ad ad

समाज


उपत्यकामा खोप अभियान उत्साहजनक, ४१ प्रतिशतले लगाए खोप

उपत्यकामा खोप अभियान उत्साहजनक, ४१ प्रतिशतले लगाए खोप

यज्ञराज जोशी
असोज ५, २०७८ मंगलबार ७:१३, काठमाडौँ


काठमाडौँ उपत्यकामा कोभिड–१९ विरुद्धको खोप लगाउनेहरुको संख्या उल्लेख्य रुपमा बढेसँगै यस पटकको दसैँ गत सालको तुलनामा सुरक्षित हुने संकेत देखिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म काठमाडौँ उपत्यकाको ४१ प्रतिशतलाई दुवै मात्रा खोप लगाइसकिएको छ। 

काठमाडौं, ललितपुर र भक्तपुरको साढे ३२ लाख जनसंख्यामध्ये ४१ प्रतिशतलाई दुवै मात्रा खोप लगाइसकिएको मन्त्रालयका खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए। पहिलो मात्रा खोप लगाउनेको संख्या तीन जिल्लामा ५० प्रतिशत पुगेको समेत उनले बताए।  

मन्त्रालयको तथ्यांकअनुसार तीनवटा जिल्लाका १५ लाख ५५ लाख ८९५ नागरिकले पहिलो मात्रा र १३ लाख ११ हजार ८२० जनाले दुवै मात्रा खोप लगाइसकेका छन्। 

मन्त्रालयको तथ्यांकअनुसार काठमाडौँमा १८ वर्षमाथिका १४ लाख ९१ हजार ३२४ जनाले खोप लगाउनुपर्ने छ। जसमध्ये ७६ प्रतिशतले पहिलो डोज र ६२.५ दोस्रो डोज खोप लगाइसकेका छन्।  

यस्तै भक्तपुरका २ लाख ४५ हजार ४१३ मध्ये ६३ प्रतिशतले दुवै डोज खोप लगाएका छन्। ललितपुरको खोप लगाउनुपर्ने जनसंख्या ३ लाख ८० हजार ६३० मध्ये ६९ प्रतिशतले पहिलो डोज र ५८ प्रतिशतले दोस्रो डोज खोप लगाएका छन्।  

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले उपत्यकामा खोप लगाउनेको संख्या ४० प्रतिशतभन्दा माथि हुँदा केही सुरक्षित महसुस भए पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न छाड्न नहुने बताए।

‘अग्रपंक्तिमा खटिएका सबैलाई र प्राथमिकताका आधारमा पनि उपत्यकामा ४० प्रतिशतभन्दा बढी जनसंख्यामा खोप पुग्नु सुखद् कुरो हो,’ उनले भने, ‘चाँडो भन्दा चाँडो आगामी दिनमा पनि खोप उपलब्धताका आधारमा सबैलाई लगाउँदै गइनेछ। तर, खोप लगाएकाहरुबाट पनि संक्रमण सर्ने जोखिम रहने भएकाले स्वास्थ्य मापदण्ड पालना गर्न भने छाड्नु हुँदैन।’ 

सरकारले १८ वर्षभन्दा माथिका ७१.६ प्रतिशत अर्थात् कुल दुई करोड १७ लाख ५६ हजार सात सय ६३ जनालाई खोप लगाउने लक्ष्य राखेको छ। आइतबारसम्म कुल जनसंख्याको २० प्रतिशतले पहिलो डोज र १८ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेका छन्। 

देशभर कोभिसिल्ड पहिलो मात्रा २६ लाख १ हजार तीन सय २० र दोस्रो मात्रा १४ लाख ६४ हजार १११ जनाले लगाइसकेका छन्। यस्तै भेरोसेल पहिलो मात्रा ३६ लाख एक हजार ९९६ र दोस्रो मात्रा २७ लाख ५ हजार १११ जना तथा जोन्सन एन्ड जोन्सन १४ लाख ९ हजार ६४३ जनाले लगाइसकेका छन्। 

