ad ad

समाज


छात्राहरु अब छिटै विद्यालय फर्किन्छन्: तालिबान

छात्राहरु अब छिटै विद्यालय फर्किन्छन्: तालिबान

नेपालखबर
कात्तिक १, २०७८ सोमबार १६:३०, काठमाडौँ

अफगानिस्तानमा सरकार चलाइरहेको तालिबानले अब छिटै नै छात्राहरु पनि विद्यालय जान सक्ने बताएको छ।

तालिबानको गृह मन्त्रालयका प्रवक्ता सइद खोस्टीले आइतबार छात्राहरु विद्यालय फर्किने निश्चित मिति भने शिक्षा मन्त्रालयले तोक्ने बताएका छन्।

‘मेरो बुझाइ र सूचनाअनुसार अब निकै कम समयमा सबै युनिभर्सिटी र विद्यालय खुल्नेछन् र महिला तथा बालिका विद्यालय फर्किनेछन्’, अलजाजिरासँगको कुराकानीमा उनले भने।

तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै उसले किशोरीहरुलाई विद्यालयमा सुरक्षित वातावरण नबन्दासम्म घरमै बस्न निर्देशन दिएको थियो। तर, छात्रहरुलाई भने विद्यालय फर्किने अनुमति दिइसकेको छ।

छात्रालाई विद्यालय फर्किने अनुमति नदिएसँगै तालिबानले यसपटक पनि सन् १९९० को दशकको झल्को दिने गरी कट्टरपन्थी शासन चलाउने आशंका बढेको थियो। तालिबानले यसअघिको शासनकालमा महिला र बालिकालाई कानुनीरुपमा शिक्षा र रोजगारीबाट टाढा राख्ने निर्णय गरेको थियो। 

गत अगष्टमा तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै उसले महिला र बालिकाको अधिकारको रक्षा गर्ने बताएको थियो। तर, त्यसयता उसले चालेको कदमले भने अन्तर्राष्ट्रिय समुदायमा तालिबानप्रतिको चिन्ता बढाएको छ । तालिबानले बनाएको सरकारमा पनि सबै पुरुष छन्। 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले अक्टोबरको सुरुमा तालिबानले महिला र बालिकाको मानव अधिकार र मानवीय कानुनको वाचा पूरा नगरेको भन्दै चिन्ता व्यक्त गरेका थिए। 

यसअघि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले महिला तथा बालिकालाई शिक्षाबाट वञ्चित गर्नु इस्लामिक नियम नरहेको बताएका छन्। उनले महिलालाई शिक्षा दिने वा नदिने भन्ने विषयसँग धर्मको केही पनि लिनुदिनु नरहेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .