काठमाडौं उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधनमा यात्रा गर्न नपाउने भएका छन्।
काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले आज बिहानदेखि लागू हुने गरी यस्तो निर्णय गरेका हुन्।
उपत्यकाको भीडभाडलाई मध्यनजर गरी सवारी साधन सञ्चालनमा छुट्टै मापदण्ड बनाएर लागू गरिएको हो। सोअनुसार स्वीकृत सिट क्षमताअनुसार मात्रै यात्रु राख्नुपर्ने, सबै यात्रुले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने, मास्क नलगाएका यात्रुलाई सवारी साधानमा प्रवेश रोक लगाउने, चालक र सहचालकले अनिवार्यरूपमा मास्क, भाइजर र पञ्जा लगाउनु पर्ने, सवारी साधनको ढोकामा अनिवार्यरूपमा स्यानिटाइजर राख्नुपर्ने, सवारी साधनलाई अनिवार्यरूपमा दैनिक स्यानिटाइज गर्न भनिएको छ।
आजदेखि लागू गरिएको निषेधाज्ञा अर्को आदेश नभएसम्मका लागि लागू हुने उपत्यकाका स्थानीय प्रशासनले जनाएका छन्।
कोभिड–१९ सङ्क्रमण कायमै रहेकाले अनावश्यकरूपमा बाहिर ननिस्किन, भीडभाड, जुलुस, जात्रा, महोत्सव नगर्न पनि स्थानीय प्रशासनले आग्रह गरेका छन्।
चाडपर्व स्वास्थ्यका सबै मापदण्ड पालना गरी साङ्केतिकरूपमा मनाउनुपर्ने आदेशमा उल्लेख छ। चाडवाडको बेला हुनसक्ने सम्भावित जोखिबाट बच्न, आधिकारिक काउन्टरबाट टिकट काटी यात्रा गर्न र सवारी साधनको छतमा यात्रु नराख्न पनि निर्देशन दिइएको छ।
बैठक, गोष्ठी, सेमिनार गर्दा सकेसम्म भर्चुअल माध्यम प्रयोग गर्न र यदि उपस्थित हुनैपरेमा स्वास्थ्यका सबै मापदण्ड पालना गर्न भनिएको छ। सार्वजनिक सेवा प्रदायक संस्थालाई यथासम्भव अनलाइनबाट सेवा प्रवाह गर्न आग्रह गरिएको छ । उपस्थित हुनैपर्ने भएमा स्वास्थ्यका सबै मापदण्ड अपनाउन भनिएको छ।
होटल पार्टीप्यालेसले पनि कर्मचारीलाई सकेसम्म आफैँ एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन भनिएको छ। सबै व्यवसाय सञ्चालन गर्दा भौतिक दूरी कायम गरी स्वास्थ्यका सबै मापदण्ड प्रयोग गर्न स्थानीय प्रशासनले आग्रह गरेका छन्।
त्यसैगरी स्थानीय ढुवानी राति १ बजेदेखि बिहान ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजेसम्म नगर्न भनिएको छ भने निर्माण सामग्रीका ढुवानी राति १ बजेदेखि बिहान ५ बजेसम्म गर्नुपर्ने आदेशमा उल्लेख छ। रासस
Shares

प्रतिक्रिया