समाज


घुम्टो च्यातियो, पार्टपुर्जामा खिया लाग्यो, तर रेल चल्ने टुंगो छैन

एक वर्षअघि आजै भारतबाट ल्याइएको थियो दुई रेल सेट
घुम्टो च्यातियो, पार्टपुर्जामा खिया लाग्यो, तर रेल चल्ने टुंगो छैन

नेपालले नयाँ दुई सेट ब्रोडगेज रेल भारतबाट खरिद गरी ल्याएको शनिबार एक वर्ष पूरा भएको छ। 

जनकपुर-जयनगर ब्रोडगेज लिकमा चलाउन २०७७ असोज २ गते आजकै दिन दक्षिण भारतबाट तामझामसहित नेपाली झण्डा फहराउँदै ल्याइएका दुई सेट रेल नेपाल अलपत्र परेका हुन्। 

२ असोज २०७७ मा भारतीय कम्पनी कोंकन रेल्वे कर्पोरेसनबाट ल्याएका रेल एक वर्षदेखि धनुषाको इनरुवा रेल्वे स्टेशनमा त्रिपाल ओढाएर थन्काइएको छ। रेलमाथि ओढाइएका त्रिपाल पनि अहिले च्यातिइसकेका छन्। 

जनकपुर आएकै दिन नेपाल रेल्वे कम्पनीका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईले दुई महिनाभित्रै कानुनी प्रकृया पूरा गरी जनशक्ति राखेर रेल चलाउने आश्वासन दिएका थिए। 

तर, कानुनी जटिलताले एक वर्ष बित्दा अझै रेल चल्न सकेको छैन। कहिलेदेखि संचालन हुने निश्चित छैन। एक वर्षदेखि थन्किएका रेल नै कवाडीमा परिणत हुने खतरा बढ्दै गएको छ। 

पाँच दलीय गठबन्धन सरकारले नियुक्त गरेका नेपाल रेल्वे कम्पनीका नवनियुक्त महाप्रबन्धक निरञ्जन झाले रेल सञ्चालनसम्बन्धी अध्यादेश निस्क्रिय भइसकेकोले त्यसलाई पुन: सक्रिय गराएर सदनबाट पास नहुँदासम्म रेल चल्न नसक्ने बताए। 

'कानुनको अभावमा रेल चलाउन समस्या छ। त्यतातिर हामी लागिरहेका छौँ,' उनले नेपालखबरसँग भने 'रेल सञ्चालनका लागि निर्माणाधीन भौतिक संरचना लिक, भवन स्टेसन लगायत हस्तान्तरण हुन बाँकी नै छ। थुप्रै ठाउँमा भवन जीर्ण भइसके छ। तिनलाई मर्मत नगरी हस्तान्तरण हुन सक्दैन।' 

अर्को सबैभन्दा ठूलो जटिलता रेल सञ्चालनसम्बन्धी कानुन हो। त्यही कारणले रेल सञ्चालन मिति अझै टुंगो लाग्न सकेको छैन। 

पार्किङमा त्रिपालको घुम्टोभित्र थन्काएर राखिएको रेलमा खिया लाग्न थालिसकेको छ। हावाहुरी र वर्षाले दुवै रेल छोपेको त्रिपाल च्यातिएर पाटपुर्जामा खिया लाग्न थालेका छन्। 

जनकनन्दनी गाउँपालिका-१ इनरुवामा राखिएको दुई सेट रेल सशस्त्र प्रहरीको निगरानीमा राखिएको छ। रेल्वेका ३० जना कर्मचारीले रेखदेख गर्ने गरेका छन्।

दुई सेट रेल भारतीय सरकारी कम्पनी कोंकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरेर ल्याइएको थियो।

भारतको आर्थिक सहयोगमा रेल सञ्जाल विस्तार गर्न भारत सरकारसँग सन् २०१० मा सम्झौता भएको थियो। सन् २०११ माघ महिनादेखि निर्माण थालिएको जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटर भौतिक पूर्वाधार तथा रेल्वे लिक निर्माणको ठेक्का भारतीय इकर्न इन्टरनेसनल कम्पनीले लिएको छ।

परियोजनाको प्रथम चरणमा जयनगर-कुर्था ३५ किलोमिटर, दोस्रो चरण अन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र  तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालन हुने सरकारको योजना थियो। 

जसमध्ये जयनगरदेखि कुर्थासम्मको लिक दुई वर्षदेखि पूर्ण तयारी अवस्थमा छ। कुर्थादेखि भंगहासम्मको लिक लगभग तयारी अवस्थामा रहेको पूर्ण तयारीका लागि दुई महिना अझै लाग्ने रेल्वे विभागका साइड इन्जिनियर विनो ओझाले बताए।

असोज २, २०७८, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .