अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण सुदुरपश्चिममा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा डोटीका दुई जना र डडेल्धुराका एक जना छन्। यस्तै डडेल्धुरामा दुई जना घाइते भएका छन्। कैलालीमा एक जना बेपत्ता भएका छन्।
पहिरोका कारण बझाङमा ३, डोटीमा १ र डडेलधुरामा २ वटा घर भत्किएको सुदुरपश्चिम प्रदेश प्रहरीले जानकारी दिएको छ। बझाङको बागथला प्रहरी चौकी डुबानमा परेको छ।
कैलाली, डोटी, डडेल्धुरा, बझाङ र अछाममा सडक समेत अवरोद्ध भएका छन्।
कहाँ कति क्षति ?
कैलालीमा सोमबारराती गएको पहिरोका कारण अवरोद्ध भिमदत्त राजमार्ग एकतर्फी सुरु भएको छ। सडक माथिबाट पहिरो खस्दा पुर्ण रुपमा अबरुद्ध भएको थियो। सडक डिभिजन कार्यालय र स्थानीय प्रहरीको सक्रीयतामा सडक एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।
प्रहरी बिट स्याउलेका अनुसार गोदावारी नगरपालिका ८ स्याउलेको खुटिया खोलाले स्थानीय ३० वर्षीय गणेश आउजीलाई खोलाले बगाएको छ। खुटिया पूल देखि १ किलोमिटर उत्तर तर्फ खोलाबाट ढुङ्गा निकाल्ने क्रममा खोलाले बगाएको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन्। अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजिगरिरहेको छ।
सोमबार दिउँसोबाट गोदावरी नगरपालिका ८ स्याउले स्थित खुटिया खोलामा बालुवा, ढुङ्गा निकाल्न भनि गएका दुई जनाको उद्धार भएको छ।
नदीको बिच टापुमा फसेका गोदावरी नगरपालिका ९ बल्मीका ४० वर्षीय मानबहादुर थापा र उनकी श्रीमती ३६ वर्षीया रेबु थापाको प्रहरीले सकुशल उद्धार गरेको हो।
इलाका प्रहरी कार्यालय फल्टुडे कैलालीका अनुसार चुरे गागरपालिका ३ सल्लाघारी स्थित भिमदत्त राजमार्ग अवरोद्ध भएको छ। सडक डिभिजनसँग सडक खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ।
मोहन्याल गाउँपालिका ४ ठुलीगाडको बिच दोभानमा दुई जना फसेका छन्। ५० वर्षीय लोकबहादर बुढा मगर र उनकी श्रीमती ठुली गाडको बिच दोभानमा फसेको प्रहरीले जानकारी दिएको छ। उनीहरुको उद्धारका लागि प्रहरी खटिएको छ।
कञ्चनपुरमा महाकाली नदीको वहाव उच्च भएपछि आवतजावत नै बन्द गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी चौकी गड्डाचौकी कंचनपुरका अनुसार भिमदत्त नगरपालिका १२ ओदाली र ऐरी घाटमा करिव डेढसय घर परिवार डुवानमा परेका छन्।
दोधारा चादनी नगरपालिका १० कुतीया कभर, शान्तीटोल, बैदीफाटा र निशानीटोलमा माहाकाली नदीको बाढीका कारण करिव ७० घर डुवानमा परेको इलाका प्रहरी कार्यालय दोधाराले जानकारी दिएको छ।
डुवानमा रहेका ४० परिवारलाई ओमकार आधारभुत बिद्यालयमा र २० घर परिवारलाई आफन्तको घरमा सारिएको छ।
बझाङमा केदारस्यु गाउँपालिका १ नारीगौडाखोलाले जयपृथ्वि राजमार्गमा क्षति पु¥याएको छ।
प्रहरी बेस देउलेखका अनुसार बित्थडचिर गाउँपालिका ५ बोहराटोलमा पहिरोका कारण तीनवटा घरमा क्षति पुगेको छ।
अस्थायी प्रहरी पोष्ट बागथलाको कार्यालयभित्र बाढी पसेको छ। अहिले प्रहरी कार्यालय शिक्षोदय माबि बागथला सरेको छ।
डोटीमा भिमदत्त राजमार्ग अन्तर्गत गोल्डेन स्थिति सडक अवरुद्ध भएको छ। सायल गाउँपालिका ६ मेल्लेखका बिरबहादुर कुन्जेडाको घर भत्किएको छ। एक जना घर भित्रै च्यापिएका छन्। एक जनाको शव फेला परेको छ।
दिपायल सिलगढी नगरपालिका ६ पैया भन्ज्याङ उणितोलाका हेमराज बोहराको भत्किएको छ। पशुचौपाय मरेका छन्। मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ।
अछाममा चौरपाटी गाउपालीका ६ दुनी भावर भिरमा सडक अवरोद्ध भएको छ। सडक डिभिजन कार्यालय र प्रहरीले अहिले एकतर्फी सडक सुचारु गरेको छ।
डडेल्धुरामा पहिरोमा च्यापिएर एक जनाको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका १ भात्काडामा घर भत्किँदा ३२ वर्षीय बिष्णु अवस्थीको मृत्यु भएको हो। उनकी ६ वर्षीया छोरी सरिता घाइते भएकी छन्।
बाहिरको कोठामा रहेका उनकी श्रीमती, छोरी र छोरा सकुसल रहेका भात्काडा प्रहरीले जानकारी दिएको छ।
डडेल्धुरा अमरगढी नगरपालिका १ तडीपाटाका भिम रावलको घर पहिरोले भत्काएको छ। उनकी बुहारी २५ वर्षीया देवकी रावल, ७ वर्षीय ग्रिस रावल घाइते भएका छन्।
Shares

प्रतिक्रिया