सरकारले आगामी असोजसम्म लक्षित वर्गको ३३ प्रतिशत र चैत मसान्तसम्म लक्षित सबैलाई खोप लगाइसक्ने योजना बनाएको छ। असोज मसान्तभित्र एक करोड पाँच लाख ४८ हजार मात्रा खोप र चैतसम्म तीन करोड २३ लाख मात्रा खोप लगाइसक्ने योजना छ।

सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना र फाइजर खोप ल्याउने तयारी समेत गरेको छ। काठमाडौं उपत्यकामा मात्रै १८ वर्षमुनिका खोप लगाउनुपर्ने १० लाख जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।  

मोडर्ना ४० लाख र फाइजर ६० लाख मात्रा ल्याउने तयारी छ। मोडर्नाका खोपका लागि भुक्तानी भइसकेको र फाइजरका लागि विश्व बैंक तथा गाभीको सहकार्यमा भुक्तानीको तयारी गरिएको छ। 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बढीभन्दा बढी जनसंख्यालाई खोप लगाउँदा अस्पतालमा बिरामीको चाप पनि घट्ने भएकाले सुरक्षित अनुभव हुने बताए। खोप बढीलाई लगाउँदा तेस्रो लहरको सम्भावना पनि घटेर जाने उनले बताए। 

‘४० प्रतिशत बढीमा खोप लगाउनु भएको केही सुरक्षित भएको भनेर पनि हेर्न सक्छौँ। खोप जति लगायौँ, उति गम्भीर बिरामी पर्ने, अस्पताल आउने सम्भावना कम हुन्छ,’ पुनले भने, ‘कम मानिस अस्पताल आए बिरामीले गुणस्तरीय सेवा पाउने र ज्यानै जाने सम्भावना कम हुन्छ। यसले तेस्रो लहरको सम्भावना पनि घटाउँछ।’ 

तर, खोप लगाउँदैमा संक्रमण नै नहुने नठान्न उनले आग्रह गरे। कुल जनसंख्याको ७०–८० प्रतिशतलाई खोप लगाए सुरक्षित मान्न सकिने उनको भनाइ छ। तर खोप लगाएका मानिसहरुबाट पनि संक्रमण सर्ने भएकाले दसैँमा गाउँघर जादा जनस्वास्थ्यका मापदण्ड पालना गर्न उनले सुझाव दिए। 

चीनबाट आएको खोप लगाउन थालियो
चीनबाट खरिद गरिएको कोभिड–१९ विरुद्धको ४४ लाख डोज खोप नेपाल आइपुगेको छ। चीनबाट खरिद गरेको ६० लाखमध्ये १६ लाख मात्रा खोप यसअघि नै आइसकेको थियो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार योसँगै नेपालमा अहिलेसम्म एक करोड ७७ लाख मात्रा खोप आइसकेको छ। चीनबाट आएको खोप सोमबारबाट लगाउन सुरु गरिएको छ। पहिलो मात्रा भेरोसेल लगाएकालाई यसै खोपमार्फत दोस्रो मात्रा दिइन लागिएको हो। 

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका १४५ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको हो। कार्यालयले यही असोज ४ देखि ६ गतेसम्म ती खोप केन्द्रमा गई खोप लगाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ। 

कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार खोप लगाउनका लागि काठमाडौँ महानगरपालिकामा ३२, कीर्तिपुरमा १०, चन्द्रागिरिमा १५, नागार्जुनमा १०, तारकेश्वरमा ११, दक्षिणकालीमा नौ, बुढानीलकण्ठमा १३, टोखामा ११ तथा गोकर्णेश्वर, शंखरापुर र बागेश्वरी मनहरामा नौ÷नौ खोप केन्द्र तोकिएका छन्।

त्यसबाहेक नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप केन्द्र तोकिएको छ। 

नेपालमा हाल सक्रिय संक्रमितको संख्या २४ हजार ३१३ जना छ।  पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला १० र दुई सयभन्दा बढी संक्रमित हुने जिल्ला २२ छ। अहिलेसम्म सात लाख ४९ हजार दुई सय १३ कोरोनामुक्त भएका छन्। .संक्रमणमुक्त हुने दर ९५.५ प्रतिशत छ। अहिलेसम्म संक्रमणबाट ११ हजार ४० जनाको निधन भएको छ। 

कुन जिल्लामा कतिले लगाए खोप?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .