ad ad

समाज


नारायणहिटीमा खिमबहादुरले भने– श्रीपेच लगाएर राजा हुन आएको हुँ, पिस्तोल ताक्दैमा डराउन्न

नारायणहिटीमा खिमबहादुरले भने– श्रीपेच लगाएर राजा हुन आएको हुँ, पिस्तोल ताक्दैमा डराउन्न

सीताराम बराल
असोज ९, २०७८ शनिबार १९:१७, काठमाडौँ

चर्चित कार्टुनिस्ट रविन सायमिले शुक्रबार दिउँसो आफ्नो फेसबुकमा व्यंग्यात्मक स्टाटस लेखे– झन्डै राजतन्त्र फर्केको!  

कार्टुनिस्ट सायमिको स्टाटसमा ठट्टा गर्दै एक जनाले प्रश्न गरेका छन्, ‘राजाको पहिलो आदेश के हुन्थ्यो होला?’ 

अर्का व्यक्तिले सोधेका छन्, ‘लाएर (श्रीपेच) आदेश दिएको भए के हुन्थ्यो होला?’ 

शुक्रबार (८ असोज) नारायणहिटी दरबार अवलोकन गर्न गएका रुकुमको मुसिकोट नगरपालिका–११ का खिमबहादुर घर्तीमगर (२६ वर्ष) ले त्यहाँ राखिएको श्रीपेच झिक्न सोकेस फुटाल्ने प्रयास गरेपछि सायमिले त्यस्तो स्टाटस लेखेका थिए। 

श्रीपेच लगाएर आफैं ‘राजा हुने’ योजनाअनुसार त्यसो गरेको बयान हाल प्रहरीको नियन्त्रणमा रहेका खिमबहादुरले दिएका छन्। २०७५ असोजदेखि सार्वजनिक प्रदर्शनमा राखिएको श्रीपेच अनधिकृत व्यक्तिले निकालेर ‘राजा हुने प्रयास’ गरेको यो नै पहिलो घटना हो। 

नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहाल अभियुक्त खिमबहादुर मानसिक रोगी रहेको जानकारी प्रहरीले दिएको बताउँछन्। 

सुरुमै शंकास्पद 
नारायणहिटी दरबार स्रोतका अनुसार, त्यस दिन खिमबहादुर सामान्य व्यक्तिसरह नै २ सय रुपैयाँको टिकट काटेर नारायणहिटी संग्रहालय प्रवेश गरेका थिए। तर अनुसन्धानले नारायणहिटी प्रवेशपछि उनले केही असामान्य व्यवहार गरेको देखाएको छ। 

नारायणहिटी संग्रहालयभित्र प्रवेश गरेपछि सुरुमै उनले एउटा कोठामा राखिएको अभिनन्दन पत्र निकाल्ने प्रयास गरेका थिए। तर, त्यहाँका कर्मचारीले रोकेपछि उनले माफी मागेको पत्ता लागेको छ। 

‘अभिनन्दन पत्र सिसाको फ्रेमभित्र थियो। उसले त्यसलाई निकाल्ने प्रयास गरेको रहेछ’, स्रोतले नेपालखबरसँग भन्यो, ‘त्यो देखेर कर्मचारीले रोकेपछि निकाल्न हुँदैन भन्ने जानकारी आफूलाई नभएको भन्दै माफीसमेत मागेको रहेछ।’

त्यसको केही छिनपछि खिमबहादुर संग्रहालयका अन्य कोठा अवलोकन गर्दै श्रीपेच राखिएको रुपन्देही कक्षमा पुगे। त्यस कक्षको जिम्मेवारीमा रहेका सुरक्षाकर्मी र कर्मचारी ढोकाबाहिर प्यासेजमा थिए।    

श्रीपेच राखिएको कक्षमा प्रवेश गर्नासाथ दायाँतर्फ भित्तोमा सिसाका सोकेस देखिन्छन्। बीचमा अवलोकनकर्ताहरू हिँड्ने प्यासेज छ भने दायाँतर्फ श्रीपेच–राजदण्ड राखिएको बुलेटप्रुफ सोकेस छ। 

भित्र कोही पनि नरहेको मौका पारेर खिमबहादुरले दायाँतिरको भित्तामा रहेको सोकेसमा मुड्की बजारे। जसका कारण उनको हातमा चोटसमेत लागेको छ। 

हतियारको खोजी 
प्रहरीको नियन्त्रणमा रहेका खिमबहादुरले नारायणहिटीमा रहेको श्रीपेच लगाउनकै लागि आफूले सोकेस फुटाएको बयान दिइसकेका छन्। यसअघि पनि नारायणहिटी संग्रहालय अवलोकन गरेका थिए वा थिएनन्, त्यो भने उनले बताएका छैनन्। 

श्रीपेच राखिएको सोकेसभन्दा पहिले उनले भित्ताको सोकेस फुटाउनुको उद्देश्य त्यहाँ रहेका हतियार निकाल्नु थियो। यसबाट उनी पहिले पनि अवलोकनका लागि त्यहाँ पुगेका थिए कि भन्ने आशंका गर्न सकिन्छ।  

सोकेसमा केही चाँदीका कप पनि छन्। श्रीपेच प्रदर्शनीमा राख्नुअघि राजतन्त्रकालदेखि नै ती कप त्यही सोकेसमा रहेको नारायणहिटी दरबार संग्रहालयका पूर्वप्रमुख रोहित ढुंगाना बताउँछन्।  

