समाज


कता हराए ‘बसाइँ नसर्ने’ भँगेरो ?

कता हराए ‘बसाइँ नसर्ने’ भँगेरो ?

नेपालखबर
कात्तिक २, २०७८ मंगलबार १३:४५, गलेश्वर

गलेश्वर । जङ्गलको सुरक्षित बासस्थान छोडेर मानिसको वरिपरि रमाउने भँगेरो चरा हराउँदै जान थालेपछि वातावरणको परिस्थितीय प्रणालीप्रति अनेकौँ प्रश्नहरु उत्पन्न हुन थालेका छन्।

एक दशकअघि सम्म गाउँघरमा बाक्लै देखिने भँगेरो आजकल देख्नै मुस्किल हुन थालेको छ। '१०/१२ वर्षअगाडिसम्म हाम्रो आँगनमा सुकाएको बिस्कुन खान प्रशस्त भँगेरो आउँथे। हामीले त्यो धानको बिस्कुन सुकाएको ठाउँमा लामो नर्कटले भँगेरो धपाउने गथ्र्यौं तर आज एकमुठी चामल छरिदिँदा पनि त्यो खाइसक्ने भँगेरो छैनन्,' बेनी नगरपालिका–२ का ८५ वर्षीय वेदप्रसाद उपाध्यायले भने।

वैज्ञानिकहरुको भनाइअनुसार भँगेरो बसाइँ नसर्ने चरा हो। आफ्नो बासस्थानबाट साढे २ किमी वरिपरि मात्र घुमफिर गर्न रुचाउने यो चरा लोप हुनु चिन्ताको विषय भएको वैज्ञानिकहरुको भनाइ छ। मानव संरक्षित अर्थात् पर्यावरणीय दृष्टिकोणले मानिससँग सम्बन्धित सबैभन्दा नजिकको चरा भँगेरो कता हराए त प्रश्न खडा भएको छ।

वातावरण संरक्षणकर्मीहरुका अनुसार भँगेरोको मानिससँग मात्र नभएर वातावरणसँग पनि प्रगाढ सम्बन्ध रहेको हुन्छ। यसले वातावरणको परिस्थितीय प्रणालीलाई सन्तुलन राख्न मद्दत गर्छ।

लामो समयसम्म वन तथा वातावरण संरक्षणको क्षेत्रमा काम गर्नुभएका म्याग्दीका चन्द्रमणि सापकोटाका अनुसार भँगेरोका कारण मानिसमा कुनै पनि नकारात्मक प्रभाव पर्दैन। बरु यसको प्रातःकालीन चिरबिरले मानिसलाई प्रकृतिसँग जोड्ने काम गर्छ। त्यसैले पहिलेका मान्छेले भँगेरोलाई आ–आफ्नो घरमा बास दिने गरेका हुन्। 

वातावरण संरक्षणकर्मीहरुका अनुसार भँगेरोले हानिकारक कीटाणु मार्ने, बीउबिजन फैलाउने, परागकण गराउने, जनावरको मृत अवशेषलाई सफा अर्थात् हटाउने काम गर्छ। जसले गर्दा वातावरणीय सन्तुलन कामय राख्न भँगेरोको मुख्य भूमिका रहेको हुन्छ। कीरा–फट्याङ्ग्रा तथा लामखुट्टेलाई समेत आफ्नो आहारा बनाउने हुँदा लामखुट्टेबाट सर्ने रोग हटाउन पनि भँगेरोको महत्वपूर्ण भूमिका हुन्छ। ​

घरआँगनमा डुली हिँड्ने भँगेरो एक प्रकारले जैविक कीटनाशक पक्षी पनि हो। मानिसको घरयसी फुच्चे साथी भनेकै भँगेरो हो। तर पछिल्लो समय यिनीहरु क्रमशः मासिँदै छन्। वर्तमान अधिकार प्राप्त नगरपालिकाको ‘पशुपक्षी विकास तथा छाडा चौपायाको व्यवस्थापन’ स्थानीय सरकार सञ्चालनका सम्बन्धमा बनेको ऐन छ। तर युगौँदेखि मानवसँग सम्बन्धित भई हाम्रै घरघरमा बस्दै आएको पक्षी भँगेरो संरक्षण गर्नुपर्छ भन्ने कुरो सरकारलाई थाहै छैन।

भँगेरो लक्षिन र सहकालको चरा मानिन्छ । जुन घरमा भँगेरोको बास हुन्छ, त्यो घरमा कहिल्यै पनि अलक्षिन लाग्दैन र अन्नको समस्या हुँदैन भन्ने परम्परागत मान्यता रहँदै आएको छ। भँगेरोको सम्बन्धमा छिमेकी मुलुक चीनको एउटा रोचक प्रसङ्ग छ।

सन् १९५८ मा चीनका तत्कालीन कम्युनिष्ट नेता माओत्सेतुङको नेतृत्वमा ‘किल स्प्यारो क्याम्पियन्स’ सुरु गरिएको थियो। चीनको ग्रामीण क्षेत्रमा गरिएको खेतीपाती भँगेरोले नष्ट गरिदियो र यसैका कारण उत्पादन घट्यो भनेर सन् १९६२ ९करिब ५ वर्ष ०सम्म ‘किल स्प्यारो क्याम्पियन्स’ सञ्चालन गरियो।

पाँच वर्षको अवधिमा चीनमा लाखौँ भँगरो मारियो। तर परिणाम उल्टो निस्क्यो। त्यो अवधिमा झन् उत्पादन घट्यो। अन्त्यमा सो क्याम्पियन्स बन्द गरेर भँगेरो संरक्षण गर्न थालियो। त्यसपछि उत्पादन पनि वृद्धि हुँदै गयो र भँगेरो संरक्षणमा चिनियाँका चासो पनि बढ्दै गयो।

भँगेरो लोप हुँदै जानुको मुख्य दुईवटा कारण रहेका जानकारहरुले बताएका छन्। पहिलो बासस्थानको अभाव, दोस्रो दूरसञ्चारको बिटिएस टुरको विक्रिकरण।

म्याग्दीका ९१ वर्षीय खड्गबहादुर थापाका अनुसार कागलाई भँगेरोको मुख्य शत्रु मानिन्छ। पहिला पहिला घर बनाउँदा काग छिर्न नसक्ने तर भँगेरो भने सजिलैसँग छिर्न सक्ने प्वालहरु राखिन्थ्यो। ती प्वाल राख्नुको मुख्य उद्देश्य नै भँगेरोले गुँड बनाउन सकून् भन्ने हुन्थ्यो।

तर आजकल घर बनाउँदा त्यस्ता प्वालहरु राखिँदैन। बासस्थानको अभावमा शत्रु जीवको आक्रमण र असुरक्षित वातावरणले गर्दा भँगेरोहरु लोप हुँदै गएका थापाले बताए।

त्यसैगरी प्रविधिको विस्तारित सञ्जाल पनि भँगेरोलगायत पंक्षीका लागि प्रतिकूल बन्दै गएका विभिन्न अध्ययनहरुले देखाएका छन्।

मोबाइल सञ्चालन गराउने दूरसञ्चारको बिटिएस टुरको विकीरणले पनि भँगेरो खतरामा परेको कुरा बाहिर आएको छ।

नेपाल  दूरसञ्चार प्राधिकरणबाट प्रत्येक स्थानीय तहले केही रकम लिने र सो रकम भँगेरोलगायत चरा संरक्षण गर्ने वातावरण तयार गर्नुपर्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad