उनले खोजीका लागि प्रधानसेनापति प्रभुराम शर्माबाट स्पष्ट निर्देशन आएको पनि बताए।
प्रवक्ता पौडेलले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले समेत घटनाको अनुसन्धान गरिरहेको बताए।
सिआइवीलाई अनुसन्धानमा सेनाको पूर्ण सहयोग रहेको पनि उनले बताए। परिवारका सदस्यले उनको अवस्था पत्ता लगाएर न्याय दिन माग गर्दै आएको छ।
Shares

प्रतिक्रिया