त्यही सोकेसमा दापभित्र एउटा खुकुरी पनि सजाएर राखिएको थियो।

‘दाप रातो मखमलीको कपडाले बेरिएको थियो, दापभित्र खुकुरी थियो’, स्रोतले भन्यो, ‘त्यही खुकुरी निकाल्न उसले सोकेसको सिसामा मुड्कीले हानेको देखिन्छ।’ 

सिसा फुटेपछि ठूलो आवाज आयो। त्यसपछि सुरक्षाकर्मी र कर्मचारी आडैको प्यासेजबाट रुपन्देही कक्षमा प्रवेश गरे। र, खिमबहादुरलाई निन्त्रणमा लिए। 

पिस्तोल ताकेर पक्राउ   
सोकेसका सिसा फुटेपछि खिमबहादुरले त्यहाँभित्र रहेका चाँदीका कपको साटो खुकुरी झिके। यसबाट उनी खुकुरीले हानेर श्रीपेच राखिएको सोकेस फुटाउने र कोही नजिक आए छप्काउने योजनामा थिए भन्ने अनुमान गर्न सकिन्छ।  

तर, दापभित्र रहेको खुकुरी समात्नासाथ उनी सुरक्षाकर्मीको नियन्त्रणमा परे। संग्रहालयका पूर्वप्रमुख ढुंगानाका भनाइमा– श्रीपेच सुरक्षाका लागि नेपाली सेनाको भैरवनाथ गणबाट सैनिक खटिने गरेका छन्।  

खिमबहादुर पक्रिन सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो। समातिइसकेपछि पनि फुत्किन उनले जोडबल गरेका कारण हतियार प्रयोगको धम्कीसमेत दिनुपरेको थियो। तर, पनि खिमबहादुरले आफू नडराउने जवाफ सुरक्षाकर्मीलाई दिए। 

‘नियन्त्रणमा लिएपछि उनी यति धेरै छटपटाएछन् कि यसले गर्दा उनलाई नियन्त्रण राखिरहन निकै अप्ठेरो पर्यो’, संग्रहालय स्रोतले नेपालखबरसँग भन्यो, ‘त्यसपछि एक जना सुरक्षाकर्मीले उनको कन्चटमा पिस्तोल तेर्स्याए। त्यति हुँदा पनि उनी डराएनन्।’

कन्चटमा पिस्तोल ताक्दा पनि उनले आफू डराउने व्यक्ति नभएको जवाफ दिएका थिए। 

‘जो सत्तामा गए पनि देशको हालत जस्ताको तस्तै भयो। त्यसैले श्रीपेच लगाएर आफैं राजा हुन्छु भनेर आएको हुँ’, उनले भनेका थिए, ‘तपाईंहरूले पिस्तोल ताक्दैमा डराउने मान्छे म होइन।’

श्रीपेच कक्षमा खुकरी किन? 
टिकट लिइसकेपछि संग्रहालय छिर्न मेटल डिटेक्टरसहितको द्वारको व्यवस्था छ। अवलोकनकर्ताको साथमा कुनै शंकास्पद वस्तु रहेको संकेत मिले सुरक्षाकर्मीले त्यहाँ थप खानतलासीसमेत गर्छन् र फेला परे पक्राउ गर्छन्। 

यही कारण खिमबहादुरले कुनै शंकास्पद सामग्री लान पाएनन्। तर श्रीपेच राखिएको कक्षमा छिर्नासाथ उनले सोकेसमा मुड्कीले हाने, जहाँ चाँदीका कप तथा दापसहितको खुकुरी थिए। सोकेसको सिसा फुटेपछि उनले खुकुरी हातमा लिए। 

त्यतिबेलै सुरक्षाकर्मीले नसमातेका भए उनले श्रीपेच राखिएको ‘बुलेट प्रुफ’ सोकेसमा खुकुरीले हान्थे होलान्। तर उनले त्यो मौका नै पाएनन्। योसँगै श्रीपेच लगाएर केही छिन भए पनि ‘राजा बन्ने’ उनको सपना चकनाचुर भयो।  

यो प्रकरणपछि श्रीपेच राखिएको कक्षमा चाँदीका कप राखिनु स्वाभाविक भए पनि हतियार (खुकुरी) चाहिँ किन राखियो भन्ने प्रश्न उठेको छ। 

जानकारीअनुसार, रुपन्देही कक्ष गणतन्त्रअघि शाही पाहुनाका लागि ‘डायनिङ रुम’का रूपमा प्रयोग हुने गरेको थियो। त्यही भएर त्यहाँको सोकेसमा चाँदीका कप राखिएका हुन्, पाहुनालाई चिया दिन। 

नारायणहिटी राजदरबारलाई संग्रहालयको रूप दिनुअघि सो कक्षमा सोकेसमा चाँदीका कपसँगै मखमली कपडाले बेरिएको दापसहितको खुकुरी पनि थियो। र, सरकारले दरबार जिम्मा लिँदा यसैबमोजिमको लगत राखेको थियो।  

‘श्रीपेच रुपन्देही कक्षमा राखिँदा सोकेसमा रहेका चाँदीका कपहरू र खुकुरी अन्यत्र सारिएनन्’, नारायणहिटी दरबार संग्रहालयका एक अधिकृतले नेपालखबरसँग भने, ‘लगतबमोजिमका सामग्री खोजियो भने कहाँ खोज्न जाने भनेर उतिबेला ती सामग्री नसारिएको हो।’  

यो प्रकरणपछि अब खुकुरी र चाँदीका कप सम्भवतः श्रीपेच राखिएको रुपन्देही कक्षमा रहने छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .