समाज


आज गाई, गोरु र कृषक पूजा, म्ह पूजा दुई दिन

आज गाई, गोरु र कृषक पूजा, म्ह पूजा दुई दिन

नेपालखबर
कात्तिक ११, २०७६ सोमबार ०:४७,

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज (सोमबार) गाई, गोरु र कृषकको पूजाआजा गरी मीठा-मीठा परिकार खुवाएर मनाइँदै छ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो।

गाईले दिने दूध आमाले खुवाएको दूधजत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। स्थानीय जातका गाईमा ने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ।

गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ। नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जान वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत छ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा–मीठा खानेकुरा खान दिने प्रचलन छ। यसैगरी वर्षभर गोरु जोत्ने एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा–मीठा परिकार खुवाइन्छ।

म्ह पूजा  दुई दिन  
समितिले आजै नेवार समुदायले गर्दै आएको आत्म (म्ह) पूजा गर्नुपर्ने निर्णय गरेको छ। नेवार समुदायका मानिस भने आत्म पूजा आज (सोमबार) र भोलि (मंगलबार) दुई दिन गर्नेमा विभाजित भएका छन्। समितिका सदस्य कीर्तिमदन जोशी शास्त्रसम्मत निर्णयअनुसार सोमबार नै आत्म पूजा गर्ने बताउँछन्।

विशेषगरी पहाडी जिल्लाका नेवार समुदायले सोमबारै आत्मपूजा गरी मंगलबार भाइटीका लगाउने तयारी गरेका छन्।

उपत्यका र बाक्लो नेवारी बस्ती भएका स्थानमा भने नेवार समुदाय म्ह पूजा एवं भाइटीका मनाउन विभाजित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad