वीरगञ्जका अग्नि नियन्त्रक बुनिलाल चौरसियाको हत्या व्यवसायिक समूहबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
पर्सा प्रहरीका अनुसार बिहीबार राति स्थानीय दीपककिशोर अग्रवालको घरमा गएका चौरसिया त्यसपछि सम्पर्कविहीन भएका थिए। प्रहरीले शनिबार उनको शव माइधीया पोखरीको डिलमा फालिएको अवस्थामा फेला पारेको थियो।
पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले चौरसियाको हत्या कारण आर्थिक लेनदेन र ब्यक्तिगत सम्बन्ध हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको बताए। प्रहरीले दीपक र उनकी श्रीमती निधि अग्रवाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
एसपी राठौरका अनुसार बुनिलाल बिहीबार साँझ वीरगन्ज ६ माइस्थानस्थित दीपकको घरमा गएको देखिएको हो। प्रहरीले उक्त घरको समेत खानतलासी लिएको छ।
हत्या गरिएका अवस्थामा भेटिएको बुनिलाल चौरसियाको शव। तस्बिरः सामाजिक सञ्जालबाट साभार
‘हाम्रो अनुसन्धान लगभग टुंगिएको छ,’ एसपी राठौरले नेपालखबरसँग भने ‘प्राविधिक पुष्टिका लागि दूरसञ्चार प्रदायक कम्पनीबाट तथ्यांक पर्खदै छौं।’
प्रहरीका अनुसार तिहार बिदा परेकाले शंकास्पद व्यक्ति र मृतकको कल डिटेल लिन नसकिएको हो।
वीरगन्ज महानगरपालिका कार्यालयको वारुण यन्त्र शाखामा कार्यरत अग्नि नियन्त्रक बुनिलालको शवको प्रकृति हेर्दा छाती, टाउको र पेटमा तीन राउन्ड गोली लागेको देखिएको प्रहरीले जनाएको छ। उनको शव प्लाष्टिक र कपडामा बेरेर पोखरीको डिलमा फालिएको थियो।
हत्या गरिएका अवस्थामा भेटिएको बुनिलाल चौरसियाको शव। तस्बिरः सामाजिक सञ्जालबाट साभार
प्रहरीले घटना अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर र प्राविधिक समेत झिकाएर बिस्तृत अनुसन्धान गरिरहेको छ।
यसैबीच हत्याको बिरोधमा राष्ट्रिय जनता पार्टी नेपालका महासचिव राजेशमान सिंहको नेतृत्वमा बिरोधको कार्यक्रम समेत सार्वजनिक भएको छ। महासचिव सिंहको पकड क्षेत्रका स्थानीय चौरसियाको हत्यामा प्रहरी चलखेल हुनसक्ने भन्दै त्यसको विरोध कार्यक्रम आयोजना भएको हो।

प्रतिक्रिया