समाज


बैतडीमा गर्भपतन गराउनेको संख्यामा कमी

बैतडीमा गर्भपतन गराउनेको संख्यामा कमी

नेपालखबर
असोज १४, २०७८ बिहिबार १०:४८, काठमाडौँ

बैतडीमा गर्भपतन गराउनेको सङ्ख्या घट्दै गएको छ। स्वास्थ्य कार्यालयको गएको तीन वर्षको तथ्याङ्कअनुसार जिल्लामा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या घट्दै गएको पाइएको हो। 

तथ्याङ्कअनुसार आर्थिक वर्ष  २०७५/७६ मा ७७७ जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए।

त्यसैगरी २०७६/७७ मा ५८१ र २०७७/७८ मा ५६५ ले सुरक्षित गर्भपतन सेवा लिएका जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। तीमध्ये सुरक्षित गर्भपतन गराउनेमा ५५ जना २० वर्षमुनिका किशोरी छन्। जिल्लामा आव २०७५/७६ मा २४, आव २०७६/७७ मा २० र गत आवमा ११ जना २० वर्षमुनिका किशोरीले गर्भपतन गराएका छन्। 

परिवार नियोजन सेवाको उपलब्धता र प्रयोग बढ्दै गएकाले गर्भपतन गराउने महिलाको सङ्ख्यामा कमी आएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। ‘परिवार नियोजनको सेवा लिने बढेकाले सुरक्षित गर्भपतन गराउने घटेका हुन सक्छन्,’ उनले भने।

कोरोना कहरका कारणले गर्दा पनि कसैले मेडिकलबाट औषधि किनेर पनि गर्भपतन गराएको हुनसक्ने अनुमान गरिएको छ। तराईतिर गर्भपतन गराउनेको सङ्ख्या बढेको देखिएकाले पनि सुरक्षितरुपमा गर्भपतन गराएको हुनसक्ने स्वास्थ्य कार्यालयले जनाएको छ। 

यस्तै जिल्लामा नौवटा सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेको छ । जिल्ला अस्पताल, सिद्धेश्वर स्वास्थ्यचौकी, पाटन प्राथमिक स्वास्थ्यकेन्द्र, विशालपुर स्वास्थयचौकी, शर्माली स्वास्थ्यचौकी, हाट स्वास्थ्यचौकी, रिम स्वास्थ्यचौकी, कोटपेटरा स्वास्थ्यचौकी र गिरेगडा स्वास्थ्यचौकीले गर्भपतन सेवा दिँदै आएको छ। 

तालिम प्राप्त स्वास्थ्यकर्मीको अभावमा बाँकी संस्थामा सेवा बन्द गरिएको हो। सूचीकृत संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मी नहुँदा अन्य ठाउँमा गएर असुरक्षित गर्भपतन गराउनाले जोखिम बढ्दै गएको छ। 

सुरक्षित गर्भपतन सेवाका लागि सूचीकृत भएका केही स्वास्थ्य संस्थाबाट सो सेवा बन्द भएपछि असुरक्षित गर्भपतन गराउने जोखिम बढ्दै गएको छ। 

जथाभावी मेडिकलबाट औषधि किनेर गर्भपतन गराउँदा जोखिम हुने भएकाले सूचीकृत स्वास्थ्य संस्थाबाट मात्रै सुरक्षित गर्भपतन सेवा लिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्। हाल सेवा बन्द रहेका १५ सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाहका लागि पहल भइरहेको स्वास्थ्य कार्यालय प्रमुख भट्टले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad