पशुपति आर्यघाटका कामदारहरूले आफूहरूको माग पूरा नभए अनिश्चितकालसम्मका लागि पशुपतिमा दाहसंस्कार गर्ने काम बन्द गर्ने चेतावनी दिएका छन्।
घाट सेवा केन्द्रका सम्पूर्ण कामदारका नाममा ब्यानर सूचना जारी गर्दै उनीहरूले आफूहरूको माग पूरा नभए आजै (बुधबार) देखि शव दाह गर्ने, दाउरा बोक्ने र खाल्डो खन्नेलगायत दाहसंस्कारका सबै काम बन्द गर्ने चेतावनी दिएका हुन्।

तर पशुपति क्षेत्र विकास कोषका अधिकारीहरूले अहिले बिहान ११ बजेका लागि वार्तामा बोलाएकाले त्यस बेलासम्मका लागि आन्दोलन स्थगित गरिएको घाटका कामदार विदुर बुढाथोकीले बताए।
‘अहिले साढे ८ बजेबाट आन्दोलन ११ बजेको वार्ताका लागि स्थगित गरेका छौं,’ बुढाथोकीले नेपालखबरसँग भने, ‘तर वार्ता सफल भएन भने हामी हड्तालमा उत्रिने छौं।’
उनका अनुसार हाल एउटा शव जलाएबापत कामदारले १ हजार २ सय रुपैयाँ पाउँछन्।
‘त्यसमा पनि कोषले १० प्रतिशत रकम कटाएर १ हजार ८० रुपैयाँ पाउने गरेका छौं,’ बुढाथोकीले भने। यसलाई बढाएर २ हजार पुर्याउनुपर्ने आफूहरूको माग रहेको उनले बताए।
त्यसैगरी कोषले दिने उपदान रकमसमेत वृद्धि गर्नुपर्ने उनीहरूको माग छ।
‘१५ वर्ष काम गर्नेहरूले अहिले २ लाख उपदान पाउने गरेका छन्। अहिलेको महँगीको अवस्थामा यतिले कसरी पुग्छ,’ बुढाथोकीले भने, ‘यसलाई वृद्धि गरेर १० लाख रुपैयाँ पुर्याउनुपर्छ।’
यस्तै स्वास्थ्य उपचारको पनि उचित व्यवस्था हुनपर्ने माग पशुपति आर्यघाटका कामदारले पशुपति क्षेत्र विकास कोषसँग गरेका छन्।

प्रतिक्रिया